- टेकबहादुर तामाङ र सुदीप गिरीलाई पन्छाउँदै थापा महानिरीक्षक नियुक्त
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा एआइजीमा बढुवा भएका थापा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको विश्वास जित्दै प्रहरी संगठनको नेतृत्वमा
- प्रतिस्पर्धामा पहिलो नम्बरमा रहेका थापाको नियुक्ति विवादरहित हुने दाबी
काठमाडौं– नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजी)मा दिपक थापा नियुक्त भएका छन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई आइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
अतिरिक्त महानिरीक्षकद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थापाका प्रतिस्पर्धी थिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको प्रिय पात्र बन्दा थापा ३१औं महानिरीक्षक भए । थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशकको जिम्मेवारी थिए ।
प्रहरी महानिरीक्षक (आइजी) वसन्तबहादुर कुँवर आज (मंगलबार)देखि अनिवार्य अवकाशमा जाँदै छन् । कुँवरको अवकाशपछि रिक्त पदमा थापाको नियुक्ति भएको हो । आइजीको दौडमा रहेका गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख र तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख थिए ।
तीनै जना प्रहरी निरीक्षकमा १९ भदौ २०५२ मा भर्ना भएका थिए । तर, एआइजीमा भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला थापालाई बढुवा गरिएको थियो । उनको बढुवालाई लिएर त्यसबेलै भावी आइजीको तयारीको रूपमा हेरिएको थियो । प्रहरी संगठनभित्र भने थापाको अकस्मात् बढुवालाई लिएर असन्तुष्टि उत्पन्न भएको थियो । तर, थापाले पछिल्लो समय एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको पनि विश्वास जितेका थिए । परिणामतः उनी आइजी नियुक्त भए । थापा आइजी २०८२ भदौ १९ गतेसम्म सेवामा रहने छन् ।
त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने छन् । तर ३० वर्षे हट्नेगरी ल्याइएको विधेयक संसद्बाट पारित भएमा सेवा अवधि थप हुन सक्ने छ । विधेयक संसद्मा विचाराधीन छ । थापाले यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र एआइजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुखका रूपमा काम गरिरहेका थिए । प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको इञ्चार्ज भएर काम गरेका थिए ।
नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र प्रहरी प्रधान कार्यालयको कर्मचारी शाखामा रहेर काम गरेको थिए ।त्यसपछि प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका थापाले विभिन्न युनिट सम्हालेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगञ्जमा थापाले कमाण्ड सम्हाले । डिएसपी भएकै बेला इलाका प्रहरी कार्यालय बुटवल, हेडक्वार्टरको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र मकवानपुरमा पनि काम गरेका थिए । प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवल काम गरेका उनी चितवनको प्रहरी प्रमुख बने ।
प्रहरी प्रधान कार्यालयको बजेट शाखामा पनि उनले काम गर्ने मौका पाए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएपछि आर्थिक प्रशासन महाशाखा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बने । त्यसपछि वृत्ति विकास महाशाखा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा काम गरे ।प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएपछि उनी प्रबन्ध निर्देशनालयमा पदस्थापन भए । उनले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पनि सम्हाले । छोटो समयमै एआइजी बनेपछि सबैभन्दा आकर्षक कार्यालयमा थापाले भूमिका पाए । थापा पछिल्ला हरेक सरकारका रोजाइमा पर्दा छानीछानी पोस्टिङ पाउन सफल भएका थिए ।
तर, सिआइबीमा रहँदा थापाले बालमन्दिरको सरकारी जग्गा प्रकरणमा मुद्दा नचल्ने गरी फाइल अघि बढाए । यो प्रकरणले उनी विवादित भए । भूमाफियाहरूलाई जोगाएको आरोपको सामना उनले गर्नुप¥यो । त्यसले गर्दा थापा विवादित छविका प्रहरी अधिकृत पनि हुन् । बालमन्दिर प्रकरणमा कांग्रेस र एमालेका केही नेता जोडिएका थिए । स्रोतका अनुसार त्यसरी मुद्दा नचल्ने गरी थापाले फाइल अघि बढाउँदा उनीसँग ओली र देउवा खुसी भएका थिए । अन्ततः उनले आइजी हुने मौका पाए । तामाङ र गिरी भने विवादित थिएनन् । तामाङ एमालेनिकट मानिन्थे । गिरी भने कांग्रेसनिकट हुन् ।
आइजी कुँवरको बिदाइ
आजदेखि अनिवार्य अवकाशमा जाने प्रहरी महानिरीक्षक (आइजी) वसन्तबहादुर कुँवरको बिदाइ गरिएको छ । उनकै ब्याचमेटहरू एआइजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा गएका छन् । भट्टराई गत १३ फागुनमा एआइजी बनेका हुन् । त्यस्तै डिआइजी ध्रुव राउत, भोला रावल र गणेश चन्दले पनि अवकाश पाएका छन् ।