- फागुन १२ गते मन्त्रिपरिषद्बाट भएको सरुवा निर्णय कार्यान्वयनमा अटेरी
- मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नहुनुमा कृषिमन्त्री अधिकारी जिम्मेवार
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक बन्ने दाउमा डा. मतिना जोशी वैद्य
काठमाडौं– सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल र मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विनयकुमार कर्णको सरुवा गरेको महिना दिन पुग्न लाग्यो । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद्ले उनीहरुको सरुवाबारे निर्णय गरेको थियो । जसअनुसार महानिर्देशक दाहाल र प्रदेशसचिव कर्ण सरुवा भएर पनि रमाना लिएर कार्यक्षेत्रमा खटिनुपर्ने हो । तर, उनीहरु उल्टै मन्त्रिपरिषद्को निर्णयलाई अटेर गर्दै काज खटाएको ठाउँमा गएका छैनन् ।
मन्त्रिपरिषद्को निर्णयअनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पत्र पठाइसकेको भए पनि उनीहरुले अझै पत्र बुझ्न मानेका छैनन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विभागका महानिर्देशक डा. दाहाललाई तत्काल सरुवा भएको कार्यालयमा कामकाजका लागि नजानू भन्ने आदेश भएकाले उनी नगएको हुनसक्ने मन्त्री अधिकारीको सचिवालयका एक सदस्यले जानकारी दिए ।
दाहाल र कर्णसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्ण पनि सरुवा भएको कार्यालयमा उपस्थित भएका छैनन् । कर्णलार्ई विभागको महानिर्देशकमा रुपमा सरुवा भएर गएको छ महिना पनि नबित्दै पुनः लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।अहिले हरेक दिन खाद्य गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानमार्फत अनुगमन निरन्तर गरिरहेको अवस्थामा कर्णको सरुवा हचुवाको भरमा भएको र मन्त्री अधिकारीलाई जानकारी नै नदिई सरुवा भएकाले मन्त्रीले नै प्रदेशमा कामकाजमा जान रोकेको बताइएको छ ।
सहसचिवहरु सरुवा र तोकिएको कार्यालयमा नगएको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्तासमेत रहेकी खाद्य सुरक्षा खाद्य प्रविधि महाशाखा प्रमुख डा. मतिना जोशी वैद्यले कुनै प्रतिक्रिया दिन चाहिनन् । यसअघि दुईपटक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशक बनिसकेकी डा. वैद्यलाई पुनः विभागको महानिर्देशक बनाउनका लागि कृषि मन्त्रालयका कृषितर्फका सचिव गोविन्दप्रसाद शर्मा लागिपरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका रहँदा पटक–पटक विवादमा मुछिएकी मतिनालाई पुनः त्यहीँ महानिर्देशकका रुपमा लैजानका लागि मन्त्री अधिकारीलाई सचिव शर्माले पहल गरिरहेका छन् । नेपाली कांग्रेसनिकट मानिएका सचिव शर्मा अहिले कांग्रेसकै मन्त्री असफल हुनेगरी किन सरुवाको खेलमा लागिरहेका छन् भन्ने प्रश्न उठ्न थालेको बताउँछन् ।