- राजावादीको आन्दोलनलाई देखाउँदै नयाँ सत्ता समीकरण बनाउने माओवादीको कसरत
- कांग्रेस र एमाले दुवै दलका नेतृत्वसँग छलफलमा माओवादी अध्यक्ष दाहाल
- एमाले–माओवादीको संयुक्त सरकारमा चीनको चाहना, भारतको चाहना भने कांग्रेस–माओवादी गठबन्धनतर्फ
- परराष्ट्रमन्त्री आरजु राणाको दिल्ली भ्रमण सत्ता परिवर्तनको खेलको संकेत भएको आशंका
काठमाडौं– संविधान संशोधन अति आवश्यक भन्दै बनेको कांग्रेस र एमालेको संयुक्त सरकारले आठ महिना नपुग्दै फेरि सरकार फेर्ने चलखेल सुरु भएको छ । राजावादीको आन्दोलनलाई देखाउँदै नेपाली कांग्रेस र नेकपा एमालेको तालमेल फुटाउने प्रयासमा विभिन्न समूह लागेको बताइएको छ ।
हुन त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिपक्षमा पुगेदेखि नै ‘यो सरकार अहिल्यै ढल्छ’ भनेर भाषण गर्न थालेको धेरै भइसक्यो । यद्यपि यसपटक भने राजावादी, विभिन्न समूहको आन्दोलनलाई देखाएर सरकार परिवर्तनको वातावरण बनेको बताइन्छ । यसका लागि उत्तरी छिमेक चीन र दक्षिण छिमेक भारत आफू सुहाउँदो सरकार बनाउन लागिपरेको दाबी पनि राजनीतिक वृत्तमा छ ।
एक हप्तायता परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्लीमा छिन् । उनी आज काठमाडौं फर्कने कार्यक्रम रहेको छ । आरजुको दिल्ली बसाइलाई सत्ता परिवर्तनको खेलको संकेतका रुपमासमेत हेरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग कांग्रेसको संस्थापनइतर रुष्ट सुनिन्छ । कांग्रेस महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला जसरी हुन्छ यो सरकार परिवर्तन गर्ने कोर्समा लागेका छन् । कांग्रेस नेता डा. शेखर कोइराला राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अडानमा देखिँदा माओवादीले यो मुद्दालाई क्यास गर्न खोजेको देखिन्छ ।
माओवादी सांसद लेखनाथ दाहालले आइतबार सदनबाट बाहिरिँदा भनेका थिए– राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी प्रारम्भिक छलफल सुरु भएको छ । विशेषगरी कांग्रेससँग यो विषयमा छलफल सुरु भएको हो ।
सोही दिन प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिले माओवादी अध्यक्ष दाहालले यही विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो कुराकानी गरेको भन्दै मिडियाहरुलाई सूचना बाँडे ।
उक्त सूचनामा दाहालले देउवा भैरहवामा पार्टीको प्रशिक्षण विभागको कार्यक्रममा पुग्दा सत्ता परिवर्तनबारे लामो कुराकानी भएको बताइएको थियो । ‘एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमतिको सरकारको नाममा कांग्रेस र माओवादीले सरकार बनाउन लागेको हो,’ प्रधानमन्त्री ओलीको सचिवालयले खटाएको ती व्यक्तिले भनेका थिए ।
सरकारमा कांग्रेसको चर्को पेलान सहिरहेको एमाले अहिले कसरी हुन्छ माओवादीसँग मिलेर सरकार बनाउने चाहनामा लागेकोले यो सूचना बाँडेको बताइन्छ । यता माओवादी भने जसरी हुन्छ यो सत्ता समीकरण भत्काएर एमालेसँग होस् या कांग्रेससँग, मिलेर सरकारमा जाने चाहनामा देखिन्छ ।राजावादीले आन्दोलन चर्र्काएको बेला सत्तारुढ दल एमाले ‘डिफेन्स’मा उत्रिए पनि कांग्रेस मौन छ । यसैले पनि एमालेलाई खुसी पार्न माओवादी अध्यक्ष दाहालले शुक्रबार मेलम्ची पुगेर पूर्वराजाको चर्को आलोचना गरेका थिए । ओलीलाई खुसी पार्न दाहालले यस्तो मन्तव्य दिएको राजनीतिक वृत्तमा चर्चामा छ ।
‘बेमौसमी बाजा’ बजाएको आरोप
राष्ट्रिय सहमतिको सरकारको नाममा नेकपा माओवादी केन्द्रले बेमौसमी बाजा बजाएको सत्तारुढ दलको दाबी छ । यही विषयले राजनीति तरंगित बनाएपछि नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको थियो । बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यो एकदमै बेमौसमी विषय हो । यो विषयमा हामी प्रवेश गरेनौं । यस्तो बेलामा पनि भागबण्डा खोज्ने भनेकोचाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भ¥याङ बनाउन खोज्या हो ?’
यता कांग्रेस सचेतक सुशीला थिङले पनि राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे कुनै छलफल नभएको दाबी गरिन् । ‘यस विषयमा कुनै कुराकानी भएको छैन,’ थिङले भनिन् ।यता माओवादी अध्यक्ष दाहालसँग एमाले नेता अग्नि खरेलले भेटेर गणतन्त्र पक्षधरहरु मिलेर सरकार बनाउने विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले पनि पछिल्लोपटक ओलीसँग भेटघाट बाक्लो बनाएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ । दाहाल राजावादीको आन्दोलनलाई भ¥याङ बनाएर जसरी पनि सरकार फुटाउने दाउमा लागेको नेताहरु बताउँछन् ।तर माओवादी अध्यक्ष दाहालका स्वकीयसचिव गोविन्द आचार्यले माओवादी सरकारमा जान लागेको भन्नु हल्लामात्र भएको दाबी गर्छन् । ‘सरकारमा जान लागेको विषय हल्ला हो । अहिले हामी चैत १५ गतेको जनसभाको तयारीका लागि जुटेका छौं,’ आचार्यले भने ।