काठमाडौं– युरोपेली मुलुकबाट आउने मागपत्र प्रमाणीकरणमा रहेको समस्या नहट्दा कामदार पठाउन सकस बेहोर्नुपरेको वैदेशिक रोजगार व्यवसायीहरुले बताउँदै आएका छन् । व्यवसायीहरुको भनाइलाई पुष्टि गर्ने आधारको रुपमा पछिल्लो महिनाको तथ्यांक बाहिर आएको छ ।
गत फागुन महिनामा वैदेशिक रोजगार व्यवसायीले दुईवटा मात्र युरोपेली मुलुकमा कामदार पठाएको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकमा उक्त महिना म्यानपावर कम्पनीमार्फत साइप्रस र बेलायतमा मात्र श्रमिक गएको देखिएको हो । यद्यपि, बेलायत अहिले युरोपेली संघमा छैन ।
फागुनमा म्यानपावरमार्फत ७१९ जना रोजगारीका लागि साइप्रस पुगेका छन् । जसमध्ये २२५ जना पुरुष र ४८४ जना महिला रहेका छन् । बेलायतमा भने एक जना पुरुषमात्र गएको तथ्यांक छ । मागपत्र प्रमाणीकरणको समस्या नहटेका कारण युरोपमा कामदार पठाउन नसकिएको व्यवसायीहरु बताउँछन् ।
नेपाली श्रमिकलाई खाडीको तातो घामबाट युरोप सिफ्ट गर्न सके बढी सुरक्षित हुने र व्यवसायको दायरा पनि बढ्ने भनेर मागपत्र प्रमाणीकरणको विषय उठाउँदै आए पनि सरकारले त्यसतर्फ ध्यान नदिँदा यो परिणाम देखिएको एक व्यवसायीले बताए । यहीबीच व्यक्तिगत श्रम स्वीकृति लिएर एक जना साइप्रस र ६५ जना बेलायत गएका विभागको तथ्यांकमा देखिन्छ ।
फागुनमा ६९ हजार श्रमशक्ति विदेसिए
फागुन महिनामा ६८ हजार ९६३ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् । यो उक्त महिना संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिनेहरुको तथ्यांक हो । विगत केही महिनाजस्तै गत महिना पनि खाडीका पाँच देश नै प्रमुख श्रम गन्तव्य बनेका छन् ।
फागुनमा संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर सबैभन्दा बढी २५ हजार ११७ जना संयुक्त अबर इमिरेट्स (युएई) गएका छन् । दोस्रोमा रहेको साउदीमा जान श्रम स्वीकृति लिने ११ हजार ६३३ जना रहेका छन् । त्यसैगरी तेस्रोमा रहेको कतारमा १० हजार ३३१, चौथो बनेको कुवेतमा चार हजार २१७ र पाँचौं मलेसियामा तीन हजार ७१५ जना श्रमिक रोजगारीको खोजीमा पुगेका छन् । करिब एक वर्षयता मलेसिया बन्द रहेकाले अधिकांश पुनः श्रम स्वीकृति लिएर गएका हुन् । मलेसियामा पुनः श्रम स्वीकृति लिएर जानेको संख्या तीन हजार ५५६ जना रहेका छन् ।
गत मंसिरयता यी नै पाँच मुलुकमा धेरै श्रमिक गएको तथ्यांक छ । त्यसअघि साउनदेखि कात्तिकसम्म रोमानियाले मलेसियाको स्थान लिएको थियो । फागुनमा विश्वका १०२ वटा मुलुकमा विभिन्न माध्यमबाट श्रमिकहरु रोजगारीका लागि गएका छन् । चालु आर्थिक वर्षको अन्य महिनामा १६ देखि १७ वटा देशमा श्रमिक पठाउँदै आएका व्यवसायीले फागुनमा भने सबैभन्दा कम १४ वटा देशमा मात्र पठाएको देखिन्छ ।
उक्त महिना संस्थागत माध्यमबाट ३० हजार १२७ जना वैदेशिक रोजगारीमा गएको देखिएको छ । खाडी, मलेसिया र युरोपका दुई देशबाहेक अफ्रिकी मुलुक मरिससमा २५० जना र एसियाली मुलुकहरु मकाउमा आठ, जोर्डनमा ६२, जापानमा १०० र माल्दिभ्समा १० जना श्रमिक संस्थागत माध्यमबाट रोजगारीका लागि गएका छन् । अघिल्ला महिनाहरुमा व्यवसायीले श्रमिक पठाउँदै आएका ब्रुनाई, रोमानिया, हङकङ, टर्कीलगायतका देशमा यस महिना भने श्रमिक गएको तथ्यांक छैन ।
व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको अवस्था
फागुनको तत्थांकअनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर ८९ वटा देशमा १० हजार ४२८ जना गएका छन् । यसको ३५ प्रतिशतभन्दा बढी अर्थात् तीन हजार ७२८ जना खाडी र मलेसिया गएका हुन् । बाँकी अन्य मुलुक गएका छन् । व्यक्तिगत तवरबाट यूएईमा एक हजार ९३५, जापानमा एक हजार ४९०, रोमानियामा एक हजार ४०८, कतारमा एक हजार २४७ र क्रोएसियामा ९५२ जना गएको तथ्यांक छ । १४ वटा देशमा १०० जनाभन्दा बढी गएका छन् । ३० वटा देशमा एक जना, आठवटा देशमा दुई जना, तीन वटा देशमा तीन जनामात्र गएका छन् ।
यसअघि साउनमा ८६ वटा देशमा १० हजार ७५३ जना, भदौमा ८७ देशमा ९२६ जना, असोजमा ८६ देशमा आठ हजार ९३८ जना, कात्तिकमा ८३ देशमा १२ हजार ५९८ जना, मंसिरमा ८८ देशमा १३ हजार ५९ जना, पुसमा ८९ देशमा १० हजार ८५ जना र माघमा ८६ देशमा नौ हजार ७१५ जना श्रमिक व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी मंसिरमा र सबैभन्दा कम असोजमा व्यक्तिगत श्रम स्वीकृति लिएर विदेसिएको देखिन्छ । व्यक्तिगत श्रम स्वीकृति लिएर सबैभन्दा बढी श्रमिक युएई, जापान र क्रोएसिया गएको तथ्यांकले देखाएको छ ।
जिटुजीमार्फत कति गए ?
चालु आर्थिक वर्षको आठ महिनामध्ये जिटुजी अन्तर्गतको इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जानेको संख्या सबैभन्दा धेरै फागुनमा रहेको छ । गत महिना एक हजार ६८१ जना कोरिया गएका हुन् । यसअघि साउनमा ६६८ जना, भदौमा एक हजार तीन जना, असोजमा ८४० जना, कात्तिकमा ६७० जना, मंसिरमा ९७९ जना, पुसमा ६५४ र माघमा एक हजार १६ जना इपिएस प्रणालीमार्फत कोरिया गएका थिए ।यसैगरी इजरायल सरकारले गत फागुनदेखि घरेलु श्रमिक लैजान सुरु गरेको छ । फागुनमा २०९ जना इजरायल गएका छन् । जसमध्ये ७३ पुरुष र १३६ जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।