सरकारले चासो नदेखाउँदा आठ वर्षअघिका पुराना पाठ्यक्रम पढाइरहेका छौं । त्यत्तिका समयसम्म कानुनमा, सिस्टममा कति परिमार्जन हुन्छ यसमा सरकारले चासो राखेको छैन । योग्य प्रशिक्षक चाहियो भनिरहेका छौं, त्यसका लागि न तालिम केन्द्रहरु छन् न कसरी पढाइरहेको छ भनेर अनुगमन भएको छ ।
राजाराम गौतम
अध्यक्ष, वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ
काठमाडौं– गत वैशाखदेखि फागुन १३ गतेसम्म साउदी अरबमा कार्यक्षेत्रमा भएको दुर्घटनाबाट २९ जनाको ज्यान गयो । त्यसैगरी, सोही अवधिमा साउदीमा सडक दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ ।विशेषगरी खाडी मुलुकमा गएका कामदरहरु सामान्य जानकारीको अभावले ज्यान गुमाउन बाध्य बनेको तथ्यांकले देखाएको छ । गन्तव्य मुलुकको ट्राफिक नियम, कार्यक्षेत्रमा अपनाउनुपर्ने सावधानी जस्ता विषयमा जानकारी नहुँदा श्रमिकहरु यस्ता दुर्घटनामा पर्दै आएका छन् । विदेश जानुपूर्व दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी नहुनु यस्ता घटनाको प्रमुख कारण रहेको बोर्डकै अधिकारीहरु स्वीकार्छन् ।
नेपालमा हाल पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७७ कार्यान्वयनमा छ । वैदेशिक रोजगारीमा जाने प्रत्येक व्यक्तिले अनिवार्य तालिम लिनुपर्छ । तर, अभिमुखीकरण तालिम भनेको दुई दिन कक्षामा बस्नेमात्र हो भन्ने मानसिकता रहेको अभिमुखीकरण व्यवसायीको भनाइ छ । अभिमुखीकरणलाई समयसापेक्ष परिमार्जन गरेर गुणस्तरीय बनाउन भनेर आफू संघर्षरत रहे पनि सरकारले आफ्ना जायज मागहरुलाई बेवास्ता गर्दा यस्तो समस्या नरोकिएको नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम बताउँछन् । ‘दिनदिनै मृत्यु हुनेहरुको संख्या बढेको बढ्यै छ । कमसेकम एक जनालाई मात्र बचाउन सकियो भने ठूलो उपलब्धि हुन्थ्यो । विदेश जाने भनेर निर्णय लिनुअघि नै ओरियन्टेसन दिनुपर्छ,’ उनी भन्छन् ।
जिम्मेवार निकायले प्रभावकारी अनुगमन र कारबाही गर्न नसकेको उनको भनाइ छ । ‘वैदेशिक रोजगार बोर्डले मृत्यु भएकाहरुका नाममा हस्ताक्षर गर्नेबाहेक केही काम गर्न सकेको छैन । वैदेशिक रोजगार विभागको अनुगमनमा आएकाहरु चिया पसलबाटै अनुगमन गरेर जाने गरेको सुनेको छु,’ उनी भन्छन्, ‘बीसौं वर्षदेखि यस क्षेत्रमा जस्ताको तस्तै छ । ५० जनाभन्दा बढी मन्त्रीलाई भेट्दा पनि कसैले चासो दिएनन् ।’
अभिमुखीकरण तालिम सञ्चालन गर्ने व्यवसायी आफैंले तालिम प्रभावकारी छैन भन्छ भने उनीहरुले पढाएका छैनन् होला । यदि इजाजतपत्र प्राप्त व्यवसायी हो भने यस्तो कुरा गर्न सुहाउँदैन । विनाइजाजत काम गरेको भए थाहा भएन, कानुनले निर्देशित गरेको कुरामा यस्तो भन्न सुहाउँदैन ।
मेघनाथ भुर्तेल
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यसअघि मन्त्री हुँदा बनाएको कार्यविधि अहिले आफैंले कार्यान्वयन गराउन नचाहनुको कारण आफूले नबुझेको अध्यक्ष गौतमको भनाइ । अर्कोतर्फ व्यवसायीको एउटा पक्ष, एजेन्टले अभिमुखीकरण तालिम लिन पठाए उनीहरु कयौं गुणा बढी शुल्क लिएको जस्ता विषय श्रमिकले थाहा पाउने भएकाले सकेसम्म नपठाउने गरेको उनको भनाइ छ ।
कि त आफ्नो फेबरको संस्थामा पठाउने जसले केही जानकारी नै दिँदैन, कि नक्कली व्यक्ति पठाउने जस्तो स्थिति बनेको उनी बताउँछन् । सरकारले चासो नदेखाउँदा आठ वर्षअघिका पुराना पाठ्यक्रम आफूहरुले पढाइरहेको उनी बताउँछन् । ‘त्यत्तिका समयसम्म कानुनमा, सिस्टममा कति परिमार्जन हुन्छ यसमा सरकारले चासो राखेको छैन । योग्य प्रशिक्षक चाहियो भनिरहेका छौं, त्यसका लागि न तालिम केन्द्रहरु छन् न कसरी पढाइरहेको छ भनेर अनुगमन भएको छ,’ अध्यक्ष गौतम भन्छन् ।
सरकारले बाध्यकारी बनाएको नियममा म्यानपावर व्यवसायीले केही गर्न नमिल्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल बताउँछन् । यदि कुनै व्यवसायीले यस्तो भनेको भेटियो भने तुरुन्त कारबाही गरिने उनी बताउँछन् । ‘यदि अभिमुखीकरण व्यवसायी आफैंले यस्तो भन्छ भने उनीहरुले पढाएका छैनन् होला । यदि इजाजतपत्र प्राप्त व्यवसायी हो भने यस्तो कुरा गर्न सुहाउँदैन । विनाइजाजत काम गरेको भए थाहा भएन र कानुनले निर्देशित गरेको कुरामा यस्तो भन्न सुहाउँदैन,’ महासचिव भुर्तेल भन्छन् ।
यता, वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी विभागले प्रभावकारी ढंगबाट अनुगमन गरेको दाबी गर्छन् । केही महिना अगाडि करिब ५० वटा अभिमुखीकरण प्रदायक संस्थालाई कारबाही गरेको उनको भनाइ छ । ‘आइरिस प्रणाली लागू भएपछि कक्षामा सतप्रतिशत उपस्थिति भएको छ, परिणामात्मक सुधार भयो, अब गुणात्मक सुधार आवश्यक छ । त्यसका लागि पाठ्यक्रममा सुधार, कक्षामा कसरी पढाइन्छ या पढाइँदैन त्यो अनुगमन गर्ने पाटो छ । तर हाटा (हाजिर गरेर भाग्ने) गर्नेहरुलाई डोरीले नै बाँध्नचाँहि विभागले सक्दैन,’ उनी भन्छन्, ‘अनुगमनमा सम्बन्धित व्यक्ति सम्बन्धित ठाउँसम्मै पुगिरहेका छन् । यदि चिया पसलमा भेटियो भने कारबाही हुन्छ ।’
वैदेशिक रोजगार बोर्डले संशोधित अभिमुखीकरण पाठ्यक्रमको मस्यौदा तयार भइसकेको जनाएको छ । बोर्डको बैठक बसेपछि स्वीकृत हुन्छ कि थप संशोधन आवश्यक पर्छ भन्ने थाहा हुने प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले बताए । ‘मन्त्रीज्यू र कार्यकारी निर्देशकको सल्लाहमा बैठक बस्ने हो अब यही दिन बस्छ भन्ने जानकारी हामीसँग हुँदैन,’ उनले भने ।