- चैत २९ मै निर्वाचन हुनेमा विश्वस्त छैनन् व्यवसायी
- संघका अध्यक्ष भण्डारी भन्छन्– ढुक्क हुनु, अब निर्वाचन सर्दैन
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुबीच फेरि चुनावी माहोल सुरु भएको छ । व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यसअघि स्थगित निर्वाचनसहितको साधारणसभाको नयाँ मिति सार्वजनिक भएसँगै व्यवसायीहरु निर्वाचनको तयारीमा जुटेका हुन् । यसअघि फागुन २ गते निर्वाचन सम्पन्न गर्ने तयारी भएकोमा अन्तिम समयमा आएर स्थगित गरिएको थियो । निर्वाचन स्थगित गरेपछि संघ नेतृत्व आलोचित बन्दै आएका छन् ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले अब तोकिएकै मिति (चैत २९) मा चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे । उनले प्रभावसँग टेलिफोनमा कुरा गर्दै अब कुनै पनि हालतमा स्थगित नहुने दाबी गरे । यसअघि राजनीति नेतृत्वबाट आएको दबाबका कारण अन्तिम समयमा निर्वाचन स्थगित गर्नुपरेको उनले बताए । ‘मैलै व्यक्तिगत चाहनाले चुनाव सारेको होइन । नेताहरुको दबाब थियो । अब त्यस्तो अवस्था छैन, चुनाव हुन्छ,’ भण्डारीले आश्वस्त पार्ने कोसिस गरे ।
अध्यक्ष भण्डारीले निर्वाचन हुने सुनिश्चित भएको बताइरहँदा व्यवसायीहरु भने २९ चैतमै चुनाव हुनेमा अझै आशंका व्यक्त गर्छन् । भण्डारीकै पार्टीनिकट संगठन नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट अध्यक्षको उमेदवार रहेका नरेश गेलालले नै उक्त मितिमा चुनाव नहुने ठोकुवा गरे । उनले असार १७ यता चुनाव हुने कुनै संकेत नदेखिएको प्रभावसँग बताए ।
‘अध्यक्षलाई कुर्सी छोड्नै मन छैन । चैतमा हुन्छ भन्ने त नाटक हो । फेरि विभिन्न बहाना बनाएर असारमै पु¥याउने निश्चित छ,’ गेलालले भने । उनले अबको चुनावमा आफूले जित्ने सुनिश्चित रहेको दाबी गरे । यद्यपि, चुनाव हुनेमा ढुक्क नहुँदा तत्काल प्रचारप्रसारमा जुट्ने जाँगर नभएको उनले बताए ।
अर्कोतर्फ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट अध्यक्षको उमेदवार बनेका भुवनसिंह गुरुङ भने चुनाव हुनेमा आशावादी देखिएका छन् । संघले सूचना निकालेर निर्वाचन र साधारणसभाको तालिका, समय, स्थानलगायतको जानकारी गराएकाले चुनाव हुने आशा बढेको उनले बताए । अब भने प्रचारप्रसारमा जुट्ने तयारी रहेको उनको भनाइ छ ।
एसोसिएसनभित्रै उमेद्वार टुंगो लगाउने क्रममा देखिएको असहमति अहिले टुंगिसकेको गुरुङको दाबी छ । आफ्नो पक्षमा मतको रुझान बढी भएकाले आफू विजय हुने उनले बताए । ‘म १६ वर्षदेखि यही पेसामा छु । विगतमा के भयो अहिले के भइरहेको छ सबै कन्ठस्थ छ । समयसापेक्ष नीति परिवर्तन गरी व्यवसायको शुद्धीकरण गर्ने उद्देश्यमात्र हो,’ उनले भने । आफ्नो अनुभव, एजेण्डा र व्यवसायीको हितका लागि गरेको कामलाई सम्झेर सबैले आफूलाई मत हाल्ने विश्वास उनको छ ।
साधारणसभा हुनुभन्दा २१ दिनअघि सूचना निकाल्नुपर्ने नियमबमोजिम संघले बिहीबार निर्वाचन तथा साधारणसभासम्बन्धी सूचना निकालेर व्यवसायीलाई निर्वाचनसहितको साधारणसभाबारे जानकारी गराएको छ । संघमा ९५० भन्दा बढी व्यवसायी आबद्ध छन् । यसअघि गत फागुन २ गतेका लागि निर्धारण गरिएको साधारणसभा तथा निर्वाचनमा सहभागी हुन ८०० भन्दा बढी व्यवसायीले सदस्यता नवीकरण गराएका थिए । तर संघको वर्तमान कार्यसमितिले भवन खरिद, वैदेशिक रोजगार ऐन संशोधनलगायतको काम सकिनै लागेकाले त्यसलाई पूरा गर्ने भनेर संघको निर्वाचन तथा साधारणसभा असार १७ गतेको लागि सारेको थियो ।
बिहीबार जारी सूचनामा छुटेका सदस्यका लागि नवीकरणको म्याद यही चैत १५ गतेसम्म राखिएको छ । बाँकी सदस्यहरु नवीकरणका लागि आउने संघका सचिव अरुण अर्यालले बताए । सूचनामा बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा विहान ९ बजेबाट साधारणसभा हुने भनिएको छ । संघको ३०औं र ३१औं साधारणसभा तथा आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन पनि सोही दिन हुने छ । साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।