- भाषा परीक्षा उत्तीर्ण भएका ४२ प्रतिशतले मात्र पाए जाने अवसर
- ३० हजारभन्दा बढी अझै पालो कुर्दै
काठमाडौं– रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा जान हजारौं युवा प्रतीक्षारत रहेका छन् । आकर्षक तलबसहितको सुविधा तथा सरकारीस्तरबाटै जान पाउने भएकाले धेरैको सपना बनेको छ कोरिया । तर, कोरिया जाने अवसर कमैले मात्र पाउँछन् । मिहेनत गरेर कोरियन भाषा परीक्षा उत्तीर्ण गरे पनि केही ‘भाग्यमानी’ले मात्र जाने अवसर पाउँछन् ।
गएको तीन वर्षको तथ्यांक हेर्दा भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाउने संख्या ठूलो देखिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ देखि २०२४ सम्मको अवधिमा भाषा परीक्षा उत्तीर्ण भएकामध्ये करिब ४२ प्रतिशतले मात्रै कोरिया गएका छन् ।
शाखाका अनुसार उक्त तीन वर्षको अवधिमा ५२ हजार ६०४ जना कोरियन भाषा परीक्षामा सफल भएका थिए । उनीहरुमध्ये २२ हजार २२ जनामात्रै सबै प्रक्रिया पूरा गरी कोरिया पुगेका छन् । यो कूल भाषा परीक्षा उत्तीर्ण संख्याको ४१.८६ प्रतिशत हो । बाँकी ३० हजार ५८२ जना भने अझै पर्खाइमै छन् । सन् २०२५ लागेयता भने करिब दुई हजार ७०० जना कोरिया पुगेको तथ्यांक छ ।
सन् २०२४ मा भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये गत डिसेम्बरसम्म करिब १० प्रतिशतमात्र कोरिया गएका छन् । उक्त वर्ष १५ हजार ४७८ जना परीक्षामा सफल भएकामा एक हजार ६२६ जनामात्र जान पाएका छन् । उक्त वर्ष १५ हजार ३२६ जना उत्पादन क्षेत्रमा जानका लागि छनोट भएका थिए । जसबाट १४ हजार ४१२ जनाको कागजात कम्पनीलाई पठाइएकामा पाँच हजार ५५२ जनाको स्वीकृत भएको थियो ।
यसबाट पनि तीन हजार ९२८ जनाको सम्झौता प्र्राप्त भएको थियो । जसमध्ये एक हजार ६२६ जना कोरिया पुगिसकेको तथ्यांक छ । अर्कोतर्फ कृषि तथा पशुपालन क्षेत्रमा उक्त वर्ष एक जना पनि गएनन् । भाषा परीक्षा उत्तीर्ण भएकाबाट ८० जनाको कागजात पठाइएकोमा एक जनाको मात्र स्वीकृत भएको थियो । कुनै वर्ष कृषिमा उल्लेख्य कामदार लग्ने गरेको कोरियाले उक्त वर्ष एक जना पनि लगेन ।
त्यसअघिको वर्ष सन् २०२३ मा परीक्षा उत्तीर्ण भएकामध्ये गत डिसेम्बरसम्म २७ प्रतिशत कोरिया पुग्न सफल भएका छन् । उक्त वर्ष १८ हजार २८२ जनाले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका थिए । जसमध्येबाट पाँच हजार १६ जनामात्रै कोरिया जान पाए । उत्पादनमूलक क्षेत्रमा दुई हजार ३७७, कृषि तथा पशुपालनमा ११ हजार ९१६ र सिप बिल्डिङमा तीन हजार ९८९ जनाको नाम निस्किएको थियो । उत्पादनमूलक क्षेत्रबाट एक हजार ७०६ जना र कृषिबाट दुई हजार ९९६ जना कोरिया प्रस्थान गरे । सिप बिल्डिङबाट अत्यन्तै न्यून ३१४ जना अर्थात् सात प्रतिशतलाई कोरिया लगियो ।
यसैगरी सन् २०२२ मा भाषा परीक्षा उत्तीर्ण भएकामध्ये गत डिसेम्बरसम्म ८१ प्रतिशतभन्दा बढी कोरिया उडिसकेका छन् । त्यस वर्ष १८ हजार ८४४ जनाले भाषा परीक्षा उत्तीर्ण गरेकामा १५ हजार ३८० जना विभिन्न क्षेत्रमा गइसकेका छन् । त्यस वर्ष उत्पादनमा १५ हजार ३९, कृषि तथा पशुपालनमा दुई हजार ९१७ र सिप बिल्डिङमा ८८८ जना परीक्षामा उतिर्ण भएका थिए । जसमध्ये १२ हजार २८९ जना उत्पादनमा, दुई हजार ४१७ जना कृषिमा तथा ६७४ जना सिप बिल्डिङमा गएका हुन् ।
नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीमार्फत कोरियामा कामदार पठाउन थालिएको हो । मुलुकमा व्याप्त बेरोजगारीको समस्याका कारण कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुनेहरुको संख्या बर्सेनि बढ्दो छ । तर कोरियाले कुन वर्ष कति कामदर लाग्छ भन्ने यकीन नहुँदा परीक्षा उत्तीर्ण गरेर बसेकाहरु निराश हुनुपर्ने अवस्था छ ।
कोरियाले नेपालसहित विभिन्न १७ वटा देशबाट श्रमिक लग्दै आएको छ । कोरियाले गत वर्ष नेपाली कामदारको कोटासमेत बढाएको थियो । यद्यपि, कोरिया जान इच्छुक युवाहरु हजारौंको संख्यामा रहेकाले त्यहाँ जान पाउने दर न्यून देखिएको हो । नेपालबाट फाराम दर्ता गर्ने र डेटा इन्ट्री गरेर कोरिया पठाउनेबाहेक बाँकी सबै प्रक्रिया कोरियाको हातमा हुने भएकाले कामदारको छनोटमा नेपालको कुनै हात नभएको इपिएस कोरिया शाखाका अधिकारीहरु बताउँछन् ।