- नेतृत्वमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे ५० वर्षदेखि
- मसालका महामन्त्री मोहनविक्रम सिंह पनि ५० वर्षदेखि नै नेतृत्वमा
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ३५ वर्षदेखि
- माले महासचिव सिपी मैनाली ३३ वर्षदेखि
- क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य १२ वर्षदेखि
काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशनबाट अध्यक्षमा नारायणमान बिजुक्छे सर्वसम्मत चुनिए । उनलाई अध्यक्षमा कसैले टक्कर दिएनन् । एकल उम्मेदवार बनेर सर्वसम्मत अध्यक्ष भए । बिजुक्छे अध्यक्षमा सर्वसम्मत भएको यो आठौंपटक हो । अध्यक्ष भएकोचाहिँ वर्ष ५० भइसक्यो ।
त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका सहप्राध्यापक डा. तारानाथ घिमिरे दुईवटा अवस्थामा नेतृत्व पार्टीमा अविच्छिन्नजस्तै हुने बताउँछन् । पहिलो, राजनीतिकसँगै वैचारिक, कार्यनीतिक र सांगठनिकरूपमा सर्वाधिक अब्बल हुँदा पटक–पटक नेतृत्व चुनिन्छन् । दोस्रो, पार्टीमा आफूबाहेकको नेतृत्व विकास नभएको अवस्थामा पनि लगातार नेतृत्व चुनिने हुन्छ । यसबाहेक पार्टीलाई एकताबद्ध बनाउन सक्ने पनि नेतृत्वमा आइरहन्छन् ।
वामपन्थी पार्टीमा नेतृत्व चयन नीतिका आधारमा हुने मान्यता हुन्छ । यसबारेको पुरानो नारा नै छ कि– ‘जसको नीति, उसको नेतृत्व’ । ५० वर्षदेखि अविच्छिन्नजस्तै अध्यक्ष भइरहन बिजुक्छे सफल हुनुमा सहप्राध्यापक घिमिरे उल्लिखित सबै आधारलाई मान्छन् । ‘नेमकिपामा हरेक कोणबाट विकल्प दिनसक्ने नेतृत्व नदेखिएको हुन सक्छ । विकल्प म हुँ भन्ने भयो भने त्यहाँ चुनाव हुन्छ, लड्छ, जित्नेले जित्छ, हार्नेले हार्छ तर यस्तो नभइ जहिल्यै सर्वसम्मत अध्यक्ष भइरहन्छ भने विकल्प तयार नभएको मान्छ सकिन्छ,’ उनले भने ।
१० माघ २०३१ मा नेमकिपा स्थापना भएको थियो । त्यसबेलादेखि अहिलेसम्म बिजुक्छे नै अध्यक्ष सर्वसम्मत चुनिँदै आएका छन् । यसले उनी पार्टीमा निर्विरोध नेतृत्व भएको देखाउँछ । अर्थात् विकल्पहीन नेतृत्वको रूपमा बिजुक्छे स्थापित भए । उनले महाधिवेशनको बन्दसत्रमा बोल्दै नेमकिपा देशभक्ति पार्टी भएको बताए ।
‘पार्टीमा लामो समयदेखि लागेकाहरू आफ्नो व्यक्तिगत काममा मात्र लाग्ने होइन पार्टीमा पनि सक्रिय हुनु जरुरी छ । पार्टी सदस्यले सारा जनताका छोराछोरीको लागि चिन्ता लिनु आवश्यक छ । नेमकिपाको लक्ष्य देश र जनताको निःस्वार्थरूपमा सेवाबाहेक अर्को छैन,’ उनले भने । पार्टीमा उनी रोहित नामले चिनिन्छन् । लेखकका रूपमा भने हरिबहादुर श्रेष्ठले चिनिन्छन् । उनै रोहित आधा शताब्दीसम्म पार्टीमा निर्विकल्प नेतृत्व देखिए ।
वामपन्थी पार्टीमा अविच्छिन्न नेतृत्व देखिएको नेमकिपामा मात्रै होइन । गत वर्षको चैतमा अर्को वामपन्थी दल नेकपा मसालको सातौंपटक महामन्त्री बने– मोहनविक्रम सिंह । मसालमा महामन्त्री पद नेतृत्वदायी जिम्मेवारीयुक्त हो । ८८ वर्षीय सिंहसँग महामन्त्रीमा प्रतिस्पर्धा गर्न कसैले आँटसम्म गरेनन् । उनी सर्वसम्मत महामन्त्री बने ।
लामो समय भूमिगत रहेका उनी पछिल्लो समय अर्धभूमिगत रहँदै आएका छन् । मसालको महाधिवेशन २९ चैत २०८० मा काठमाडौंमा भएको थियो । पहिलोपटक महामन्त्री बन्दै पार्टी नेतृत्व गरेको २०३१ सालमा हो । जतिबेला नेकपा मसालको चौथो महाधिवेशन भएको थियो । त्यही महाधिवेशनबाट उनी शक्तिशाली महामन्त्री बनेका थिए । त्यसयता कारबाहीमा परेको समयबाहेक महामन्त्रीका रूपमा रहेर पार्टी नेतृत्व गर्दै आएका छन् ।
उनलाई सोही पार्टीको खुला मोर्चा भनेर चिनिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एकपटक पनि चुनौती दिएका छैनन् । अन्य नेताहरू पनि सिंहलाई नेतृत्वमा टक्कर दिन सातौंपटकको महाधिवेशनसम्म देखिएनन् ।हाल प्रमुख प्रतिपक्षी दलका नेता रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि ३५ वर्षदेखि लगातार नेतृत्वमा छन् । कहिले महामन्त्री त कहिले अध्यक्षका रूपमा अविच्छिन्न नेतृत्व छन् । देशमा प्रजातन्त्र पुनःस्थापनाको आसपासमा दाहाल नेकपा मशालको महामन्त्री भएका थिए । यो नेतृत्वदायी पद हो ।
वि.सं. २०४३ सालमा मोहन वैद्यले नेतृत्व गरेको मशालले पञ्चायती व्यवस्थाले घोषणा गरेको निर्वाचन बिथोल्न प्रहरी चौकीहरूमा आक्रमण प्रयास गरेको थियो । कम्युनिस्ट राजनीतिमा ‘सेक्टर काण्ड’ भनेर चिनिने घटनापछि नै दाहाल महामन्त्री भएका थिए । यो २०४४ सालको प्रसंग हो । त्यसपछि लगातार दाहाल पार्टी नेतृत्वमा छन् । १० वर्षे माओवादी सशस्त्र संघर्षका बेला पनि उनी सुप्रिम कमाण्डर थिए । पार्टी शान्ति प्रक्रियामा आएपछिका महाधिवेशनबाट पनि दाहाल जहिल्यै सर्वसम्मत हुँदै आएका छन् । उसो त हालसम्म प्रत्यक्ष चुनाव लडेर नेतृत्वमा स्थापित हुने अभ्यास माओवादीमा भएको छैन ।
राजनीतिक विश्लेषक तथा सहप्राध्यापक घिमिरे माओवादी अध्यक्षमा दाहाल दोहोरिरहनुमा प्रत्यक्ष चुनाव नहुनुलाई मान्छन् । ‘अहिलेसम्म माओवादीको महाधिवेशन जसरी भए, कुनै पनि महाधिवशेनमा नेतृत्व चयन प्रत्यक्ष चुनाव लडेर चुनिएन, खाली हलले ताली पड्काएर भयो तर चुनाव भयो भने के हुन्छ ? त्यस्तोमा दाहाल नै दोहोरिन्छन् भन्ने कुनै निश्चित हुँदैन,’ उनले भने ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा पनि मोहन वैद्य लगातार नेतृत्वमा छन् । २०६९ मा माओवादीबाट अलग भएयताको १२ वर्ष उनी अविच्छिन्न नेतृत्वमा छन् । पछिल्लोपटक गत २३ मंसिरमा भएको महाधिवेशनबाट फेरि महासचिवमा चुनिए । उनलाई सिपी गजुरेलजस्ता शीर्षस्थ नेताले नेतृत्वमा चुनौती दिएनन् ।
अर्को कम्युनिस्ट पार्टी नेकपा मालेमा सिपी मैनाली ३३ वर्षदेखि पार्टी महासचिव छन् । उनको विकल्पमा कोही पनि नेता देखिएका छैनन् । यीबाहेक अन्य साना वाम धारका दलहरूमा पनि नेतृत्व परिवर्तन दशकौंदेखि भइरहेको छैन ।माओवादी सचिव राम कार्कीले नेतृत्व त्यसै परिवर्तन कहिल्यै नहुने बताएका छन् । उनले नेतृत्व वैचारिक वा राजनीतिक दुवै ढंगले खारिएका परिपक्व व्यक्तिमात्रै हुने बताए । ‘नेतृत्व रहरले हुने होइन, विचारले हुने हो । जुन बेलासम्म विचारको सान्दर्भिक रहन्छ, त्यसबेलासम्म नेतृत्व रहन्छ, अहिले कोही नेता दोहोरिरहेको भए उसको विचार सान्दर्भिक छ भनेर बुझिनुपर्छ,’ उनले भने ।