काठमाडौं– नेपालका लागि जापानी राजदूत माएदा तोरुले नेपालबाट दक्ष कामदार जापान पठाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँगको शिष्टाचार भेटका क्रममा उनले उक्त कुरा बताएका हुन् ।
राजदूत तोरुले नेपाली कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफूले सकारात्मक पहल गर्ने प्रतिबद्धतासमेत जनाएको मन्त्रालयले जनाएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा श्रममन्त्री भण्डारीले नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयमा चासो राखेका थिए । भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
यसैगरी जापान सरकारको मागबमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशीघ्र निष्कर्षमा पु¥याउनुपर्ने विषयमासमेत दुवै पक्षबीच छलफल भएको उनले बताए । नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमासमेत छलफल भएको प्रवक्ता घिमिरेले बताए ।