आवश्यक कागजात नभएका र गैरकानुनी रुपले काम गर्न थालेकाहरुलाई अमेरिकाले धमाधम सम्बन्धित नागरिककै देशमा फर्काउँदै छ । यही क्रममा नेपालीहरुलाई पनि फर्काउने क्रम जारी छ । बुधबारमात्र यसरी नै ९ जना नेपाली त्रिभुवन विमानस्थल हुँदै काठमाडौं झरे । रोचक त के हो भने कागजात नभएकालाई आफ्नै समन्वयमा ‘ट्राभल डकुमेन्ट’ बनाएर अमेरिकाले आफ्नै विमानमा उडाउँदै ‘डिपोर्ट’ गरिरहेको छ ।
९० लाख रुपैयाँसम्म तिरेर नेपाल छाडेर उनीहरु किन अमेरिका छिरे ? यसको दोष जोखिम मोल्दै अमेरिका छिर्नेहरुकोमात्र छैन । अमेरिकामा भएका नेपालीहरुको मिलेमतो, गिरोहहरुको सक्रियता, नेपाली समाजले युवा पुस्तामाथि गरिएको दबावमुलक आशाले पनि यो गतिविधि भइरहेको छ । अझ यो माओवादी र सरकारबीचका लामो द्वन्द्वको असर हो ।
अमेरिकाबाट नेपाल पठाइएकाहरु धेरै खुल्न चाहेका देखिँदैनन् तर उनीहरु माओवादीपीडित भन्दै मेक्सिको हुँदै प्रवेश गरेकाहरु भन्ने चाहि प्रष्टै भएको छ । २०५२ बाट शुरु भएको माओवादी युद्धका कारण धेरैले द्वन्द्वपीडित भन्दै बिना कागजातमा अमेरिका छिरेका छन् । उनीहरुलाई शरणार्थीका रुपमा एसालइम कागजात दिएर अमेरिकाले शरण दिने व्यवस्था गरेको थियो । ओबामा प्रशासन, बाइडेन प्रशासनले यस्तो मौका दिइरह्यो । यसरी अमेरिका छिरेका धेरै त नेपाल फर्केर अहिले नेता बनिसकेका छन् ।
उनीहरुकै बाटो पछ्याउँदै डंकी रुट नापेका पछिल्ला नेपालीहरुको भने एसाइलम दाबी अमेरिकाले अस्विकृत गर्दै आएको छ । कारण माओवादी द्वन्द्व हटेकै २० वर्ष पुग्न लागिसकेको छ । यो अवधिमा पनि गत वर्ष २०२३ मा माओवादी पीडित भन्दै २० जनाले युएसआइसीआइएस अर्थात युनाइटेड स्टेट्स सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस्बाट एसाइलम पाएका थिए । त्यहाँको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार सन् २०१९ मा ६०६ जना नेपालीले एसालइम पाएका थिए ।
एसाइलम पाउनका लागि नेपालीहरुले नेपाली पत्रपत्रिकामा आफूलाई माओवादीबाट ज्यान मार्ने धम्की आएको भन्ने विवरण भरेर समाचार लेख्न लगाउँछन् । उक्त पत्रिका वा अनलाइन समाचार देखाएर त्यहाँका वकिलहरुले एसालइम अपिल गर्छन् । माओवादीलाई अमेरिकाले अतांककारी सूचीबाट हटाएको दशक पुग्न लागिसकेको छ ।
तर पनि नेपाली गिरोहहरुले युवाहरुलाई सपना देखाएर अमेरिका प्रवेश गराउने क्रम जारी नै छ । अमेरिकाले काठमाडौं ल्याएर छाडेका रोल्पा, रुकुमका धेरै भएको देखिन्छ । यो ठाउँ माओवादीकै पकड क्षेत्र मानिन्छ । उनीहरुसँग म्यादसहितको पासपोर्ट पनि थियो । तर अमेरिकाले त्यहाँ काम गर्ने इजाजत भने दिएको थिएन । यही पासपोर्टमा काम गरेको पाइएकोले उनीहरु फर्काइएको हो । द्वन्द्वको लामो असर हो यो, यसैले यस्तो घटनाबाट पाठ सिकेर देशलाई फेरि द्वन्द्वतिर धकेल्ने कामतिर कुनै समूह लाग्नु हुन्न ।