हिउँदयामसँगै सुख्खा मौसम सुरु भएको छ । सामान्यतया यो मौसम पतझरको मौसम हो । यो बेला पानीका मुलहरु विस्तारै सुक्ने समय हो । मौसममा बदलाव आएसँगै हुरी चल्ने समय पनि आउँदै छ । यस्तो मौसम आगलागीका लागि जोखिमपूर्ण समय हो । पछिल्ला दिनमा आगलागीका घटना पनि बढ्दै गएका छन् ।
मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा मंगलबार आगलागीमा परी एक बालिकाको मृत्यु भयो । यता उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा मंगलबार अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ ।
भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ । काभ्रेको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रणबाहिरै छ । यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौवटा घरगोठ जलेर नष्ट भएको छ । डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै स्थानीयको घर तथा गोठ जलेर नष्ट भएको हो ।
सामान्यतया मानिसको लापरवाहीकै कारण आगलागीका घटना हुन्छन् । आगो लागेपछि यो निभाउन दक्ष जनशक्ति चाहिन्छ, अर्को यसबाट बच्ने उपायहरुको पनि जानकारी हुनुपर्छ । यसबारेमा नेपालमा न त पूर्वतयारी शिक्षा छ न त विपद्बाट बच्ने शिक्षाको अभ्यास । कतिपयले ख्यालख्यालमा जंगलमा लगाएको आगोले गाउँ नै सखाप बनाएका घटनाहरु पनि छन् । त्यसबारे सरकारले विशेष तयारी गर्नुपर्छ । रोकथामका उपायहरु बेलैमा अपनाए क्षति कम गर्न सकिन्छ । किनभने हामीसँग आगलागी भएपछि निभाउने क्षमता निकै कम छ ।
पहिलेपहिले सहरबीचमा पोखरी खनेर पानी जम्मा गर्ने चलन थियो । अहिले सहरमा अव्यवस्थित बसोबासका कारण खुला क्षेत्रको अभाव छ । पानी जम्मा गर्न बनाइएको पोखरीहरु सुख्खा छन् । जसकारण आगो लाग्दा निभाउने उपाय भनेको दमकल नै हो । तर साँघुरो गल्लीमा दमकल पस्न पनि सक्ने अवस्था हुँदैन ।
गाउँका दूरदराजमा दमकलको कल्पना गर्नै सकिन्न । पानी भएकोको ठाउँमा दमकल नहुने, दमकल भएको ठाउँमा पानी नहुने, आगलागी नियन्त्रणका आधुनिक उपायहरुमा सरकारको लगानी कमी हुनुका कारण पनि क्षति कम गर्न सकिरहेको हुन्न । त्यसैले यस्ता घटना हुनुभन्दा पहिले नै सचेत हुनेगरी पूर्वतयारी शिक्षा दिनु आजको आवश्यकता हो ।