- खुकु छिन्ताङ, सुखानी, प्रवीण गुरुङ र नमिता–सुनिता हत्याकाण्ड राजतन्त्रकालमा घटेका चर्चित काण्ड हुन्
- खुकु छिन्ताङ र सुखानी सरकारकै निर्देशनमा भएको हत्याकाण्ड
- प्रवीण गुरुङ र नमिता–सुनिता हत्याकाण्ड दरबारकै सदस्यबाट
काठमाडौं– गणतन्त्रलाई खराब राजनीतिक व्यवस्थाको रूपमा अथ्र्याउन राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गणतन्त्र स्थापनापछिका वर्षहरूमा भएका केही चर्चित हत्या, बलात्कारदेखि भ्रष्टाचारकाण्डलाई अघि सार्ने गर्छ । ती काण्डको गम्भीर अनुसन्धान गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै गणतन्त्रमाथि प्रश्न उठाउने गरेको छ ।
राजतन्त्रकालमा ‘सब ठीकठाक’ भएजसरी राप्रपा नेताहरू संसद्मा प्रस्तुत हुन्छन् । आपराधिक घटना र तीनको निष्पक्ष अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याएर दण्डहीनताको अन्त्य गरेकोझैं दाबी गर्छन् । आइतबार संसद् बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही त्यसरी नै प्रस्तुत भए । उनले गणतन्त्रलाई अन्याय, अत्याचार र कुशासनले भरिपूर्ण व्यवस्थाको रूपमा अथ्र्याए । गणतन्त्रको काण्ड सम्झाइदिउँ भन्दै भने, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भयो, तपाईंहरूका कति गृहमन्त्री फेरिए ? कति प्रधानमन्त्री फेरिए, निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकेका छौं ? बाँदरमुडे हत्याकाण्ड याद छ ?’
शाहीमात्रै होइन, राप्रपाका अन्य नेताहरू पनि पछिल्ला दिनमा यस्तै घटनाहरू अघि सारेर गणतन्त्रमाथि प्रश्न उठाउने गरेका छन् । गणतन्त्रले मुलुकलाई बर्बाद बनाएको दाबी गर्छन् । तर, राजतन्त्रकालीन चार हत्याकाण्ड छन्, जो नेपाली जनताले कहिल्यै बिर्सिन सक्दैनन् ।
पहिलोः खुकु छिन्ताङ हत्याकाण्ड
नेपालको इतिहासमा ४५ वर्षअघिको कात्तिक २४ मा देशको पूर्वी क्षेत्रको पहाडी जिल्ला धनकुटाको खुकु, छिन्ताङ र आँखीसल्लामा तीन दिनको सुत्केरीसहित १६ जना गरिब किसानको हत्या भएको थियो । वीरेन्द्र राजा भएका र सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला थापाकै ठाडो निर्देशनमा कोहीलाई बलात्कार गरेर, कोहीलाई गोली ठोकेर, कोहीलाई भीरबाट लडाएर त कोहीलाई तमोर नदीमा बगाएर हत्या गरिएको थियो । तत्कालीन सरकारले निहत्था नागरिकमाथि गरेको त्यो घटना जघन्य अपराध थियो ।
हत्या गरिनेमा पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राई, भैरवबहादुर खालिङ राई, बलबहादुर खत्री, केशरमान राई, गणेशबहादुर विश्वकर्मा र श्रीमाया राई (हाङखिमा साइली) थिए । उनीहरू सबै कम्युनिस्ट थिए । गाउँका जमिन्दार र सामन्तका घरमा टन्नै अन्न हुने र ती गरिब किसानहरूले उनीहरूकैमा दिनभर काम गर्दा पनि ज्यालाले खान नपुग्ने स्थिति थियो । अर्थात् सामन्तहरू गरिब किसानका श्रम शोषण गर्थे ।
त्यसविरुद्ध उनीहरू ‘मझिया परिवार शोषक परिवार’ भन्दै आन्दोलित भएको हत्याकाण्ड हुँदाताका मानिसहरू बताउँछन् र केही मझियाहरूको भकारी फोरेर गरिब किसानहरूले खानलाई २०२८ सालमा धान र कोदो लगेका थिए । बदलामा आठ वर्षपछि उनीहरूको राजा वीरेन्द्र भएका र प्रधानमन्त्री सूर्यबहादुर थापा भएका बेला थापाको ठाडो निर्देशनमा हत्या भयो ।
दोस्रोः सुखानीकाण्ड
५२ वर्षअघि झापाको सुखानी जंगलमा अड्डासार गरेर लाने बहानामा पाँच जना कम्युनिस्ट नेताको हत्या गरिएको थियो । राजतन्त्रकालमा घटेको यो चर्चित हत्याकाण्ड हो । नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा २१ फागुन २०२९ मा हत्या गरिएको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए ।
राजतन्त्रकालीन यो हत्याकाण्ड तत्कालीन सरकारले गरेको आरोप लाग्ने गरेको छ । उनीहरूमाथि वर्गसत्रू खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाइएको थियो । सोही आरोपमा पक्राउ परेका उनीहरूलाई झापाको चन्द्रगढीदेखि इलाम जेल सार्ने भन्दै सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो । यो घटनाको अनुसन्धान त्यसबेला भएन । त्यतिकै सामसुम पारिएको थियो ।
तेस्रोः प्रवीण गुरुङ हत्याकाण्ड
२२ साउन २०५७ मा गायक प्रवीण गुरुङ सवार मोटरसाइकललाई तत्कालीन शाह ज्यादा पारस शाहको गाडीले ठक्कर दियो । नारायणहिटी राजदरबारको दक्षिणी गेटबाट तेज गतिमा हुइँकिएको शाहको गाडीले ठक्कर दिँदा गायक गुरुङको घटनास्थलमै ज्यान गयो ।
पारसलाई जोगाउन निर्मल निवास लाग्यो । त्यसबारे दरबारका तत्कालीन सैनिकसचिव विवेक शाहले ‘मैले देखेको दरबार’मा खुलाएका छन् । उनका अनुसार उनले घटनाबारे खबर गरेपछि राजा वीरेन्द्रले भाइ ज्ञानेन्द्रलाई फोन गर्न भनेका थिए । त्यसपछि शाहले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई फोन गरे र घटनाबारे बताए । ज्ञानेन्द्रले छोरा पारसले गराएको घटनाबारे आफू अनभिज्ञ भएको बताए ।
शाहले किताबमा लेखेको छन्, ‘म बुझेर फोन गर्छु भन्ने हुकुम (अधिराजकुमार ज्ञानेन्द्रबाट) भयो, करिब आधा घण्टापछि ज्ञानेन्द्र सरकारको फोन आयो । विवेक, इट इज हिम । त्यो मोटर पनि हो र पारसले चलाएको रहेछ । अब यो समस्या कसरी समाधान गर्ने, उपाय निकाल ।’
मान्छे नै मरेको घटनामा दोषीलाई कारबाही हुनुपर्ने हो तर अधिराजकुमार ज्ञानेन्द्रले छोरा पारसलाई बचाउने उपाय खोज्न अनुरोध गरे । त्यसपछि खड्कबहादुर भुजेल नामका व्यक्तिलाई नक्कली ड्राइभर बनाएर खडा गरियो र पारसलाई उन्मुक्ति दिइयो ।
प्रवीण गुरुङको मृत्यु घटनामा शाहज्यादा पारसलाई कारबाही गर्न माग गर्दै तत्कालीन नेकपा मालेको भ्रातृ संगठन अनेरास्ववियूले नारायणहिटी दरबारमा पाँच लाख हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको थियो । तर, पारसलाई कारबाही हुनुको साटो नक्कली ड्राइभर खडा गरेर उन्मुक्ति दिइयो । उतिबेला धेरैको अनुमान थियो– भाइ ज्ञानेन्द्रको दबाबका कारण राजा वीरेन्द्रले पारसलाई कारबाहीबाट बचाएका थिए ।
चौथोः नमिता–सुनिता काण्ड
राजतन्त्रकालमा दरबारबाटै भएको भनिएको अर्को हत्याकाण्ड हो–नमिता–सुनिता काण्ड । यो काण्ड भएको २०३८ जेठमा हो । पोखरामा भएको काण्डमा तीन युवतीको हत्या घटना भएको थियो । यो काण्ड अहिलेसम्म रहस्यमय छ ।
‘नमिता–सुनिता हत्याकाण्ड’नामले चर्चित सो घटनामा नमिता भण्डारी र सुनिता भण्डारी दिदीबहिनी तथा उनीहरूकी साथी निरा पराजुलीको बलात्कारपछि हत्या भएको बताइए पनि अनुसन्धान कुनै निष्कर्षमा पुग्न सकेन ।
उनीहरू १८ जेठ २०३८ सालमा काठमाडौंबाट पोखरा घुम्न हिँडेका थिए । उनीहरू २४ जेठपछि बेपत्ता भए । त्यसको ५ दिनपछि २९ जेठमा नमिता सेती नदीको खोँचमा मृत भेटिइन् । त्यसको ९ दिनपछि दिदी सुनिताको शव पनि भेटियो । पाँच महिनापछि नजिकै सेती खोँचमै अर्की युवतीको पनि शव भेटियो । तर, त्यतिबेला डिएनए परीक्षण प्रविधि नभएकाले शव निराको हो होइन पुष्टि नै हुन सकेन ।
यो घटनामा दरबारिया नीर शाहलगायतको भूमिका शंकास्पद देखिएको भन्दै घटनाको छानबिन गर्न माग भएको थियो । यसलाई दरबारकै सदस्यहरू संलग्न भएको चर्चित राजतन्त्रकालीन हत्याकाण्ड मान्ने गरिन्छ ।