काठमाडौं– पररामन्त्री डा. आरजु राणा देउवाले वैदेशिक रोजगारीमा रहेका अव्यावहारिक नीति तथा कानुन संशोधन गरेर सहज बनाउनुपर्नेमा जोड दिएकी छन् । वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याबारे गृहमन्त्री रमेश लेखक र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग बुधबार भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।
मन्त्री राणाले भिजिट भिसामा विदेश जान दिने प्रक्रियालाई व्यावहारिक रुपमा अनुगमन गर्न मन्त्रीद्वयसँग आग्रह गरिन् । श्रम स्वीकृतिसम्बन्धी व्यवस्थालाई सहजीकरण गर्न तथा अप्ठेरोमा परेका नेपाली डायस्पोराको उद्धारबारे एक स्वीकृत नियम बनाउन पनि परराष्ट्रमन्त्री राणाले सुझाव दिइन् । ‘सरकारले कानुनीरुपमा रोके पनि अवैध बाटोबाट नेपालीहरु आखिर पुगिरहेकै छन् भने यस्ता प्रावधान अब किन राख्ने ?,’ उनले भनिन् ।
नेपाल सरकारले प्रतिबन्ध लगाए पनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिला अवैध बाटोबाट पुगेकै छन् । भोलि कोही समस्यामा परे उनीहरुको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुनसक्छ । त्यसैले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा सोच्नुपर्छ ।

डा. आरजु राणा देउवा
परराष्ट्रमन्त्री
वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा छलफल गर्न परराष्ट्रमन्त्री राणाले परराष्ट्र, गृह र श्रम तथा रोजगारमन्त्रीको संयुक्त बैठक आह्वान गरेकी थिइन् । बैठकमा गृहमन्त्री लेखक र श्रममन्त्री भण्डारीसँगै तीनवटै मन्त्रालयका सचिव सहभागी थिए । बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको जानकारी दिइएको छ ।
रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा नेपाली कहाँ र कसरी पुगेका छन् भन्नेबारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरुको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने भएकाले यस विषयमा छलफल गर्न मन्त्री राणाले संयुक्त बैठक आह्वान गरेकी थिइन् । बैठकमा मन्त्री राणाले घरेलु कामदारमाथिको प्रतिबन्ध हटाउने विषयमा सोच्नुपर्ने बताइन् । ‘नेपाल सरकारले प्रतिबन्ध लगाए पनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिला अवैध बाटोबाट पुगेकै छन्,’ उनले भनिन्, ‘कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनिएको छ । भोलि कोही समस्यामा परे उनीहरुको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुनसक्छ । त्यसैले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा सोच्नुपर्छ ।’
बैठकमा श्रम तथा रोजगारमन्त्री भण्डारीले श्रम कूटनीति अहिले नेपालका लागि अति आवश्यक रहेको बताउँदै घरेलु कामदारको श्रम स्वीकृतिसम्बन्धी नवीकरण गरेर व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । उनले हाल नेपालीहरु विश्वका ११० देशमा रोजगारीका लागि पुगेका जानकारी दिँदै घरेलु कामदारलाई मध्यपूर्वी देशमा जान रोकिए पनि अवैध बाटोबाट गइरहेकाले सोसम्बन्धी प्रावधानमा अब पुनःविचार गर्नुपर्ने बताए ।
हाल नेपालीहरु विश्वका ११० देशमा रोजगारीका लागि पुगेका छन् । घरेलु कामदारलाई मध्यपूर्वी देशमा जान रोकिए पनि अवैध बाटोबाट गइरहेकाले सोसम्बन्धी प्रावधानमा अब पुनःविचार गर्नुपर्छ ।

शरतसिंह भण्डारी
श्रम, राजगार तथा सामाजिक सुरक्षामन्त्री
बैठकमा गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयसापेक्ष बनाइ संशोधन गर्नुपर्ने सुझाव दिँदै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक भूमिकाको खोजी गरेकामा सराहना गरे ।
उक्त बैठकमा विविध कारणले संसारमा रहेका नेपालीलाई कुनै अप्ठेरो प¥यो र उद्धार गर्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा परराष्ट्रमा रहेको सीमित स्रोत, साधन र जनशक्तिका कारण उद्धारको काम निकै कठिन हुँदै गएको विषयमा छलफल भएको थियो ।