- नवराज सुवेदी नेतृत्वको आन्दोलनबाट अलग्गियो राप्रपा
- आफ्नो पूर्वघोषित आन्दोलनलाई अगाडि बढाउने निर्णय
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहसँग जीवनको उत्तराद्र्धमा तेस्रोपटक गद्दीमा आसीन हुने हुटहुटी छ । श्रीपेच फेरि लगाउने असम्भवप्रायः सपना उनमा देखिन्छ । त्यसका लागि राजावादीहरूलाई सडकमा ओराल्दै छन् । विगतमा चिसो सम्बन्ध रहेको पूर्वपञ्च नवराज सुवेदीको काँधमा आफूलाई राजाका रूपमा गद्दीसीन गराउने जिम्मा सुम्पिएका छन् । जिम्मेवारी बहन गर्न वृद्ध नेता सुवेदीले स्वीकारे । उनैले तेस्रो जनआन्दोलन घोषणा गरिसके ।
संसद्मा राजतन्त्र फर्काउने एजेण्डाधारी दल राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्रै हो । तर, शाहले लिङ्देनलाई विश्वास गरेनन् । वृद्ध नेता सुवेदीसँग भने भरोसा गरे । यसपछि लिङ्देनले पनि जनआन्दोलन परिचालन समितिमा नरहने बताए । मंगलबार पार्टीको कार्यसम्पादन समिति बैठक बसाएर उनले पूर्वघोषित आन्दोलनका कार्यक्रम गर्ने निर्णय लिए ।
निर्णयअनुसार राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना, प्रदेश संरचनाको खारेजीलगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा घोषणा भएका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । ‘आन्दोलन परिचालन मूल समितिको बैठकबाट आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ । राप्रपाले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरू आन्दोलन केन्द्रित गर्ने निर्णय लिएको छ,’ प्रवक्ता मोहन श्रेष्ठले मंगलबार प्रभावसँग भने ।
यो निर्णयसँगै राप्रपा सुवेदीले हाँक्ने तेस्रो जनआन्दोलनमा नहुने भएको छ । अलग्गै आन्दोलनमा जाने भएको छ । यस्तो अवस्थामा आन्दोलन त्यसै कमजोर हुने टिप्पणी हुन थालेको छ । राप्रपाका एक पदाधिकारीका अनुसार पूर्वराजा ज्ञानेन्द्रले सडक र सदनबाट राजा फर्काउने अभियानमा वर्षौंदेखि लागेको राप्रपालाई अविश्वास गर्नु राजतन्त्रप्रतिको राप्रपाको प्रतिबद्धतामै प्रश्न उठ्ने विषय हो । उनले शाहको यस्तो गतिविधिले राप्रपालाई आन्दोलनबाट टाढै राख्ने पनि बताए । ‘गणतन्त्रवादीहरूसँग लड्ने हामी, भिड्ने हामी, राजतन्त्र पुनःस्थापनाको आवाज गुञ्जयमान बनाउने हामी तर अहिले नेतृत्वचाहिँ उहाँ (नवराज सुवेदी)लाई दिनु कुन कोणबाट ठीक हुन्छ ?,’ ती नेताले बताए ।
राजा ल्याउने भन्दै राप्रपाले यसअघि गठन गरेको केन्द्रीय आन्दोलन परिचालन समिति महामन्त्री डा. धवलशमशेर जबराको नेतृत्वमा छ । समितिको नेतृत्वमा यसअघि धनगढीसहित केही स्थानमा प्रदर्शन भए । २५ फागुनमा पूर्वराजा शाह पोखराबाट काठमाडौं आउने भएपछि राप्रपाले आन्दोलन स्थगित गरेको थियो । मंगलबारको बैठकसँगै राप्रपा अलग्गै आन्दोलन गर्ने निर्णयमा पुगेको हो ।
अर्थराजनीतिक विश्लेषक हरि रोका राजावादीको आन्दोलन ढिसमिसको अवस्थामा पुगेको बताउँछन् । ‘आन्दोलन परिचालन समिति र सल्लाहकार समितिमा ज–जसलाई राखियो, धमाधम बस्दिनँ भनिरहेका छन् । यो भनेको आन्दोलन एक तरिकाले विसर्जनउन्मुख जस्तै हो,’ उनले भने ।
गत सात फागुनमा पूर्वराजा शाहले देश संकटमा रहेको भन्दै एकपटक साथ दिन देशवासीलाई आह्वान गरेका थिए । त्यसपछि राजावादीहरूको माहोल सडकमा ओर्लिनेसम्मको भयो । तर, उनले चाहेजस्तो सजिलो राजतन्त्र पुनःस्थापना गर्ने छैन । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार राजावादीहरूलाई गणतन्त्रको उदारतालाई कमजोरी नठान्न र राजतन्त्रको कलाविहीन नाटक मञ्चन नगर्न चेतावनी दिइसकेका छन् । उनले गणतन्त्र आउनुमा भिलेनकै रूपमा भए पनि ज्ञानेन्द्रको भूमिका रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले वंशगत शासन प्रणाली मानिने राजतन्त्र पुनःस्थापनाको माग हास्यास्पद रहेको टिप्पणी गरेको छ । यस्तो अवस्थामा मूल राजावादी शक्ति राप्रपा नै राजावादीहरूको आन्दोलनबाट टाढा देखिने भएको छ । पूर्वपञ्च केशरबहादुर विष्ट आन्दोलनमै नदेखिने भएका छन् । यसले आन्दोलनको गर्भमै राजावादीहरूको दुईतिर फर्काइ देखिएको छ । ज्ञानेन्द्रको राजा हुने उत्कट चाहनामा राजावादीहरूको यस्तो गतिविधिले तुषारापात हुने विश्लेषकहरुको भनाइ छ ।