काठमाडौं– गायक तथा संगीतकार जीवन बम्जन ‘योगिता मोक्तान प्रतिभा पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । गायिका मोक्तानको १४औं स्मृति दिवसको अवसरमा सोमबार एक समारोहबीच बम्जनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाल तामाङ कलाकार संघले गायिका मोक्तानको सम्झनामा स्थापना गरेको यो पुरस्कार २० हजार रुपैयाँ राशिको रहेको छ । संघले प्रत्येक वर्ष एक जना युवा प्रतिभालाई पुरस्कार प्रदान गर्दै आएको संघका अध्यक्ष विशाल काल्तानले बताए ।
सोमबार सम्मानित भएका बम्जन गायन, संगीतसँगै शब्द रचनामा पनि सक्रिय रहँदै आएका छन् । उनका ‘खुकुरी हैन कर्दाको’, ‘ज्यान मैच्याङ’, ‘आङीकी छोरी’, ‘हाम्रो त आखे’, ‘सैलुङ मेला’, ‘ल्होछार खाजी’लगायत दर्जनौं सेलो गीत श्रोता/दर्शकमाझ लोकप्रिय बनेका छन् । बम्जनले सेलो गीत संगीतलाई प्रवर्द्धन गर्न पुर्याउँदै आएको योगदानको मूल्यांकन गर्दै योगिता मोक्तान प्रतिभा पुरस्कार प्रदान गरिएको संघका महासचिव खेम मोक्तानले जानकारी दिए ।

स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले बम्जनलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले, वरिष्ठ गायक प्रेम लोप्चन, स्वर्गीय गायिका मोक्तानकी आमा निरुकुमारी गुरुङलगायत तामाङ कलाकारहरुको उपस्थिति रहेको थियो ।
संघका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार विश्व दोङले स्वर्गीय गायिका मोक्तानले तामाङ तथा नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमका वक्ताहरुलेसमेत गायिका मोक्तानलाई सम्झिएका थिए ।
पाँच सयभन्दा बढी गीतमा स्वर दिएकी मोक्तानको २०६७ फागुनमा असामयिक निधन भएको थियो । उनका ‘हेर न हेर’, ‘कहिले त पूर्वको’, ‘डम्फु बजाऊ तम्बा दाइ’, ‘होइ डोल्मो होइ पाल्मो’लगायत दर्जनौं सेलो गीत चर्चित छन् । मोक्तानले दर्जनौं जनवादी गीतमासमेत स्वर दिएकी थिइन् ।