धुलिखेलबाट पाँचखालतिर लाग्ने सडकको खावा खण्ड अहिले पानी पर्दा हिलो र घाम लाग्दा धूलोले अस्तव्यस्त देखिन्छ । उकालो र ओरालो सडकमा सवारी चलाउनेहरु कहिले कुनामा जाकिन्छन् भने कहिले सडक छेउतिर भासिन्छन् । यही सडकहुँदै काभ्रेका विभिन्न स्थान, सिन्धुपाल्चोक, दोलखा र रामेछाप पुगिन्छ । चार जिल्लाको ‘लाइफलाइन’का रुपमा हेरिने यो अरनिको राजमार्गहुँदै पर्यटकीय क्षेत्र पनि पुगिन्छ । दोलालघाट दोभान, भोटेकोशी, सुनकोशी क्षेत्रमा ¥याफ्टिङ, सुकुटेबिच क्षेत्र, तातोपानी, खासा नाका, यता जुगल हिमाल, दोलखाका अधिकांश पर्यटकीय क्षेत्र र रामेछापको जिरीसम्म यही सडकहुँदै यात्रा गर्नुपर्छ । तर तीन वर्षयता यो सडकको अवस्था जरजर छ ।
सडक निर्माण पूरा नगरी अस्तव्यस्त छाडिएको उकालो–ओरालो बाटोमा मोटरसाइकल चढ्ने यात्री दिनहुँ लडेर घाइते हुन्छन् । त्यहाँ सुनुवाइ गर्ने कुनै निकाय भेटिँदैन । चार किलोमिटर खण्डमा गाडीसमेत बेलाबेला फस्दा उक्त सडक अवरुद्ध हुने गर्दछ । सडक डिभिजन कार्यालय भक्तपुरले यो सडक निर्माण सम्पन्न गर्नुपर्ने हो । जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको उक्त खण्ड विस्तारका लागि गौरी–पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । कम्पनीले २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी २०७९ जेठ २० मा २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का लिएको थियो । धुलिखेल–खावा खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो ।
तर पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ । सडक डिभिजन कार्यालयले गत बिहीबार ठेक्का रद्द गरेपछि निर्माण थप अनिश्चित बनेको छ । सडक विस्तारको नाममा यात्रीलाई सास्ती दिने काम सरासर दण्डनीय हो । यस्तो काममा ढिलाइ गर्ने जोसुकैलाई कानुनी उपचार गराउनुपर्छ । कानुनी उपचारको व्यवस्था नभएमा निर्माण गरी कारबाहीको कठघरामा उभ्याउनुपर्छ ।
धुलिखेल आफैं पर्यटकीय नगरी हो । यहाँबाट जिपलाइन आउनेजाने पर्यटकलाईसमेत सडकका कारण सास्ती खेप्नुपरेको छ । यसले स्थानीय सर्वसाधारणको दैनिकीमा मात्र असर पारेको छैन । पर्यटन क्षेत्रमासमेत असर गरेको छ । नेपाली आकाश असुरक्षित भन्दै जसरी कतिपय पर्यटक सकडमार्गहुँदै भारतबाट भित्रन्छन्, त्यसैगरी अरनिको राजमार्ग भएर जाँदा जोखिम मोल्न चाहँदैनन् । यस्तो विषयलाई सामान्य मान्नु नै जनप्रतिनिधिदेखि सम्बन्धित निकायको कमजोरी हो । त्यसैले सबैले यो विषयमा जोड दिनु आजको आवश्यकता हो । सडक विभागले यो सडकखण्ड तदारुकताका साथ निर्माण गरोस् ।