काठमाडौं- गत फेब्रुअरीमा करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नेपालले फेब्रुअरी २०२५ मा ९६ हजार आठ सय ८० अन्तर्राष्ट्रिय पर्यटक आगमन दर्ता गरेको हो । त्यस्तै, फेब्रुअरी २०२५ मा ८७ हजार छ सय ८६ विदेशी पर्यटक नेपालबाट बाहिर प्रस्थान गरेका छन् ।
यो तथ्याङ्कले मुलुकको पर्यटन क्षेत्रको निरन्तर सुधारलाई संकेत गरेको तर अघिल्ला वर्षहरूमा भएको आगमनभन्दा केही घटेको बोर्डले जनाएको छ । बोर्डको तथ्यांकका अनुसार फेब्रुअरी २०२४ मा ९७ हजार चार सय २६, फेब्रुअरी २०२३ मा ९९ हजार चार सय २६, फेब्रुअरी २०२२ मा ४५ हजार एक सय ५२, फेब्रुअरी २०२१ मा ९२ हजार ६६, फेब्रुअरी २०२० मा ९८ हजार एक सय ९० र फेब्रुअरी २०१९ मा एक लाख दुई हजार चार सय २३ जना पर्यटक नेपाल भित्रिएका थिए ।
त्यसैगरी, नेपालमा सबैभन्दा ठूलो पर्यटकको आगमन भारतबाट भएको छ, जसलाई संयुक्त राज्य अमेरिका र चीनले पछ्याएका छन् । फेब्रुअरी २०२५ मा भारतबाट नेपाल आउनेको संख्या १९ हजार एक सय ८७ रहेको छ भने संयुक्त राज्य अमेरिकाबाट १० हजार तीन सय ४८, चीनबाट आठ हजार दुई सय ३२, थाइल्याण्डबाट ५६ हजार नौ, संयुक्त अधिराज्य (यूके)बाट पाँच हजार ५७ जना, बंगलादेशबाट ४८ हजार ७४ जना, श्रीलङ्काबाट ४३ ७० जना, अस्ट्रेलियाबाट ३७ हजार ३७ जना, म्यानमारबाट ३१ हजार ४९ जना र दक्षिण कोरियाबाट २७ हजार ७९ जना रहेका छन् ।