- मकवानपुरकी सुरक्षा ढकाल युएईको अबुधाबीमा ‘वर्कसोल एचआर कन्सल्टेन्ट्स’ नामक कम्पनी खोलेर नेपालीलाई युरोप पठाउने गतिविधिमा सक्रिय
- अबुधाबीमा बस्ने सुरक्षाले नेपालमा आफ्नो भाइ अञ्जान ढकालको खातामा जम्मा गर्न लगाउँथिन् पैसा
- पोल्याण्ड र लिथुआनिया पठाउने भन्दै ५० जनाभन्दा बढीसँग पैसा असुलेर दिदीभाइ नै सम्पर्कविहीन
- सामाजिक सञ्जाल टिकटकमार्फत वर्कसोलको जालोमा फसे सयौं युवा
काठमाडौं– उदयपुर गाइघाटकी लीलामाया मगरले २०८० असोज ८ गते अञ्जान ढकालको नाममा एक लाख ५० हजार रुपैयाँ जम्मा गरिन् । अञ्जान, सुरक्षा ढकालका भाइ हुन् । सुरक्षाचाहिँ संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा रहेको वर्कसोल एचआर कन्सल्टेन्ट्स नामक कम्पनीकी सञ्चालक हुन् ।
वर्कसोलले युरोप पठाउने जानकारी लीलामायाले टिकटकबाट थाहा पाएकी हुन् । अझ टिकटक भिडियो बनाउने आफूले चिनेको बहिनी भएकाले उनी थप विश्वस्त भइन् । उनले पोल्याण्ड जानका लागि प्रक्रिया अगाडि बढाउन डेढ लाख बुझाएकी हुन् । त्यसको करिब सात महिनापछि ‘वर्क पर्मिट’ आयो भनियो । उनले अरु प्रक्रियाका लागि फेरि दुई लाख ५० हजार रुपैयाँ बुझाइन् । त्यसपछि के भयो भनेर बुझ्न फोन गर्दा उठ्न छोड्यो । चिनेकी बहिनी र अन्य कर्मचारीले काम छोडेको जानकारी आयो । अनि लीलामायालाई आफू ठगिएको बल्ल थाहा भयो । ‘केही होला भनेर ऋण काढेर दिएको पैसा फस्यो । के गर्ने के,’ उनले प्रभावसँग भनिन् ।
तनहुँकी सुनिता थापाले पनि वर्कसोलको बारेमा टिकटकबाटै थाहा पाइन् । त्यसपछि दुबईमै भएका दुई जना दाइलाई आफिसमा गएर बुझ्न लगाउँदा ठिकै छ भन्ने जवाफ आयो । सुनिताले लिथुआनिया जाने भनेर अञ्जानको नाममा गत जेठमा डेढ लाख रुपैयाँ पठाइन् । छ महिनामा काम हुन्छ भनिएको थियो । जम्मा नौ लाख रुपैयाँ तीन किस्तामा बुझाउनुपर्ने भनिएको थियो । प्रोसेस गर्दा डेढ लाख, वर्क पर्मिट आएपछि साढे दुई लाख र भिसा आएपछि पाँच लाख रुपैयाँ दिने सहमति भयो । पैसा दिएको करिब चार महिनापछि उनले यो ठगी हो भन्ने सुन्न थालिन् ।
‘अहिले कम्पनीका स्टाफहरुले काम छोडिसकेका छन्, सञ्चालक सम्पर्कमा छैनन्, ह्वाट्एप्सबाहेक सबैतिर ब्लक गरिदिनुभएको छ,’ उनी भन्छिन् । उनले सुरक्षाका बुबाआमालाई घरमै गएर आफ्नो समस्या सुनाइन् । बुबाआमाले सुरक्षालाई सोध्दा उनले यस्तो कामै नगरेको जवाफ दिएको बताइयो । सुनितालाई सुरक्षाले उल्टै नेपाल आएपछि मुद्दा हाल्ने धम्की दिएकी छन् । ‘सबैतिर हल्ला गरेर मेरो कम्पनी घाटामा गएको छ । म नेपाल आएपछि केस गरिदिन्छु भन्नुभएको छ,’ सुनिता भन्छिन्, ‘ऋण काढेर दिएको पैसा माग्दा उल्टै धम्की सुन्नुप¥यो ।’
लीलामाया र सुनिताजस्तै सुरक्षा दिदीभाइबाट ठगीमा परेकी छिन् सिन्धुपाल्चोक बाह्रबिसेकी सुजिना गोले । उनले पनि वर्कसोललाई तीन लाख रुपैयाँ बुझाएको बताइन् । पोल्याण्ड जाने प्रक्रियाका लागि नौ महिनाअघि उनले एक लाख रुपैयाँ बुझाएकी थिइन् । त्यसको करिव तीन महिनापछि वर्क पर्मिट आयो भनेपछि फेरि दुई लाख रुपैयाँ बुझाइन् । त्यसपछि भिसा लाग्ने खबर पर्खेर बसेकी सुजिनाले आफू ठगिएको खबर सुन्नुप¥यो । उनलाई पैसा फिर्ता लिन कागजात मेल गर्नु भनिएको थियो । उनले सबै कागजात पठाइसकेको तर पैसा फिर्ता नपाएको बताइन् ।
पीडितहरुका अनुसार वर्कसोलबाट ठगिएका करिब ५० जना ह्वाट्सएप ग्र्रुपमा जोडिएका छन् । टिकटकमार्फत जोडिएकाले पीडितहरु अझै बढी हुनसक्ने जनाइएको छ । लिथुआनिया जाने भनिएका पीडितहरु २५ जनाले डेढ लाख रुपैयाँ बुझाएका छन् । त्यसैगरी पोल्याण्ड पठाइदिने भन्दै साढे दुईदेखि चार लाख रुपैयाँसम्म लिएको भेटिएको छ ।उक्त कम्पनीको सञ्चालक मकवानपुरको हेटौंडा नगरपालिका–६ की सुरक्षा ढकाल हुन् । उनले अबुधाबीबाट व्यावसायिक प्रयोजनका लागि एकल स्वामित्वमा लाइसेन्स लिएको देखिएको छ । लाइसेन्सको विवरणअनुसार सन् २०२३ जुलाईमा कम्पनी दर्ता भएको देखिन्छ । उनले टिकटकमार्फत युरोपियन मुलुकका डिमान्डहरुबारे प्रचार गर्थिन् र भाइ अञ्जान ढकालको खातामा पैसा जम्मा गर्न लगाउँथिन् । अहिले दिदीभाइ नै सम्पर्कविहीन छन् ।
पीडितहरुले हनुमानढोका प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागमा उजुरी दिए पनि पक्राउ पर्न सकेका छैनन् । त्यसपश्चात् संयुक्त अरब इमिरेट्स्कै निकायमा दुई हप्ता अगाडि उजुरी दिएका छन् । त्यहाँ भएका नेपालीले दिएको जानकारीअनुसार २०–२५ दिनयता वर्कसोलको कार्यालय बन्द रहेको छ ।