आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । कक्षा १० का विद्यार्थी सहभागी हुने यो परीक्षाका लागि दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । यसपटक पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै छन् । यो गत वर्षको तुलनामा ४९ हजार २८६ जनाले बढी हो । २०८० मा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने र काठमाडौंको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।
यस वर्षको एसइईमा कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि चार जना एचआइभी संक्रमित विद्यार्थीले परीक्षा दिने भएका छन् । चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने परीक्षाको नतिजा असार ७ गतेभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुने पनिकाले जनाएको छ ।
लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । असअघि २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसैले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका कारण विद्यार्थीको उत्तीर्णदर कम भएको बताउँदै आएका छन् ।
कुनै बेला उच्च शिक्षाका लागि फलामे ढोका मानिएको एसइईको महत्व अझै घटेको छैन । विद्यालय जीवन छाडेर कलेज जीवनमा प्रवेश गर्ने परीक्षालाई अभ्यासको रुपमा लिनुपर्छ । यद्यपि, अहिले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानिएको छ । निर्धक्क भएर बुझेर जवाफ लेख्दामात्र आफ्नो उचित मूल्यांकन हुने गर्छ । हुन त एसइई ‘मास टेस्ट’ हो । यो परीक्षा दिन मानसिकरुपमा तयार हुनुपर्छ ।
कतिपय विद्यार्थी मानसिक रुपमा तयार नहुँदा उसले चाहेको नम्बर ल्याउन नसक्ने अवस्था आउन सक्छ । त्यसैले पनि एसइई नै सबथोक हो भनेर तनाव लिन हुन्न । आफूले जानेको विषयमा निडर भएर जवाफ लेख्दा नै यसको नतिजा राम्रो आउन सक्छ । त्यसैले सरकारको लक्ष्य ७० प्रतिशतभन्दा बढी सतप्रतिशत उतीर्ण हुने प्रयास सबैले गर्नुपर्छ । सबै विद्यार्थी भाइबहिनीलाई एसइईको शुभकामना ।