सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ले आयोजना गरेको गाउँपालिका स्तरीय वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको छ । बिहीबार भएको फाइनलमा इन्द्रावती गाउँपालिका वडा नम्बर ७ लाई पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो ।
विजेताले शिल्ड मेडल, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पारेको छ । वडा ७ ले शिल्ड, मेडल प्रमाणपत्र सहित २० हजार नगद हात पार्दा तेस्रो हुन सफल वडा नम्बर ५ बि ले १५ हजार नगदसहित शिल्ड,मेडल र प्रमाणपत्र हात पार्यो ।
तेस्रो स्थानको लागि भएको खेलमा आयोजक वडा नम्बर ५ बि ले वडा नम्बर ६ लाई बेस्ट अफ थ्री मा पराजित गरेको थियो ।
फाइनल खेलमा गाउँपालिकाकी उपाध्यक्ष शोभाना तामाङले खेलाडीहरुले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल भएकोमा खुसी जनाइन् । उनले आगामी दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाइन् ।
वडा नम्बर ५ का वडाध्यक्ष शशिनाथ आचार्यले भलिबल प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले युवाहरु शारीरिक विकास मानसिक विकास भावनात्मक विकास गर्न यस्तो प्रतियोगिता को आयोजना गरेको बताए ।
वडाध्यक्ष आचार्यले बैशाख ३ गतेबाट अध्यक्षकप फूटबल हुने जानकारी दिँदै प्रतियोगिता खेलाडीको प्रतिभा देखाउने मौका भएको बताए । प्रतियोगितामा इन्द्रावती गाउँपालिका वडा नम्बर ५ बि का सोमबहादुर तामाङ बेस्ट लिबेरो घोषणा हुँदा ५ ए कै शुक्र तामाङ बेस्ट सर्भर घोषित भए।
त्यस्तै बेस्ट ब्लकरको रुपमा इन्द्रावती ५ ए कै सुदिप तामाङ घोषण भए भने इन्द्रावती ७ का निरन्जन ढुंगाना बेस्ट सेटर, इन्द्रावती ७ कै सुबास न्यौपाने बेस्ट स्पाइकर घोषण हुँदा इन्द्रावती ५ ए कै मिङमार लामा बेस्ट प्लेयर बने ।
कार्यक्रममा वडा नम्बर ५ का खेलकुद संयोजक नवराज कटुवालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । फागुन २७ गते देखि संचालन भएको प्रतियोगिता मा ११ टिमले सहभागीता जनाएको थियो ।