- कांग्रेस संस्थापन पक्षमा चार गुट र संस्थापनइतरमा दुई गुटको संकेत
- उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्र्मा तथा नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहदेखि प्रवक्ता डा. प्रकाशशरण महत सभापति बन्ने दौडमा
- १४औं महाधिवेशनमा शेखर टिमबाट महामन्त्री जितेका गगन थापाले यसपटक शेखरलाई साथ नदिने
काठमाडौं– नेपाली कांग्रेसको आगामी सभापतिका लागि दर्जन आकंक्षी देखिएका छन् । विधानतः अब शेरबहादुर देउवा सभापति बन्न नपाउने भएसँगै आकंक्षीको ओइरो लागेको हो ।
सभापतिको उम्मेद्वारको लाइनमा उपसभापतिदेखि प्रवक्तासम्म कस्सिएका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्र्मा तथा नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहदेखि प्रवक्ता डा. प्रकाशशरण महतले सभापतिमा दाबी गरेका छन् ।
आफ्नो उपस्थिति देशभर कस्तो छ भन्दै हिजोआज यी नेताहरु देशदौडाहामासमेत निस्केका छन् । आइतबार सुर्खेत पुगेका कांग्रेस नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमानले आफू पुन सभापतिको उम्मेदवार बन्ने संकेत जनाए । ‘जुन पदमा म छु, त्योभन्दा तल जान तयार छैन,’ सिंहले भने, नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ । यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’
कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि, निधि, डा. शेखर, प्रकाशमान, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका थिए । पछि निधि, प्रकाशमान, कल्याण र युवराजले देउवालाई साथ दिए । सभापतिमा शेखरले एक हजार ८१७ मत पाउँदा गगनले महामन्त्रीमा तीन हजार २३ मत पाएका थिए । सभापतिमा देउवाले दुई हजार ७२४ मत पाउँदै जित निकाले ।
यसपटक के होला देउवा गुट ?
देउवा गुट अहिलेको केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी छ । यद्यपि देउवाकालको समाप्तिसँगै यो गुट छिन्नभिन्न हुने देखिन्छ । फागुन २ गतेमात्र यो गुटका नेताहरु १५औं महधिवेशनबाट चुनिने सभापतिको बारेमा देउवा निवास बूढानीलकण्ठमा जम्मा भएका थिए ।
उपसभापति खड्का, नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रवक्ता डा. प्रकाशशरण महत उक्त भेलामा पुगेका थिए । सबै नेताको एकै मत थियो– सभापतिका उम्मेदवार संस्थापन गुटबाटै हुनुपर्छ ।
को होला संस्थापनको उम्मेदवार ?
कांग्रेस नेताहरुको दाबीलाई आधार मान्ने हो भने पार्टीमा विरासत बोकेका नेताहरु निधि, शशांक र प्रकाशमान हुन् । यी तीन नेता एक हुने देखिएपछि सिटौलासमेत झस्किएका छन् । पद भागबण्डा मिलाएर सिटौलाले तीन नेतामध्ये एकलाई सभापतिको उम्मेदवारमा समर्थन गर्ने बताइन्छ । ‘यसरी हेर्दा डा. शशांकलाई साथ दिने देखिन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘यसो हुँदा कांग्रेस पार्टी जीवन्त बन्दै जाने छ ।’
शशांक उनै नेता हुन् जो १३औं महाधिवेशनमा रामचन्द्र पौडेल गुटबाट महामन्त्रीमा निर्वाचित भएका थिए । पछि उनी देउवाका सहयोगी बने । कांग्रेस चुनावमा नराम्ररी पराजित हुँदासमेत शशांकले देउवाको विरोध गरेनन् । १४औं महाधिवेशनमा शशांकले देउवालाई नै साथ दिएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए । प्रकाशमान र निधिले यो कुरा बुझेर शशांकलाई साथ दिने तयारी भएको बताइन्छ ।
खड्काले आफूलाई देउवाले साथ नदिने देखिएपछि महामन्त्री विश्वप्रकाशसँग ‘टिमअप’ गर्ने बताइन्छ । यो समूहमा प्रकाशशरण महतले पनि आफ्नै गुट बनाउने प्रयास गरिरहेका छन् । सिटौलाले पनि गुट बनाएमा यो समूहमा चार गुट बन्ने देखिन्छ ।
संस्थापनइतरका शेखर–गगन अलगथलग
संस्थापनइतरमा डा. शेखरले फेरि पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । शेखर टिमबाटै महामन्त्री जितेका गगन पनि सभापतिकै तयारीमा जुटेका देखिन्छन् ।शेखर र गगनको पछिल्लो दौडधुप गण्डकी, लुम्बिनी र कर्णालीमा केन्द्रित देखिन्छ । नेता शेखरसँग केन्द्रीय सदस्यहरु एनपी साउद, डा. मिनेन्द्र रिजाल, नैनसिंह महर, दिनेश कोइरालाहरु मञ्चमा देखिन्छन् । रमेश लेखकलाई गृहमन्त्री बनाएपछि सभापति शेरबहादुर देउवासँग असन्तुष्ट साउद शेखर समूहमा भित्रिएका हुन् । यो समूहमा पछिल्लोपटक समूहमा बालकृष्ण खाण पनि थपिएका छन् ।
बेलायतबाट फर्केपछि विराटनगर मुकाम बनाउँदै देशदौडाहमा निस्केका छन् शेखर । सुर्खेत, लुम्बिनी, नेपालगञ्ज हुँदै मोरङ पुगेका कोइराला शुक्रबार झापा पुग्ने कार्यतालिका रहेको छ ।महामन्त्री थापासँगै केन्द्रीय सदस्यहरु उमेशजंग रायमाझी, अजयबाबु शिवाकोटी, राधा घलेलगायत नेताहरु देखिन्छन् । थापा पाल्पा, सल्यान, रोल्पा, प्युठान हुँदै अहिले भैरहवा पुगेका छन् । गगनले शेखरबाट धार अलग गरिसकेको र सभापतिको उम्मेदवारी दिने पक्का भइसकेको उनीनिकट केन्द्रीय सदस्यहरु बताउँछन् ।
केन्द्रीय सदस्य रंगमती शाहीले शेखर गगन दुवैले सभापतिमा दाबी गरेको बताइन् । १४औं महाधिवेशनमा सभापतिमा शेखरले १८१७ मत पाउँदा गगनले महामन्त्रीमा ३०२३ मत पाएका थिए । यो समूहमा शेखरले संसदीय दलको निर्वाचनमा पनि एक भएर गगनलाई साथ दियो । यद्यपि देउवाले ६४ मत पाउँदा गगनले २५ मतमात्र पाए । त्यसपछि गगनले सात मत हराएको भन्दै शेखरसँग असन्तुष्टि जनाउन थाले । दुई नेताबीच बेलाबेला तिक्तता आएको खबर आए पनि शेखरले यसलाई अस्वीकार जारी राख्यो ।
सत्ताको रस्साकस्सीको क्रममा संस्थापनइतरले मौका पाइराख्दा गगनले आफ्नो भाग नपाएको भन्दै असन्तुष्टि जनाइरहे । कोशीमा केदार कार्की मुख्यमन्त्री बनेपछि शेखर गगनको बोलचाल महिना दिन बन्द नै भयो । ‘वरिष्ठ नेताजीसँग एक महिनाजति भयो भेट नभएको । पत्रपत्रिकामा पढिरहेको छु । भेटघाट भएमा भनौं ल,’ २०८० कात्तिक २ गते बत्तीसपुतलीमा नेपाल प्रेस युनियनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गगनले यो असन्तुष्टि पोखेका थिए ।
यद्यपि एक महिनाअघि २०८० असोज २ गते दुई नेताबीच बालुवाटारस्थित शेखरको सचिवालयमा केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डाबारे छलफल हुँदा गगन उपस्थित भएका थिए । त्यसपछि २०८० मंसिर २६ गतेका लागि शेखरले डाकेको बैठकमा गगनले असन्तुष्टि देखाउँदै नआउने सूचना पठाए । उक्त बैठक भोलिपल्टका लागि सारेपछि गगन ढिलागरी बैठकमा पुगेका थिए । यसरी नै असन्तुष्ट गगन पछिल्लोपटक भने सभापति देउवासँग नजिक छन् ।
१३औं महाधिवेशनमा गगन कांग्रेसको ‘थर्ड पोल’ मानिएका कृष्ण सिटौला टिमबाट महामन्त्रीमा भिडेका थिए । १४औं मा गगनले आफूलाई छाडेर एक्लै बनाएको भन्दै सिटौलाले प्रदीप पौडेललाई देउवासँग ‘टिमअप’ गरी महामन्त्रीको उम्मेदवार बनाएका थिए ।