टोलभरि हल्ला थियो । राऽआजा आउँदै छन् अरे ! चिया पसलमा गयो त्यही भन्थे । चौतारामा भेला भएकाहरु पनि त्यही कानेखुसी गर्दै थिए । सामाजिक सञ्जालमा कोही कोही कराउँदै थिए । पक्का हो आउँदैन । जसरी पनि ल्याइन्छ ।
कुरो पनि ठिकै हो । जसरी पनि ल्याउनुपर्छ । तर ल्याउनेचाहिँ कसरी ? आउनेचाहिँ कसरी । मट्याङ्ग्रो अलमल्ल ! चौतारामा भेला भएकामध्ये तक्लु दादा भन्दै थिए, ‘लौ है मट्याङ्ग्रो अब राऽआजा ल्याउनुपर्छ ।’
त्यसपछि झनै अलमल्ल । मट्याङ्ग्रो दिमागले काम गरेन कि क्या हो मनमनै भन्दै थियो, ‘मैले कहाँबाट खोजेर ल्याउने होर ?’ राऽआजै राऽआजा भएको ठाउँमा फेरि कुन राऽआजा ल्याउने जिम्मेवारी दिएका हुन् म विचारो कसरी राऽआजा ल्याउन सकौंला र ?
ऊ बेला भएका एउटा राऽआजालाई बानेश्वरको सेता दरबारभित्र बसेर मध्यरातमा टेबल ठटाएरै डाँडामा पुर्याएको सम्झ्यो मट्यांग्राले । उसबेला हाई काट्दै सभामुख महोदय भन्दै थिए, ‘मान्य सदस्यहरु, हिन्दूराष्ट्र र राजतन्त्र अन्त्य गर्दै मुलुकलाई ‘गणतन्त्र’ र धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिबक्सेका छौं’ हुन्छ भन्ने मान्य सदस्यले हुन्छ भन्नुहोला ।’
मान्य सदस्यहरुले कुरा बुझे कि बुझेनन् टेबलमा टरऽरऽरऽ बजाए । अनि महोदयले फेरि भने, ‘सबै मान्ने सदस्यहरुको ठूलो स्वरमा हुन्छ भन्नुभएकाले २४० वर्षसम्म चलेको राजतन्त्रात्मक व्यवस्था अन्त्य गरिबक्सेका छौं ।’मट्याङ्ग्रो झल्याँस्स भयो । २०६२÷६३ मा गज्जबकै जुलुस निस्किएको थियो । जुलुसले ‘निरंकुशताको अन्त्य गर’ भन्दै नारा लगाएको थियो । न त राजतन्त्र खारेज भनेको थियो न त धर्मनिरपेक्षताको कुरा नै उठेको थियो ।
जुलुस अगाडि बढेको बढ्यै सत्तामा हुनेले ठोकेको ठोक्यै । सडकमा जनताको भीड । त्यही भीडमा यता पुलिसको आक्रमण उता जुलुसेको आक्रमण । जुलुस गर्न पठाउने र ठोक्न लगाउनेहरुका ‘साहेव’हरु घरको बैठक कोठामा टेलिभिजन हेर्दै ‘च्वाँस्स’ पार्दै दंग ।बिहान घाम लागेदेखि घाम नअस्ताउसम्म ढुंगा, मुढा, नारा जुलुस कति हो कति । कसको बाउको के जान्थ्यो र ? ढुंगा लागे पनि त्यही जनताको छोरोको टाउको फुट्ने हो, गोली खाए पनि जनताको छोरा नै ढल्ने हो !
झण्डा हल्लाएर हिँड्नेहरु ‘सान’ले आफूलाई राजा सम्झिए । अनि राऽआजालाई एकदम काइदा छ भन्दै उचाले । उता जुलुस लगाउनेहरुले पनि आफ्नो शक्ति देखाए । सहराँ भाकाले नसक्ने भएपछि जंगलमा भाका पनि जंगलमा भएका रुखका हाँगा भाँचेर त्यही लिएर सहराँ देखिए । अत्तोपत्तो भएन । जसले दुःख पाए पाए, जो मरे मरे । हरेक दिन मर्ने र मार्ने क्रम लि नै रह्यो । एउटा नेपालीले अर्को नेपालीलाई मारिनै रहे ।अब नसकिने भो भन्दै सबै दल हाँक्नेहरु बसे । सत्ता हाँक्नेसँग वार्ता छलफल भए । सत्तामा हुनेहरु ठसमस नहुने । आन्दोलनमा होमिएकाहरु ‘मालिक’सँग वार्ता गर्नमै अड्कियो । सबैका सबै गोप्य भए । धर्म गर्नेहरुले ‘आखिर रहेछ ईश्वर एक’ भनेजस्तै दक्षिणतिरका ‘मालिक’ उतै छलफल गर्ने निर्देशन भयो । वार्ता सहमति भए । अनि बल्ल राऽआजालाई बिन्ती बिसाए । अब फिर्ता गरिदिनुपर्यो महाराज ।
राऽआजाले पनि सम्वोधन गर्दिए । ‘जनताको नासो जनतालाई नै सुम्पिदिएका छौं’ । त्यत्ति के भनिदिएका थिए । संसद् ब्युँतियो । ढुंगामुढा अश्रुग्यासले भरिने सडक फेरि उत्साह र उमंगसहित रंगीन संसारमा परिणत भयो । तर कसको कर बलले हो, तालीको तरऽरऽरऽ बाटै ‘गणतन्त्र’ र ‘धर्मनिरपेक्षता’ लागू गरियो ।संविधानसभाको निर्वाचन तोकियो । स्वार्थीहरुले गर्न सकेनन्, पछि सकी नसकी गरे । ढुकुटीबाट अर्बौं सकियो । अम्रिकादेखि युरोपियन युनियनसम्मले हरियो पत्ता देकोऽदियै गरे । विचरा, खान नपाउने देशका ‘लिडर’ भन्दै अहिलेसम्म पनि देकोऽदियै छन् ।
काठमाडौं आका घर फर्किए । जंगलमा भएकाहरु पनि सहराँ आए । सत्तामा पुगे । अनि रंगीन दुनियाँमा रमाउन थाले । कोही सुकुम्वासीको नाममा हुकुम्वासी भए । कोही सुकिला मुकिलाहुँदै चिल्लो सवारीमा हुँइकिने भए । बन्दुक बोकेर आन्दोलन गर्नेहरुको कसैका करङ भाँच्चिए । कसैको खुट्टा काटिए । कोही खाडीतिर भासिए । कसैका बाउ छैनन्, कसैका आमा । कसैको काख रित्तो भो । कसैको घरै खरानी भो । तर कठैबरा भन्ने कोही पनि भएन !
व्यवस्था फेरियो, अवस्था फेरिएन । अन्याय, अत्याचार भ्रष्टाचार उकालो लाग्यो । केही स्वार्थीहरुको जीवनशैली फेरिए । तर जनताले आङमा लगाउने एक सरो कपडा फेरिएन । व्यवस्था फेर्नेहरु अरबतिर भासिए । व्यवस्था फेर्न लगाउनेहरु अर्बपति भए । टोलटोलमा नवराजाहरु देखिए । सयौंका संख्यामा राजा महाराजाहरु जन्मिए ।
हुन्छ, होला, भइहाल्छ नि ! जादूको छडी हो र ? तुरुन्तै परिवर्तन हुन ! सबैले त्यही नै सोचे । वर्ष बिते, वर्षौं बिते । ‘बाह्र वर्षमा त खोलो पनि फर्कन्छ’ भन्थे बूढापाकाले तर फर्केन । परिवर्तन गर्न आएकाहरु नै परिवर्तन भइदिए । व्यवस्था फेरिएसँगै गाउँ झिलिमिली हुनुपथ्र्याे होला । गाउँका खेतबारीमा उब्जिएका खाद्यान्न बेचेर जनता समृद्ध हुनुपर्ने थियो होला । तर दुर्भाग्य, गाउँ रित्तिदै गयो । एकाधबाहेक मान्छे देख्न नै मुस्किल पर्न थाल्यो । खेतबारी बाँझो हुँदै गयो । उत्पादन गरेर बिक्री गरी डलर कमाउने होइन । विदेशबाट डलर कमाएर खानुपर्ने अवस्था आयो ।
‘वाहऽ क्या राम्रो अवस्था फेरिएको’ चौतारीमा तक्लु दादा सबैलाई भन्दै थिए । त्यही भएर, ‘राऽआजा आउँदै छन्’ मट्याङ्ग्रा अलमल्ल पर्यो । राऽआजालाई आजा आजा मात्र भनेर के हुन्थ्यो होला र ? कोही नेता राजा भनेको राजा नै हो, पूर्व र पश्चिम हुन्न भन्ने । कोही नेता सपना नदेख भन्ने ! कोही नेता जुलुसको जनलहरबाट नै अनुमोदन भयो भन्ने । चौतारामा तक्लु दादाको कुरा सुन्दै गरेका हरिदाशले भने, ‘होइन हो तक्लु दादा कहाँ गाऽका र आउँदै छन् राऽआजा । यहीँ भएको मान्छेलाई पनि के को आजा ऽआजा ?’