हरेक संगठनमा नेतृत्व परिवर्तन संगठनको पुनर्ताजगी र नवीकरण गर्नु हो । यसले संगठनमा नयाँ विचार, बल, बुद्धि र विवेकको परीक्षण हुन्छ । प्रजातान्त्रिक अभ्यासका लागि विधानले र संविधानले नै नवीकरणको बाध्यकारी व्यवस्था गरिदिएको छ । तर नेपालका केही राजनीतिक दलमा नेतृत्व नवीकरण गर्दै नगर्ने प्रवृत्ति हाबी भएको छ । यो धेरैजसो वामपन्थी दलमा देखिन्छ । कुनै दलमा नेतृत्व व्यवस्थापन गर्न नसकेर छिन्नभिन्न हुँदा यी दलमा भने नेतृत्व दाबी गर्ने दोस्रो पुस्ताको नेतासमेत भेटिन्न ।
यसरी निरन्तर नेतृत्वमा रहेर चर्चामा रहेका नेताहरु हुन्, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा पनि मोहन वैद्य, नेकपा मालेका सिपी मैनालीलगायत ।
माओवादी केन्द्र वर्तमान संसद्को तेस्रो ठूलो दल हो । यही दलको नेतृत्व गरेका दाहाल ३५ वर्षदेखि लगातार नेतृत्वमा छन् । उनकै कारण माओवादीबाट डा. बाबुराम भट्टराई अलग भइसकेका छन् । नयाँलाई ठाउँ माग्दै जनार्दन शर्मालगायतका नेताहरुले आवाज बुलन्द पार्दा पार्टीमा स्पेस दिन छाडिएको छ । यसले नेता कार्याकर्त पंक्तिमा निराशा छाउने र पार्टी खुम्चिएर सानो हुने सम्भावना बढ्छ ।
माओवादीबाहेक अरु साना दलमा निरन्तर एकै व्यक्ति अध्यक्ष हुँदाको परिणाम देखिसकिएको छ । नेमकिपामा बिजुक्छे अध्यक्ष भएको ५० भइसक्यो । श्रमिकको पार्टी भन्दै मादल बजाएको दल अहिले भक्तपुरका एक क्षेत्रमा सीमित बनेको छ । राष्ट्रिय जनमोर्चाको हालत पनि उस्तै छ । यस दलका अध्यक्ष केसी लोकप्रिय कुरा गर्छन् । कुनै बेला गण्डकी क्षेत्रमा फैलिएको दलका नेताले व्यवहारमा आफू नेतृत्वबाट नहटिदिँदा पार्टी खुम्चिएर सानो भइसकेको छ ।
नेकपा मसालका सिंह, कम्युनिस्ट पार्टी नेपालका वैद्य, नेकपा मालेका मैनालीका विकल्पमा ती पार्टीमा वैकल्पिक नेता नै देखिन्नन् । यसको मुख्य कारण हो हस्तान्तरणमा कन्जुस्याई । हरेक व्यक्ति मौकाको पखाईमा हुन्छ । परीक्षणको पखाईमा हुन्छ । तर नेतृत्वले ठाउँ कहिल्यै नदिएपछि न त त्यो संस्था आकर्षक हुन्छ, न त विवेक र बलको लगानी हुन्छ । त्यसैले यस्ता विषयमा विशेष ध्यान दिएर यी दलले नेतृत्व नवीकरणमा विशेष ध्यान दिनुपर्छ । नभए नेमकिपा र जनमोर्चाकै हालत भएर जान धेरै समय लाग्दैन ।