काठमाडौं - राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड दिँदै आन्दोलनरत शिक्षकको माग पूरा गर्न सरकारको ध्यानआकर्षण गराएका छन् ।
राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद शर्माले शिक्षकको आन्दोलनको माग सम्बोधन गर्नुपर्ने बताए । “शिक्षक आन्दोलनमा छन् । उनीहरु शिक्षक विधेयक संशोधनका लागि आन्दोलनरत छन् । ऐन परिवर्तन गर्न जरुरी छ,” सांसद शर्माले भने, “उच्च शिक्षा ऐन र विद्यालय शिक्षा ऐन तुरुन्त ल्याउनुपर्छ ।”
आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक कार्यान्वयन हुन नसकेको सांसद शर्माले बताए। गणतन्त्र कार्यन्वयनका लागि एकता जरुरी रहेको उनको भनाइ थियो । “आन्दोलनले मुलुकमा परिवर्तन ल्यायो । त्यही परिवर्तनले धर्मनिरपक्षेता, गणतन्त्र र सङ्घीयता लागू भए । हामीले स्थापित गरेका यिनै साझा विषयवस्तु कार्यान्वनय गर्ने कर्तव्य पनि हाम्रो नै हो,” उनले भने।
यसैगरी विषेश समयमा सांसद तुलसाकुमारी दाहालले युद्धरत मुलुकमा श्रममा जान अनुमति दिन नहुनेमा जोड दिए । “रोजगारी प्राप्त गर्नेभन्दा पनि बाँच्न पाउने अधिकार ठूलो हो । वैदेशिक रोजगारीमा जाँदा युद्ध नचेलेको देशमा जानका लागि मात्रै अनुमति दिनुपर्छ,” उनले भने, “वैदेशिक रोजगारीमा जाने श्रमिकले पठाएका रेमिटेन्सको उचित सदुपयोग गर्नुपर्छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ती श्रमिकलाई आवद्ध गराउन जरुरी छ ।”
कुन देशमा कति श्रमिक रहेको भन्ने कुरा लेखाजोखा गर्न आवश्यक रहेको सांसद दाहालको भनाइ थियो । अर्थतन्त्र चलायमान बनाउँदै मुलुकमा नै रोजगारीको वातावरण तय गर्नुपर्ने र प्राविधिक शिक्षा प्रवद्र्धन गर्नुपर्ने, कृषि, पर्यटन क्षेत्रको पहिचान गरेर रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिए ।