टोकियो –जापानी अनुसन्धान टोलीद्वारा पहिलो पटक दाँत पुनः वृद्धि गराउने औषधिको क्लिनिकल परीक्षण सुरू भएकाे छ । जापानी अनुसन्धानकर्ता डा. कात्सु टाकाहासीको नेतृत्वमा पहिलो पटक दाँत पुनः वृद्धि गराउने औषधिको क्लिनिकल परीक्षण क्योतो युनिभर्सिटी अस्पतालमा सुरु हुने भएकाे हाे ।
यस औषधिले मानव शरीरमा पाइने USAG-1 प्रोटिनलाई लक्षित गर्छ, जुन तेस्रो सेटको दाँतको विकासलाई प्राकृतिक रूपमा रोक्छ। अनुसन्धानकर्ताहरूका अनुसार, मानव शरीरमा तेस्रो सेटका दाँत विकास हुने क्षमता भए पनि प्रायः विकसित हुँदैन। करिब १% व्यक्तिहरूमा हाइपरडोन्टिया नामक अवस्थाको कारण अतिरिक्त दाँत देखिने गर्छ, जसले तेस्रो सेटको अस्तित्वलाई प्रमाणित गर्छ।
यस औषधिको जनावरमा गरिएको परीक्षणमा उल्लेखनीय परिणाम देखिएको छ। मुसा, फेर्रेट र कुकुरहरूमा यो औषधिले सफलतापूर्वक नयाँ दाँत उत्पन्न गराएको छ, र यसले कुनै गम्भीर साइड इफेक्टसमेत देखाएको छैन।
हाल यो औषधिको पहिलो चरणको परीक्षण स्वस्थ वयस्कहरूमा भइरहेको छ, जसमा कम्तीमा एक दाँत हराएको व्यक्तिहरूलाई समावेश गरिएको छ। दोस्रो चरणको परीक्षण सन् २०२५ मा २ देखि ७ वर्ष उमेर समूहका ती बालबालिकामा गरिनेछ, जसलाई जन्मजात रूपमा केही दाँत नै नभएका अवस्थामा रहेका छन्।
यदि सफल भएमा, यो उपचारले दाँत गुमाएका व्यक्तिहरूका लागि डेन्टल इम्प्लान्ट र डेन्टचरबाहेक तेस्रो विकल्प प्रदान गर्नेछ। वैज्ञानिकहरूका अनुसार, सार्वजनिक रूपमा यो औषधि सन् २०३० सम्ममा उपलब्ध हुने अपेक्षा गरिएको छ।