काठमाडौं - नेपाल व्यायाम मन्दिरको आयोजनामा यसै सातादेखि १७औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । यही चैत ७ देखि ९ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे ।
आयोजक संस्थाका अध्यक्ष नारायण प्रधानका अनुसार प्रतियोगिताको मुख्य विधा अर्थात् पुरुष बडिबिल्डिङको रुपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० किलोमाथिको तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि हरेक तौल समूहको विजेताबीच ‘मिस्टर धर्मश्री’का लागि प्रतिस्पर्धा गराइनेछ ।
धर्मश्रीसँगै पुरुष एथ्लेटिक्स फिजिक ओभर, मेन्स एथ्लेटिक्स फिजिक अन्डर, महिला बडिबिल्डिङ र ५० वर्षभन्दा माथिको खुला मास्टर विधामा पनि प्रतिस्पर्धा हुनेछ । धर्मश्री विजेता खेलाडीले रु १२ लाख, त्यस्तै दोस्रो हुनेले रु ६ लाख तथा तेस्रो हुने खेलाडीले रु तीन लाख पुरस्कार पाउनेछन् । त्यसैगरी चौथो हुनेले रु दुई लाख, पाँचौँले रु एक लाख ८० हजार र छैटाँै हुने खेलाडीले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।
यसैगरी प्रत्येक तौल समूहका उपविजेताले रु ५० हजार, तेस्रो हुने खेलाडीले रु ४० हजार पाउने, चौथो हुने खेलाडीले रु ३० हजार, पाँचौँले रु २० हजार र छैटौँ हुने खेलाडीले रु १५ हजार प्राप्त गर्नेछन् । त्यस्तै पुरुष एथ्लेटिक्स फिजिक ओभर र अन्डर तथा महिला बडिबिल्डिङको विजेताले समान जनही रु दुई लाख तथा उपविजेताले जनही रु एक लाख पाउनेछन् । त्यस्तै तेस्रोले रु ७० हजार, चौथोले रु ५० हजार, पाँचौँले रु ४० हजार तथा छैटौँ हुने खेलाडीले रु ३० हजार प्राप्त गर्नेछन् ।
पचास वर्षभन्दा माथिको उमेरतर्फ खुला मास्टर विजेताले भने रु एक लाख पाउनेछन् । दोस्रोले रु ५० हजार, तेस्रोले रु ३० हजार, चौथोले रु २५ हजार, पाँचाँैले रु १५ हजार र छैटौँ हुने खेलाडीले रु १० हजार प्राप्त गर्नेछन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने उक्त प्रतियोगितामा करिब ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
–––