आजसम्म पाउनुभएको थियो सिमेन्ट । १२ घण्टा लोडसेडिङ हुने भए अब त्यो पनि पाउनुहुन्न । मूल्य अझ बढ्न सक्छ । डिजेलबाट चलाउन परे ६०–७० रुपैयाँ बढ्न सक्छ । हामीलाई यसरी पटक–पटक किन छलफलमा बोलाउनुभयो ? हामीले हाम्रो उद्योग चलाउनु पर्छ । हामी अब आउँदैनौं ।
ध्रुव थापा
सिमेन्ट उत्पादक
काठमाडौं– संसद्को उद्योग समितिमा उद्योगीहरुले उद्योगमा लोडसेडिङ हुन थालेको भन्दै सिमेन्टमा अझै मूल्य बढाउने चेतावनी दिएका छन् । उद्योगीले ‘कार्टेलिङ’ गरेर सिमेन्टको मूल्य बढाएको गुनासो बढेपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मंगलबार उद्योगीलाई समितिमा डाकेको थियो ।
उक्त बैठकको सुरुमै उद्योगीलाई दुःख दिने नियतले बारम्बार बोलाएको भन्दै सिमेन्ट उद्योगी ध्रुव थापाले अक्रोश पोखे । ‘हामीलाई यसरी पटक–पटक किन छलफलमा बोलाउनुभयो ? हामीले हाम्रो उद्योग चलाउनुपर्छ । हामी अब आउँदैनौं,’ थापाले असन्तुष्टि जनाए । त्यसपछि सांसदहरु पनि आक्रोशित बने । सांसद रणेन्द्र बराइलीले थापाको धम्कीपूर्ण भाषा समितिलाई मान्य नहुने चेतावनी दिए । ‘ध्रुवजीको धम्कीपूर्ण भाषा मान्य छैन । तपाईंलाई घाटामा सिमेन्ट बेच्नुस् हामीले पनि भनेको होइन । कसको आडमा हो यस्तो धम्कीपूर्ण भाषा ?,’ बराइलीले प्रश्न गरे ।
तपाईंले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ । यो गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो । त्यही स्थितिमा हो भने हामीले पनि उद्योगीले यति ठग्यो भन्नुपर्ने हुन्छ । आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाउनुभएको छ । यो मान्य छैन । -सूर्यमान दोङ,सांसद
सांसद डोलप्रसाद अर्यालले पनि उद्योगीको बोल्ने शैली शोभनीय नभएको तर्क गरे । ‘सिमेन्ट उद्योगीको भाषा अलि भएन । तपाईंले जहाँ बोलाउनुभयो त्यहाँ आउँदिन भन्ने कुरा शोभनीय भएन,’ अर्यालले भने ।अर्का सांसद सूर्यमान दोङले उद्योगीले धम्की फिर्ता नलिए संसदीय समितिमा बसिरहन उचित नहुने बताए । ‘उद्योगीहरुले धम्की फिर्ता नलिने भए हामी यहाँ नबसौं ।
यहाँ बस्दैनौं । धम्की खानका लागि हामीले तपाईंलाई यहाँ बोलाएको होइन,’ दोङले भने ।सांसद रमा कोइराला पौडेलले बैठक कसले बोलाएको भनी प्रश्न गरिन् । ‘यो बैठक सभापतिले बोलाउनुभएको हो कि निर्माण व्यवसायीले ? सिमेन्ट उत्पादकको कुरा मान्य छैन । धम्की मान्य छैन,’ कोइरालाले भनिन् ।
मूल्य अझै बढ्ने उद्योगीको चेतावनी
उद्योगीले अवस्था यसैगरी अघि बढे मूल्य अझै बढ्ने चेतावनी दिए । ‘आजसम्म पाउनुभएको थियो सिमेन्ट । १२ घण्टा लोडसेडिङ हुने भए अब त्यो पनि पाउनुहुन्न । मूल्य अझ बढ्न सक्छ । डिजेलबाट चलाउन परे ६०–७० रुपैयाँ बढ्न सक्छ,’ सिमेन्ट उत्पादक थापाले भने ।
उद्योगी विष्णु न्यौपानेले अहिले लागत नै प्रतिबोरा ७० रुपैयाँसम्म बढेको दाबी गरे । ‘हामीले बढी विद्युत् मागेको होइन । डिमाण्ड चार्जले पनि लागत बढाइरहेको छ । सरकारले १०–१५ प्रतिशत नाफा सिमेन्टमा तोकेको हुन्छ । अधिकांश उद्योगले नोक्सान बेहोरेका छन् । बिजुलीमा २२ रुपैयाँ परेको छ युनिटको । अहिले लागत ७० रुपैयाँसम्म बढेको छ,’ न्यौपानेले भने ।
उद्योगीको उक्त दाबीको प्रतिवाद गर्दै सांसद दोङले आफ्नो कुरा लुकाउन लोडसेडिङलाई दोष दिनु आपत्तिजनक भएको बताए । विद्युत् प्राधिकरणको शुल्क नतिर्ने उल्टै समितिलाई चेतावनी दिने कुरा मान्य नहुने उनको भनाइ थियो । ‘तपाईंले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ । यो गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो । त्यही स्थितिमा हो भने हामीले पनि उद्योगीले यति ठग्यो भन्नुपर्ने हुन्छ,’ दोङले भने, ‘आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाउनुभएको छ । यो मान्य छैन ।’
एमाले सांसदहरुले भने सिमेन्ट र छडको मूल्य बढ्नुमा सरकारकै साथ रहेको आरोप लगाए । एमाले सांसद अमृतादेवी अग्रहरीले यसरी आमजनतालाई ठग्ने काम गर्न नहुने सुझाव दिइन् । ‘उद्योग मन्त्रालयले दोषीको भूमिका निभाइरहेको छ कि जस्तो लाग्यो । मन्त्रालयले नभनी बढाउन सक्छ ?,’ अग्रहरीले प्रश्न गरिन् । एमालेकै सांसद लक्ष्मी महतो कोइरीले मन्त्रीकै आडमा उद्योगीले मनपरि गरेको दाबी गरे । ‘अहंकार भएका सिमेन्ट उद्योगी छन् ।
उद्योगपतिजी म पनि इँटा भट्ट चलाएर आएको हो । तपाईंलाई पाठ सिक्ने मौका आयो । मन्त्रीको आडमा तपाईंहरु यस्तो हुनुभएको हो कि । तपाईंले पहिला आफ्नो भाषा सुधार्नुस्,’ कोइरीले भने ।निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बढाउँदा पनि सरकारले प्रोत्साहन गरिरहेको आरोप लगाए । ‘उत्पादन कटौती गरेर मूल्य बढाइएको छ । अनावश्यक अभाव गरिएको छ,’ सिंहले भने । यसले गर्दा निर्माण व्यवसायी मारमा परेको उनको भनाइ थियो । ‘हालै स्टिल उद्योगले मूल्य प्रतिकेजी ७६ बाट ९० बनाएको छ । यसको मारमा निर्माण व्यवसायी छन्,’ उनले भने, ‘मूल्यवृद्धि अविलम्ब खारेज गरी कार्टेलिङमा सहभागी उद्योगीलाई कारबाहीका लागि निर्देशन गर्न अनुरोध गर्दछौं ।’
अहिले हामी खुलाबजारमा छौं । वस्तुको मूल्य निर्धारण व्यवसायीले गर्छ । हामीले अवलम्बन गरेको कानुनी व्यवस्थाले यही भनेको छ । यद्यपि, सरकार र व्यवसायीबीच भएको सहमतिविपरीत कसैले मूल्य लिएको भए सरकार कारबाही गर्न तयार छ ।

दामोदर भण्डारी
मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
उद्योगमन्त्री भण्डारी उद्योगीकै पक्षमा
उद्योगमन्त्री दामोदर भण्डारीले भने उद्योगीकै पक्षमा आफू रहेको अभिव्यक्ति दिए । मन्त्री भण्डारीले उद्योगमा लोडसेडिङ जारी रहेको र यसको समाधानका लागि सरकार लागिरहेको दाबी गरे ।‘हिजो हामीले लोडसेडिङमुक्त भन्यौं तर आज पनि लोडसेडिङ छ । यो सरकारको कमजोरी हो । लोडसेडिङमुक्त गर्न सरकारले पहल गर्ने छ,’ मन्त्री भण्डारीले भने, ‘मूल्य बढेको विषय खोज्ने हो भने यसको अनेक कारण छन् । हाम्रो स्रोत साधनको बढी प्रयोग नै उचित हुन्छ ।
हेटौंडा र उदयपुर सिमेन्टले पनि बोरामा १५० रुपैयाँ घाटा खाएको छ । सरकार र व्यवसायीबीच भएको सहमतिविपरीत कसैले मूल्य लिएको भए सरकार कारबाही गर्न तयार छ । दुवै पक्षलाई मिलाएर लिनुपर्ने छ । उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’
खुलाबजारमा उद्योगीले नै मूल्य निर्धारण गर्ने उद्योगमन्त्रीको दाबी थियो । ‘अहिले हामी खुला बजारमा छ । वस्तुको मूल्य निर्धारण व्यवसायीले नै गर्छ । हामीले अवलम्बन गरेको कानुनी व्यवस्थाले यही भनेको छ,’ मन्त्री भण्डारीले भने । उद्योग समितिले मूल्य घटाउन उद्योगीलाई तत्काल निर्देशन दिन सुझाव दिएको थियो तर समितिका सभापति अब्दुल खानले कुनै निर्देशन दिएनन् ।