काठमाडौं - अमेरिकाले आधिकारिक कागजात नभका नेपालीलाई स्वदेश फर्काएको छ । ‘चार्टर्ड ’जहाजमार्फत उनीहरुलाई आज विहान नेपाल फर्काइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपाली बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान १० बजेर १५ मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । जहाजमा चालकदलसहित १४ जना सवार रहेको जनाइएको छ ।
चार्टर्ड जहाज अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट बीचमा टेक्निकल ल्यान्डिङ‘ भएर सिधै काठमाडौं अवतरण गरेको हो । जहाज अवतरणपछि अध्यागनले आवश्यक प्रक्रिया थाल्ने प्रवक्ता शेर्पाले बताए ।
जहाज भोलि बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने विमानस्थलले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट आधिकारिक कागजात नभएका नेपाली घरफर्किरहेका छन् ।आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।