काठमाडौं - नेपाल संघीय समाजवादी पार्टीको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजार (बरमहलमा) अध्यक्ष अन्सारीको सभापतित्वमा विभिन्र निर्णयहरू गरेकाे छ । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय सम्पन्न बैठकमा पूर्वराजाको हैसियतमा ज्ञानेन्द्र शाहलाई दिएका सबै सुविधा खोस्न माग राखेकाे हाे ।
बैठकको पहिलो प्रस्तावमा स्थानीय जनताको हित विपरीत निर्माण गर्न लागिरहेको केबलकारको विरोधमा सशक्त भएर विरोध गर्ने र रिंकु सदाको बलात्कार र हत्यामा न्यायको विषयमा पार्टी सशक्त भएर लाग्ने निर्णय पारित भएको हो ।
उक्त बैठकमा पार्टीको सबै नेताहरुले आफ्नो प्रतिवेदन पनि राखेका थिए । प्रतिवेदन राख्ने क्रममा पार्टीको अध्यक्ष अन्सारीले अहिलेको मूख्य राजनीतिक समस्या भनेको दलीय निरंकूशता हो सत्ता चलाइरहेको पार्टीहरुले राष्ट्रिय ढुकुटी रित्याउने मात्र नभएर विदेशी ऋण समेत डोल्याइ देशलाई रित्याइरहेको कुरा प्रष्ट पारे ।
साथै उनले वर्तमान राजनीतिक नेतृत्व राजनीतिक दलहरूको कारण अकर्मण्यताको कारणले देशमा प्रतिक्रियावादी शक्तिहरु सलबलाइरहेको आरोप लगाए । ‘अहिले राजा सक्रिय भएर मुलुकमा फेरि प्रतिगमन ल्याउने तर्फ र राजा आउ देश बचाउ भन्ने नारा लगाउन जनतालाई उक्साइरहेको स्थिति देखा परिरहेको छ,’ उनले भने, ‘सरकारले यसलाई अभिलम्ब पूर्व राजालाई पूर्व राजाको हैसियतमा दिएको सबै सुविधा कटौती गरी र कानुनी दायरामा ल्याउन यो बैठक माग गर्दछ ।’
यो समस्याबाट मुक्त हुन अब सम्पूर्ण शोषित, पीडित, उत्पीडित वर्गको राजनीतिक शक्तिहरू एक हुनुपर्ने आवश्यकता भएको जानकारी गराउँदै हाल ८ दलीय मोर्चा बनाई मोर्चाको प्रमुख जिम्मेवारी आफैले सम्भाली रहेको कुरा बताए ।मधेश प्रदेशकी सांसद विमला अन्सारीले शोषित पीडित उत्पीडित वर्ग र समुदायप्रति देशभरि जनजागरण अभियानको आवश्यकता भएकोले मधेश प्रदेशमा जनजागरण अभियान गरिरहेको र यो अभियान ७७ ओटै जिल्लामा गर्ने कुरा बताइन् ।
पार्टीका महासचिव अनन्त राईले नेपाल संघीय समाजवादी पार्टी देशको राजनीतिक शक्तिको एउटै मात्र विकल्प रहेको कुरा बताए । देशमा भएको बेतिथि र जनताको हितका लागि सैद्धान्तिक र वैचारिक रूपमा अघि बढ्ने पार्टी भनेको नेपाल संघीय समाजवादी पार्टी मात्र रहेको कुराउनले प्रष्ट पार्दै यो वर्तमान राजनीतिक अन्योलबाट मुक्त हुन जस्तोसुकै भूमिका पनि निर्वाह गर्न तयार रहेको कुरा राखे । विगत देखि नै मुक्तिको लागी लड्दै आएको महासचिवले दुई पटक सैनिक गठनसम्म गरेको कुरा स्मरण गराए ।
बैठकमा मधेश प्रदेशकी सांसद तथा पूर्वसूचना, संचार तथा गृह मन्त्री विमला अन्सारी, महासचिव अनन्त क्रान्ति, उपाध्यक्ष सीमा खान, उपमहासचिव जनक कार्की, सचिव दिनेश पाख्रिन, वरिष्ठ नेता विजय डंगोल, रेणु डंगोल लगायत उपत्यकामा रहने सबै केन्द्रीयस्तरका नेताहरुको उपस्थिति थियो । बैठकको अन्त्यमा देशमा भएको सबै शोषित, उत्पीडित जनतालाई जनजागरण तथा संगठन विस्तार अभियानअन्तर्गत संगठित गरी भरपर्दो राजनीतिक विकल्प निर्माण गर्न पार्टी सशक्त रूपमा अघि बढ्ने निर्णय गर्दै बैठक समाप्त भएको थियो ।