अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ । एउटा निजी क्षेत्र र भारतले गर्दा केही लोडसेडिङ केही हटेजस्तो अनुभूति भएको छ ।
दीपक खड्का
ऊर्जामन्त्री
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन लागिपरेका ऊर्जामन्त्री दीपक खड्काले सदनमार्फत लोडसेडिङको त्रास फैलाएका छन् । बुधबार राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले छिट्टै लोडसेडिङ हुने घोषणा गर्दै जनतामा त्रास फैलाएका हुन् ।
भारत र निजी क्षेत्रका कारण लोडसेडिङ हट्दा जनताले घिसिङलाई उज्यालोको नायकको उपाधि दिएको भन्दै उनले असन्तुष्टि पोखे । मन्त्री खड्काले भने, ‘अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतले गर्दा लोडसेडिङ केही हटेजस्तो अनुभूति भएको हो । उहाँ (कुलमान) उज्यालोको नायक होइन ।’
दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका जनता भने ऊर्जामन्त्रीको भनाइप्रति सहमत छैनन् । उनले विद्युत् भारतबाट आयात भइरहेकोले भारतलाई नै धन्यवाद दिनुपर्ने कुरा यसअघि पनि बताउँदै आएका थिए । त्यही कुरा बुधबार राष्ट्रिय सभामा दोहो¥याएका हुन् । ‘हामीसँग ३५ सय मेगावाट बिजुली छ । सरकारको १०० प्रतिशत लगानी छ । २८ सय मेगावट निजीले गरेको छ । ७०० प्राधिकरणको लगानी छ । ८३० मेगावट विद्युत् भारतबाट आयत भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘बरु यो धन्यवाद निजी क्षेत्रलाई दिउँ । भारतलाई दिउँ ।’
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने अहिले मन्त्रीले भनेजस्तो अवस्था नरहेको दाबी गरे । जनताको घरमा लोडसेडिङ नहुनेमा ढुक्क रहन उनले आग्रह गरे । ‘हामीले व्यवस्थापन गरिरहेका छौं । जनताको घरमा कुनै पनि हालतमा लोडसेडिङ हुँदैन । निर्धक्क भए हुन्छ । बिजुलीको व्यवस्थापन प्राधिकरणले गर्ने हो, मन्त्रीले हैन,’ घिसिङले भने ।
आफू प्राधिकरणमा रहेसम्म जनताले लोडसेडिङ भोग्न नपर्ने घिसिङको भनाइ छ । यद्यपि, पैसा नतिर्ने उद्योगमा अब आवश्यकताअनुसार लाइन काट्ने उनले चेतावनी दिए । ‘पैसा नतिर्ने उद्योगमा आवश्यकताअनुसार बिजुली कटौती गरिन्छ,’ उनले भने ।
घिसिङलाई अप्ठेरोमा पार्दै मन्त्री
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको कुशल व्यवस्थापनकै कारण हालसम्म लोडसेडिङको कुनै अनुभूति भएको छैन । तर, सरकार भने जसरी पनि लोडसेडिङ गराएर घिसिङलाई अप्ठेरोमा पार्ने प्रपञ्चमा लागेको देखिन्छ । यसैले पनि कुलमान विद्युत् व्यवस्थापनका लागि दिनरात दौडादौडमा लागेका छन् ।
यसको मूल कारण हो भारतले सोलार आवरमामात्र बिजुली दिने । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्ममात्र बिजुली दिने भएपछि लोडसेडिङ हुने अवस्था देखिन्छ । भारतले यसअघि बेलुका ६ बजेदेखि १० बजेसम्ममात्र विद्युत् रोक्थ्यो । यसबेला प्राधिकरणले औद्योगिक क्षेत्रमा चार घण्टा लोडसेडिङ गथ्र्यो । पिक आवरमा विद्युत् चाहिने भएपछि भारतसँग एक महिनाअघि १.५ प्रतिशत भाउ बढाउने सहमति भएको थियो । यही विषयमा सरकारले घिसिङसँग स्पष्टीकरणसमेत सोधेको थियो ।
घिसिङ भने ट्रंकलाइन र डेडिकेटेड लाइन जोडेर त्यसको शुल्क नतिर्ने उद्योगीलाई बत्ती नदिएर जनतालाई लाइन दिने पक्षमा छन् । शुल्क नतिर्ने सर्वसाधारणका विद्युत् केही दिनमै काटिने र तर उद्योगीको लाइन भने निरन्तरता दिने विषयमा सरकारले पक्षपात गरेको उनको भनाइ छ । यसअघि शुल्क नतिर्ने उद्योगीको विद्युत् लाइन काट्दा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत घिसिङविरुद्ध लागेका थिए ।
ऊर्जामन्त्री खड्काले बुधबार पनि घिसिङले प्राधिकरणलाई घाटामा लगेको आरोप लगाए । ‘यहाँको आम्दानी नाफाजनक छ । यति अर्ब आम्दानी छ भनेर दाबी गरिरहेको कुरा छ । यहाँ डिडिए गरौं न । बाहिर मान्छेको बुझाइ अर्कै छ । महालेखा भन्छ– साढे दुई अर्ब रुपैयाँ घाटा छ । बाहिर विद्वानहरु अर्कै भन्छन् । यो प्रस्ट छ । जनतालाई प्रस्ट भनौं न,’ मन्त्री खड्काले दाबी गरे ।
यसैगरी उनले स्पष्टीकरण सोधेको विषयमा राष्ट्रिय सभाका सदस्यहरुले आरोपप्रत्यारोप गर्न नहुने तर्क गरे । ‘बोर्डको कुरा मन्त्रालयलाई थाहै छैन । मन्त्रालयअन्तर्गतको बोर्डको कुरा सबै थाहा हुनुपर्छ भनेर सोधेको मात्र हो । यथार्थ कुरा भन्दाभन्दै पनि खोजी छानबिन गर्न माननीयहरु नै आरोपप्रत्यारोपमा लाग्दा जनताले के बुझ्ने होला भनेर चिन्तामात्र लागेको,’ खड्काले भने ।
सांसद शारदादेवी भट्टले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङका सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले राष्ट्रिय सभामा जानकारी गराउनुपर्ने माग गरेकी थिइन् । ‘एक जना कर्मचारीको कारणले मुलुकमा लोडसेडिङको अन्त्यको चमत्कार भयो भन्दै गर्दा लोडसेडिङ अन्त्य गर्न कुन सरकारले के भूमिका निर्वाह गरेको छ भन्ने विषय आमनागरिकले जानकारी पाउनुपर्छ,’ भट्टले भनेकी थिइन् । भट्ट एमाले सांसद हुन् । उनले ओली सरकारकै पालामा भारतबाट बिजुली आएसँगै लोडसेडिङ अन्त्य भएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै ऊर्जामन्त्रीको जवाफ मागेकी थिइन् ।