मुलुकबाट हरेक दिन हजारौं संख्यामा युवाहरु बाहिरिरहेका छन् । कोही शिक्षाका लागि त कोही रोजगारीका लागि । मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरुको लक्ष्य विदेशतिर नै हुने गरेको पाइन्छ । मुलुकमै बसेर आफ्नो दक्षताअनुसारको रोजगारी गर्न चाहनेहरु उल्टै पीडित बन्नुपरिरहेको अवस्था छ ।
यसमा सरकार र सम्बन्धित संस्था जिम्मेवार रहेका छन् । सरकारले एकातिर युवालाई स्वदेशमै रोजगारी दिने भन्दै विभिन्न कार्यक्रम अगाडि बढाइरहेको छ । तर, स्वदेशमै रोजगारीमा रहेकाहरुले नियमानुसार पाउनुपर्ने न्यूनतम पारिश्रमिकसमेत नपाउँदा सरकारले सम्बन्धित रोजगारदातामाथि कारबाही गर्न सकेको छैन ।
त्यसो त न्यूनतम पाश्रमिक सरकार आफैंले तोकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम मन्त्रालयले २०८० साउन १ गतेदेखि लागू गरेको न्यूनतम पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको न्यूनतम आधारभूत मासिक पारिश्रमिक १७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यसमा महँगी भत्ता छ हजार ४८० रुपैयाँ र आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ । साथै, दैनिक ज्याला ६६८ रुपैयाँ तथा प्रतिघण्टा ८९ रुपैयाँ हुनुपर्ने मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकमा उल्लेख छ ।
चिया बगानका श्रमिकको पारिश्रमिक भने न्यूनतम मासिक १३ हजार ८९३ रुपैयाँ तोकिएको छ । जसमा आधारभूत आठ हजार ९३४ रुपैयाँ र महँगी भत्ता चार हजार ९५९ रुपैयाँ हुनुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । साथै, दैनिक ज्यालादरीमा ५०० रुपैयाँ तोकिएको छ जसमा महँगीभत्ता १७७ रुपैयाँ र आधारभूत ३२३ रुपैयाँ हुनुपर्ने उल्लेख छ । प्रतिघण्टा भने ६३ रुपैयाँ रहेको छ ।
मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसाय सुरक्षा विभागले नै श्रमिकका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको पाइएको बताएको छ । उसले सरोकारवालाहरुलाई न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आग्रह गरेको छ । न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउने अधिकार पाएको यो निकाय केबल निर्देशन दिनमै सीमित बनेको हो कि भन्ने भान हुन्छ ।
त्यसो त सरकारले तोकेको न्यूनतम पारिश्रमिक अहिलेको सन्दर्भमा धेरै नै कम हो । महँगीले आकाश छोइसकेको छ । त्यति तलब लिएर श्रमिक कसरी टिक्ने ? त्यति न्यून तलब पनि कार्यान्वयन नगर्नु रोजगारदाता संस्थाको बेइमानी हो । यस्ता संस्थालाई कारबाहीको दायरामा ल्याउनैपर्छ । अनि, सरकारले समयानुकूल न्यूनतम पाश्रिमिक पुनरावलोकन गर्नु आवश्यक छ ।