स्वतन्त्र विद्यार्थी युनियनको चुनाव राजनीतिक दलको ‘मिनी चुनाव’ नै हो । यसलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषयसमेत बनाएका छन् । तर केहीबाहेक देशभरका एक हजारभन्दा बढी आंगिक क्याम्पसमा सक्षम नेतृत्व पाउन दलहरुलाई धौधौ नै देखिएको छ । त्यसैले त तालमेलको नाममा १०० भन्दा बढी क्याम्पसमा स्ववियुले निर्वाचनअघि नै निर्विरोध कार्यसमिति पाइसक्यो ।
ज्ञानेन्द्र शाहले कू गरी प्रजातन्त्र हातमा लिएपछि मन्त्री नियुक्ति गरेजस्तै अहिले क्याम्पसहरुमा स्ववियु पदाधिकारी र सदस्य पाउन दलहरुलाई मुस्किल भएको छ । गाउँगाउँ पुगेको क्याम्पस रित्तिएका छन् । प्रमुख दलहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारी प्रमुख संगठक हुन् ।
यी विद्यार्थी संगठनलाई दलको नर्सरीका रुपमा हेरिन्छ । तर नर्सरी नै उजाडिएको वनझैं देखिएको छ । कारण एक त गाउँगाउँ पुगेका क्याम्पसको पढाइको स्तर । अर्को धमाधम विदेशको यात्रा । पढाइको मुख्य उद्देश्य हो रोजगारका लागि जनशक्तिको उत्पादन । तर देशमा रोजगारी सिर्जनाका लागि सरकारले कुनै योजना बनाएको देखिन्न ।
बहालवाला अर्थमन्त्री राजस्व उठाएर खर्च धान्न सकस परिसकेको बताउँछन् । युवा जनशक्ति भने कोही धमाधम खाडीतिर लागेका छन् भने कोही चर्को पैसा तिरेर युरोप, अमेरिकातिर । पढ्नका लागि बसेकाहरु पनि ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएर विदेश ताकिरहेका छन् । कलेज पढ्दापढ्दै ‘ड्रपआउट’ गर्दै उनीहरु विदेसिने क्रम तीव्र बनेको छ । कन्सल्टेन्सीको व्यापार र ठगीमा परेकाहरुको क्रन्दनबाट यो प्रस्ट देखिन्छ ।
यस्तो अवस्थामा दलहरुले जुन चुनावको प्रपञ्च रचेका छन् यो अचम्मलाग्दो छ । दलका शीर्ष नेता र मन्त्रीहरुले भाषणमा समृद्ध मुलुक र रोजगारीको वचन दिन्छन् । शिक्षाबाट आमुल परिवर्तन हुने तर्क पेस गर्छन् । यही कुरा सुन्दै राजनीतिको नर्सरीमा हुर्केका नौजवान विद्यार्थीले नेताहरुको यही भाषणको ‘क्यारिकेचर’ गर्ने हुन् । के यस्तो भाषणले अब देशको अवस्था सुध्रिएला ? पक्कै पनि सुध्रिन्न ।
यसका लागि क्याम्पसमा दलीय राजनीतिकरण बन्द हुनुपर्छ । विद्यार्थीलाई दल र राजनीतिको नर्सरी हैन, विकास, सुशासन, आविष्कारको नर्सरी बनाउनुपर्छ । यसो गरेमा मात्र समस्यामा गुज्रेको देशलाई अगाडि बढाउन सकिन्छ । नभए कसरी नेता बन्ने भन्ने तिकडमबाहेक केही हुने छैन ।