मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्नेगरी वर्षा भएको छैन । अझै तीन दिन यस्तै हुने देखिन्छ ।
विनु महर्जन
मौसमविद्, मौसम पूर्वानुमान महाशाखा
- आइतबार दिउँसो काठमाडौं विश्वको पाँचौं प्रदूषित सहरका रुपमा सूचीकृत
- सोमबार र मंगलबार काठमाडौं क्षेत्रमा पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ
- छिट्टै पानी पर्ने नयाँ प्रणाली सोमबारबाट नेपाली आकाशमा प्रवेश गर्ने जानकारी
काठमाडौं– पर्याप्त वर्षा नहुँदा काठमाडौंको वायु प्रदूषण बढेको छ । हिजोआज काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लगेको देखिन्छ ।‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आइतबार दिउँसो काठमाडौं विश्वको पाँचौं प्रदूषित सहरका रुपमा सूचीकृत भएको थियो । आइतबार दिउँसो काठमाडौंको वायु प्रदूषण १६३ एक्युआई पुगेको थियो । साँझ भने १५३ पुगेर आठौं स्थानमा सूचीकृत भएको थियो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ । ‘मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्नेगरी वर्षा भएको छैन,’ महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन्, ‘अझै तीन दिन यस्तै हुने देखिन्छ ।’
विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई र बंगलादेशको ढाकाबीच उछिनपछिन चलेको छ । त्यसपछि भारतको राजधानी नयाँ दिल्ली, चीनको राजधानी बेइजिङ पनि प्रदूषित सहरको सूचीमा अगाडि रहेका छन् ।
कस्तो छ पानी पर्ने सम्भावना ?
काठमाडौंको आकाश बादलले डम्म भएर पानीको छिटा आए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद्हरु बताउँछन् । आगामी २४ घण्टामा केही स्थानमा हल्का वर्षाको अनुमान रहे पनि उल्लेखनीय वर्षा हुने सम्भावना छैन । ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा भनिएको छ ।
सोमबार र मंगलबार काठमाडौं क्षेत्रमा पानी पर्ने सम्भावना नरहेको मौसम विभागले जनाएको छ । यद्यपि छिट्टै पानी पर्ने नयाँ प्रणाली सोमबारबाट नेपाली आकाशमा प्रवेश गर्ने बताइएको छ । गएको २४ घण्टामा दाङमा ११ मिलिमिटर वर्षा भएको छ । इलामका बरफल्याङमा ४.२, झापाको सिस्नेमा ४.८, झापाकै शनिश्चरेमा ५.२ मिलमिटर वर्षा भएको मौसम विभागले जानकारी दिएको छ । त्यस्तै सिन्धुपाल्चोकको बोल्देमा १.८, दुवाचौरमा १.६ मिलिमिटर वर्षा भएको छ ।
शनिबार बिहानदेखि आइतबार बिहानसम्म सबैभन्दा बढी मोरङको केराबारी केन्द्रमा १४.४ मिलिमिटर वर्षा मापन भएको थियो । अहिले प्रि–मनसुन चलिरहेको छ । फागुन १७ देखि १७ जेठसम्मको अवधिलाई प्रि–मनसुन भनिन्छ । प्रि–मनसुनको प्रारम्भमा उल्लेख्य वर्षा भएको छ । फागुन २५ गतेसम्म ९.४० मिलिमिटर वर्षा भएको छ । यो भनेको औसत वर्षाको ४.१ प्रतिशत वर्षा हो ।
मनाङमा हिमपात
मनाङमा भने हिमपात हुन थालेको छ । जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुन थालेपछि किसान खुसी हुन थालेका छन् । ढिलागरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् ।
हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताए । ‘हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिलागरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ,’ उनले भने, ‘पानीको काम नै हिउँले गर्छ ।’ हिउँ नपरेको बेलामासमेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको गुरुङले बताए ।
यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् ।