काठमाडौं - नेपाल प्रहरी खेलकुद समिति महाराजगञ्जको आयोजनामा प्रथम आईजिपी कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ सुरू भएको छ । नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले आज मुलपानी क्रिकेट मैदानमा आयोजित एक कार्यक्रमबीच उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीको कार्य प्रकृति खेलकुदभन्दा फरक किसिमको रहेपनि नेपाली खेलकुद इतिहासमा विभिन्न खेलका स्तरीय खेलाडी उत्पादनमा नेपाल प्रहरीको योगदान रहेको बताए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्बर पालले प्रतियोगितासम्बन्धी संक्षिप्त जानकारी दिएका थिए । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र सात वटै प्रदेश प्रहरी कार्यालयका गरी आठ टिमको सहभागिता छ ।