काठमाडौं - नेपालले एएफसी एसियन कप २०२७ छनोटमा आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । मलेसियाकाे जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुने समूह ‘एफ’को खेल नेपाली समय अनुसार राति ७:४५ बजे हुनेछ ।
नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ । विगतको भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । नेपालले ७ खेलमा २३ गोल खाएको छ । त्यसैले गोल गर्ने र पहिलो जित निकाल्ने र इतिहास बदल्ने अवसर नेपाली टोलीलाई रहेको छ ।
मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ । नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २-० गोल अन्तरले पराजित भएको थियो । यसअघि सन् १९८३ को मर्डेका कपमा मलेसियाले नेपाललाई ७-० ले पराजित गरेको थियो ।
नेपालले सिंगापुरलाई शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० गोल अन्तरले पराजित गरेको थियो । पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको यो नै पहिलो खेल थियो । फरवार्ड जिलेस्पीजंग कार्कीले गरेको एक गोल नै नेपाली टोलीका लागि निर्णायक गोल बन्न पुग्यो । मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हाले यता त्यो पहिलो खेल थियो । मलेसिया जानुअघिको त्यो जितले नेपाली टोलीलाई उत्साहित बनाएको छ ।
यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ । नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ । होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । मलेसियासँगको यो खेल नेपालको होम म्याच हो । तर दशरथ रङ्गशालासँग अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो ।