‘ऊ त विशिष्ट अरे ! त्यही भएर उसलाई आर्यघाट लगेर खरानी नबनाउञ्जेल राज्यको ढुकुटीबाट खर्च गर्ने रे,’ मेरो कुरा सुनेर किरण काका खित्का छाड्दै हाँसे । उनीसँग थिए उनका सुपुत्र गणेश । पल्लो कुनामा रहेको बढेमानको टेबलमा ल्यापटपमा हिसाव गर्दै थिए भन्दै थिए, ‘हैन कति चाहिँ चाहिने हो ? जति भए पनि नपुग्ने ।’
सोफामाथि खुट्टा बाँधेर बसेका किरण काकाले बत्तीस दन्त देखाउँदै खित्का छाडे । ‘खाउन् हो खाउन् । दुनियाँले खाकै छन् । ती विचरा त्यही खानकै लागि त गाका हुन् ।’ विशिष्ट भई टोपलेका छन् । विचराहरुलाई खान दिउँ । हामी तिरिहाल्छौं नि कर । उता गणेश के हिसाव मिलेन र हो दुवै हातले टाउको समाउँदै भन्दै थियो, ‘चोरहरु, हामीलाई यहाँ यस्तो तनाव छ ‘शून्य’ व्यापार हुँदा पनि कर मज्जाले तिर्नुपर्ने ? ५० ठाउँमा यो र त्यो भन्दै कर तिर्ने हामी राज्यको ढुकुटी रित्याउने तिनीहरु ।’
छोरोको कुरा सुनेर किरण काकाले दुवै खुट्टा सोफाबाट झारे । शिरमा लगाएको ढाकाको टोपी अलि मिलाएर लगाए । मुसुमुस हाँसिमात्र रहे । मानौं यी पूर्व विशिष्टेहरुले सुविधा पाउँदा आफैंले पाउँछु जस्तै गरे । अनि मैले भनें, ‘खासमा कुरा के हो भने यिनीहरुले पदमा बस्दा पनि ढुकुटी रित्याए । नजिकका आसेपासेमार्फत ठेक्कापट्टा भन्दै धन्दा मच्चाए । अब फेरि यिनलाई नै चाहिएको छ सुविधा ।’उता गणेश मेरो कुरामा सहमत जनाउँदै हो हो भन्दै थियो । तर किरण काकालाई मेरो कुरा चित्त बुझेन छ क्यारे । त्यही भएर यो देश बिगार्नेमा सबैभन्दा दोषी भने कर्मचारीतन्त्र हो । नेतालाई कमिसन खान सिकाउने नै तिनै हुन् । नेतालाई मात्र दोष दिएर के हुन्छ र ?
मैले भनें, ‘त्यो होइन कसले भन्यो र ?’नेतालाई कमिसन खान सिकाउने उच्च तहका कर्मचारीलाई जागिर खाएबापत तलव, काम गरेबापत भत्ता, हरेक दिन बैठक बसेको बेग्लै भत्ता, सवारी, इन्धन, दैनिक उपभोग्य सामग्री सवै सुविधा लिएर पनि चाहिएको छ हरेक फाइलमा कमिसन ? कसरी देश बन्छ ? किरण काकालाई बल्ल चित्त बुझेछ र भन्न थाले, ‘हो त्यही भएर मैले भनेको विदेशमा जस्तै काम गरुञ्जेल सुविधा, काम सकिएपछि बिदा ।’
उता गणेशले हाँस्दै भन्यो, ‘के मान्थे, पाइलापाइलामा खान पल्केकाहरु । बरु कुन कानुन मिलाएर थप के–के पाइन्छ भन्छन् । ‘यिनीहरुलाई विशिष्ट बनाएका त जनताले हो नि । जनता कंगाल यिनीहरुचाहिँ मालामाल कसरी ?,’ मैले किरण काकालाई सोधें ? सेवा गर्न भनेर आएकाहरुले सेवा नै गर्नुप¥यो नि । जुन दिनसम्म पदमा बहाल रहन्छ त्यो दिनसम्म मात्र राज्यले जे–जे दिनुपर्ने हो दिने त्यसपछि केही पनि नदिने व्यवस्था गर्नुपर्छ ।
काकाले भने, ‘त्यसका लागि तिमी नै नेतृत्वमा पुग्नुपर्छ । अनि भएका सुविधाभोगी कानुन खारेज गर्न सक्नुपर्छ । तर त्यो पनि कहाँ सजिलो छ र ? खाइपाइ आएको कसैले कटौती गर्न दिन्छ ?’‘गाह्रो छ हो गाह्रो,’ गणेशले लामो सास फेरेर भन्यो ।‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अन्त कतै पाइँदैन नेपालमै छुट’ भन्ने गीतजस्तै भयो अहिले त । पाइलापाइलामा लुट ! भोलिका सन्ततिले के पाउँलान् हो अब ।
काकाले खित्का छाडे, ‘भोलिका सन्तति के भन्या ? को बोल्या ?’ अब सकियो सन्तति, जो हाम्रो पुस्ता बस्यौं बस्यौं । अब अरु बस्नेवाला छैनन् । हुनेखाने युरोप अमेरिका, अलि कम भएकाहरु कोरिया, जापान त्यसपछिको कतार, दुबई जान्छन् । बूढा पुस्तामात्र हो यहाँ बस्ने । अबको इतिहासमा त बूढाहरु मात्र बस्ने देशका रुपमा रुपान्तरण हुँदै छ । बूढा नेताहरुले गर्दा ।
गणेशले उता ल्यापटपको ढकनी बन्द ग¥यो । ‘के बूढा नेताले गर्दामात्र भन्नुहुन्छ । युवा नेताहरुका पनि चाला देखियो त । जसरी हुन्छ लुट्नमा नै मस्त । कुरा एकातिर काम अर्कोतिर ! कसैले छोड्नेवाला छैनन है बाबा यहाँ ।’‘अब तिमीजस्ता युवाहरुले पनि यस्तै भन्ने हो भने के होला त ?,’ मैले गणेशलाई सोधें । उसले जवाफ दियो, ‘सकेसम्म यही गर्ने केही सीप नलागे घरखेत बेच्ने विदेश भासिने ? क्लियर छ त अंकल !
मैले मनमनै सोचें– हुन पनि हो नि, अधिकांश विदेश जाने युवा पुस्ताले यहाँका घरघडेरी बेच्न लगाएका छन् । युरोप अमेरिकामा नै पुस्तान्तरण गर्न थालिसकेका छन् । देश त उही गरिबका छोराहरुले दुबई, कतार, साउदीबाट पठाएको रेमिट्यान्सले चलेको छ त । अनि त्यही रेमिट्यान्स र विश्व बैंकले दिएको ऋणबाट आफूलाई विशिष्ट भन्दै कात्रो नओडुञ्जेलसम्म सुविधा खोजेको हो त । रामै गरेछन् ।
एकैछिन् म टोलाएँ । किरण काकाले खित्का छाड्दै हाँसेर भने, ‘किन टोलाएको, के भो ? त्यो सुविधा चाहियो कि क्या हो ?’‘अहँऽ चाहिएन । पसिनाको कमाइमात्र मज्जाले पच्छ, अर्काको रगतको कमाइले खरानी नहुञ्जेलसम्म मोज गर्ने त नर्कमा पर्छ,’ मैले फ्याट्ट मुख खोलें ।पुस्तौं पुस्तासम्म सत्ताको नजिक बसेर जनताको रगत पसिनामा रसस्वाद गर्नेहरुलाई कुनै हालतमा पनि सुविधा दिनु हुँदै हुँदैन । बहाल हुञ्जेल खाऊ, पद सकिएपछि जसरी घरबाट आको त्यसैगरी जाऊ । लौ है गणेश तिमीहरु जाग्नुप¥यो अब ।
गणेश अलि विरक्तिदो पारामा पुग्यो । ‘खै के होला ?’
‘हुन्छ । अब गर्ने भनेकै युवाहरुले हो । जोश जाँगर निकाल्ने, अगाडि बढ्ने । पछाडि त फर्केर पनि नहेर्ने । बढेपछि अगाडि बढ्योबढ्यो,’ मैले ऊर्जा थपिदिएँ ।गणेशले भन्यो, ‘ल बाबा के गर्दा ठीक हुन्छ त ? यो पूर्वविशिष्ट भन्दै राज्यको ढुकुटी रित्याउने कामको अन्त्य हुनैपर्छ । राजा हुन् कि रैती पूर्व हुन् कि पश्चिम कसैलाई पनि पद सकिएसँगै कुनै पनि सुविधा नदिने कानुन चाहियो ।’
‘ठीक हो बाबु, ‘अब तिमीहरुले आजैबाट आ–आफ्नो पेसा र कर्मबाट अभियान सुरु गर । हामी हाम्रो तर्फबाट गछौं । मुलुकलाई टाट पल्टिनेगरी केही सीमित व्यक्तिहरुको हातमा राज्यको ढुकुटी सुम्पनु भावी पुस्ताका लागि निकै घातक हुन्छ ।’किरण काका सोफाबाट जुरुक्क उठे र भने, ‘हो अब यी सुविधाभोगी चैतहरुलाई सुविधा दिने कुरा यही चैतमा नै अन्त्य गरौं ।’