काठमाडौं - नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको कार्यालयमा सूचना माग गर्दै निवेदन परेको छ ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँका अध्यक्ष समेत रहेका सूचना अभियान्ता भीम लामाले निवेदन दिँदै ६ बुँदे सूचना माग गरेका हुन् ।
सुशासन र पारदर्शी समाज निर्माणको अभियानमा लामो समय सूचनाको हकको प्रयोग गर्दै सार्वजनिक निकाय वा सार्वजनिक चासो राख्ने संघसंस्थामा सूचना माग्दै आएका अध्यक्ष लामाले यसपटक पत्रकारहरूको साझा संस्था महासंघ काठमाडौँ जिल्ला शाखा कार्यालयमा सूचना माग गरेका हुन् ।
समाजलाई पारदर्शी र जवाफदेही बनाउन कार्यान्वयनको पाटोमा समाचार लेखन तथा सम्प्रेषण गराउँदै आएको पत्रकारहरूको साझा संस्था महासंघमा सुदृढीकरण र सुशासनयुक्त निर्माण होस् भन्ने उद्देश्यले सूचना माग गरिएको उनले बताए । उनले कार्यालय व्यवस्थापनदेखि सदस्यता वितरण, सदस्यता नवीकरण र सञ्चार रजिस्ट्रारबाट प्राप्त सञ्चार सामग्रीहरूको वस्तुस्थितिका बारेमा समेत सूचना माग गरेका छन्।
संविधानको धारा २७ ले व्यवस्था गरेको सूचना हकलाई प्रयोग गर्दै आवश्यक सूचना अध्ययन, अनुसन्धान र छलफल प्रयोजनका लागि सूचना माग गरेको निवेदनमा उल्लेख छ। सूचनाको हकका अभियान्ता लामाले पछिल्लो समयमा सूचना मागकर्तालाइ राज्यका जिम्मेवार निकायबाट सूचना दिनुको सट्टा दुःख दिने, हतोत्साहित गर्ने जस्ता कार्य भइरहेको भन्दै आम पत्रकार जगत र नागरिक सचेत हुनुपर्ने बताए ।