मंगलबारे - जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आएका छन् । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेका छन् ।
भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखे ।
भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताए । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उनले भने।
बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उनले अहिले भने रु ५० मा बिक्री हुने बताए ।उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गरे । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिकजसो जाने गर्छन् ।
भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताए । उनले भने, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उनले उल्लेख गरे ।
लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताए । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनले बजार लगेर बिक्री गरे ।
“दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भने । उनका श्रीमान् भुपूप्रहरी हुनुहुन्छ । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गर्नुभएको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उनले भने ।
भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताए । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिए । दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाए । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिए ।
आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताए । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उनको भनाइ छ ।
एउटै लौकाको पाँच हजार
भण्डारीले एउटै लौकाबाट रु पाँचदेखि रु सात हजारसम्म आम्दानी गरेको जानकारी दिए । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनले बताए । रु ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उनले जानकारी दिए ।
“ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छैँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भने ।