- राजावादीविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहालको आक्रामक अभिव्यक्तिपछि उनको फोटो जलाउनेदेखि पक्राउसम्मका घटना
- राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एमाले सांसद रघुजी पन्तबीच प्रतिनिधिसभामै नोकझोंक
- सत्तामा रहेको प्रमुख दल नेपाली कांग्रेसलाई भने यो विषय हर्ष न विस्मात्
काठमाडौं– पछिल्लो समय राजावादी समूहको चलखेल बढेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँगै नेकपा एमाले त्यसविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ । शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले मेलम्ची पुगेर राजतन्त्रको चर्को विरोध गरेका थिए ।
‘जुन नौटंकी देखाइँदै छ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पु¥याए ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?,’ दाहालले राजवादीको प्रदर्शनलाई लक्षित गर्दै प्रश्न गरेका थिए । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा उत्रिएका साना दलहरुमा एक किसिमको तरंग नै पैदा ग¥यो ।
फागुन २५ मा पूर्वराजा शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाहालको अभिव्यक्तिलगत्तै चिढियो । दाहालले अत्तालिएर, सन्तुलन गुमाएर पूर्वराजामाथि तुच्छ, अमर्यादित, लाञ्छना लगाएको निष्कर्ष राप्रपाले निकाल्यो शनिबार । सोही दिन मकवानपुरमा राप्रपा सांसद दीपकबहादुर सिंहको उपस्थितिमा माओवादी अध्यक्ष दाहालको फोटो राप्रपाका कार्यकर्ता निराजन बमले जलाए ।
उनै बमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । यद्यपि माओवादी अध्यक्ष दाहालले फोटो जलाउँदैमा पक्राउ गर्नु उचित नहुने भन्दै सामाजिक सञ्जालमा लेखे, ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ त्यसपछि माओवादी केन्द्र मकवानपुरका नेताहरु उनलाई रिहा गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । बम आइतबार साँझ नै रिहा भएका छन् ।
प्रतिनिधिसभामा रघुजी र ज्ञानेन्द्र शाहीको चर्काचर्की
यता प्रतिनिधिसभामा भने एमाले सांसद रघुजी पन्तले राजतन्त्रको चर्को विरोध गरे । पन्तले राजतन्त्रलाई संविधानले नचिन्ने भन्दै यसबारे प्रतिनिधिसभामा बहस पनि गर्न नहुने तर्क पेस गरेका थिए । ‘२०४६ सालमा आन्दोलन गरेर बहुदल व्यवस्था कायम ग¥यौं । हामीले संवैधानिक राजतन्त्र मानेर गयौं । यो संवैधानिक राजतन्त्र कसले उल्टायो ? त्यो राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९ कू गरेर होइन ? अनि राजतन्त्र केका लागि चाहियो ? त्यसैका लागि ? दसैं र तिहारको बेलामा लुकेर पारसलाई युवराज बनाइयो । त्यो बेला पारसले के–के गरे ?,’ सांसद पन्तले प्रश्न गरे, ‘गीत गाएर फर्किरहेका एक जना कलाकार प्रवीण गुरुङलाई गाडीले लखेटीलखेटी मारे । के यो पनि झूटो हो ? हल्ला भएपछि मुद्दा चलाउने कुरा भयो अनि एक जना नक्कली भुजेल खडा ग¥यो । राजतन्त्रमा यस्ता नमूना काण्डहरू थुप्रै भए । त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन । अहिलेको संविधानले पनि राजतन्त्रलाई चिन्दैन ।’
पन्तको भनाइप्रति राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नियमापत्ति जनाए । शाहीले बोल्न खोजेपछि पन्तले उनलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भने । पन्तले भने, ‘नेपाल दक्षिण एसियामा गरिब छ । राजाको पालामा पनि त झन् गरिब थियो । तपाईंहरु जुलुस निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ हेर्दाखेरी सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।’ फागुन २५ गतेको राजावादीको जुलुसमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो र पूर्वराजा ज्ञानेन्द्रको फोटो एकैसाथ प्रदर्शन गरिएको थियो ।
पन्तले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र)कै पालामा नेपालको चुच्चे नक्सा हराएको आरोप लगाए. । यसैगरी उनले तथ्य, तर्क र यथार्थमा उभिएर राजनीति ग¥यो भनेमात्र टिकाउ हुने बताए । उनले भने, ‘भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सकिएला । तर सधैं अलमलमा पार्न सकिँदैन । अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको छ ।’
कांग्रेसलाई हाइसञ्चो !
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सत्तारुढ दल नेकपा एमाले राजावादीविरुद्ध खनिँदा नेपाली कांग्रेसलाई भने हाइसञ्चो देखिन्छ । यसबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै दलकै कारण जनता असन्तुष्ट भएको बताए ।
‘अहिलेको अवस्था दलहरुकै गतिविधिबाट सिर्जना भएको हो । दलहरुले काम नगरेका कारण जनतासमेत रिसाएका छन्,’ विराटनगर विमानस्थलमा शुक्रबार थापाले भनेका थिए । फागुन २६ गते धनगढी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँग पत्रकारले राजतन्त्रका पक्षमा माहोल बनेकोबारे प्रश्न सोधेका थिए । उक्त प्रश्नमा देउवाले भनेका थिए, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्लामात्र हो, हल्ला गरेर केही हुँदैन ।’