काठमाडौं – बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्वचर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रूपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’को मुख्य प्रायोजन गर्ने सम्बन्धमा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त अवसरमा कार्यक्रमको प्रमुख प्रायोजकको रूपमा आइएमई र भोटिङ्ग पार्टनरको रूपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएको जनाइएको छ । यस सम्झौतापश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् ‘डान्सिङवीथ द स्टार नेपाल’ रहने छ । सम्झौताअनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एपमार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुनेछ ।
यस शोको पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारतलगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिई हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ । बिश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जनाबिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन् भने उनीहरूलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन् । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन् । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।