मलाई हटाएको पत्र अझैसम्म प्राप्त भएको छैन । प्राप्त भएपछि बोलौंला ।
कुलमान घिसिङ
हटाइएका कार्यकारी निर्देशक
कार्यकारी निर्देशक नियुक्त हुँदा उहाँ बिजुली बोकेर आउनुभएको हो ? उहाँले चिम बोकेर आउनुभएको थियो ? ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि ?
केपी शर्मा ओली
प्रधानमन्त्री
कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ ।
अग्निप्रसाद सापकोटा
प्रवक्ता, नेकपा माओवादी केन्द्र
काठमाडौं– कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएसँगै देशभर सरकारविरोधी माहोल बनेको छ । १८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेपछि नेपाली जनताले ‘उज्यालो नेपालका नायक’ भन्दै सम्मान गरेका घिसिङलाई हटाउने निर्णयविरुद्ध जनता सडकमा उत्रिएका छन् ।
प्रमुख सत्तारूढ दल कांग्रेसकै नेताहरू कुलमान हटाउने सरकारी निर्णयको विरोधमा उभिएका छन् । नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूका नेता, नागरिक समाजका अगुवा, पूर्वप्रशासक, कलाकार, युवा तथा विद्यार्थीहरूले समेत विरोध गरेका छन् । कुलमान हटाउने निर्णय खारेज गर्न माग गरेका छन् ।
मंगलबार काठमाडौंसहित देशका विभिन्न स्थानमा कुलमानको पक्षमा युवा तथा विद्यार्थीहरूले स्वतःस्फूर्त प्रदर्शन गरे । मन्त्रिपरिषद् बैठकबाट हटाउने निर्णय गराउने प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काविरुद्ध उनीहरूले सडकमा चर्का नाराबाजी गरे । ऊर्जामन्त्री खड्काको काठमाडौंको प्रदर्शनीमार्गमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले पुत्ला दहन गरे । त्यहाँ प्रहरीले हस्तक्षेप गरेर पुत्ला नियन्त्रणमा लिएको थियो । नयाँबानेश्वर, माइतीघरलगायत क्षेत्रमा नेकपा माओवादी केन्द्रनिकट युवा विद्यार्थीहरूले प्रदर्शन गरे । केहीबेर झडपसमेत भयो ।
प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीहरूले दलाल र बिचौलियाले बनाइदिएको सरकारले नेपाललाई उज्यालो बनाउने कुलमानलाई हटाएर गम्भीर गल्ती गरेको भन्दै आक्रोश पोखे । सामाजिक सञ्जालमा ‘कुलमानले अँध्यारो हटाए, सरकारले कुलमानलाई हटाए’ भन्दै विरोध भइरहेको छ । यस्तोमा प्रभाव संवाददातासँग संक्षिप्त प्रतिक्रिया दिँदै कुलमानले भने, ‘मलाई हटाएको पत्र प्राप्त भएको छैन । पत्र पाएपछि बोलौंला ।’
विपक्षी दल माओवादी केन्द्रले कुलमानलाई हटाउने सरकारको निर्णयलाई बदनियतपूर्ण भनेको छ । मंगलबार पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएका हुन् ।
‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घिसिङलाई हटाउने निर्णयले इमान र निष्ठाका साथ काम गर्ने कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गरेको माओवादी केन्द्रको निष्कर्ष छ । माओवादी केन्द्रले घिसिङलाई हटाउने निर्णय अन्यायपूर्ण र अपमानजनक भएकाले तत्काल फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।
‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
कुलमान हटाइएपछि सत्ता साझेदार दल कांग्रेसभित्रै विरोध भएको छ । कांग्रेसकै विभागीय मन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई हटाउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । यो निर्णय बाहिरिएसँगै एमाले र कांग्रेसको संस्थापकपक्ष विरोधमा बोलेको छैन । इतर समूहका नेता डा. शेखर कोइराला र नेता अर्जुननरसिंह केसीले पनि यो निर्णयको विरोध गरेका छन् । कुलमान हटाउने निर्णयको विपक्षमा रहेका कांग्रेस नेताहरूले यो निर्णयलाई कांग्रेसले स्वीकार नगर्ने बताएका छन् । यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कुलमान हटाउने निर्णयको विरोध गरिसकेका छन् ।
तर, कांग्रेसभित्र व्यापक विरोध भइरहेको यो प्रकरणमा सभापति शेरबहादुर देउवाले भने अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । अबको डेढ वर्षपछि एमालेकै सहयोगमा प्रधानमन्त्री बन्ने पर्खाइमा रहेका देउवाले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् । जबकि कांग्रेस पदाधिकारी र नेताहरूले कुलमान हटाउने निर्णयको विरोध गरिरहेका छन् । तर, मंगलबार गिरिजापुत्री सुजाताले लेखेको पुस्तक विमोचन कार्यक्रममा ओलीलाई देखाउँदै देउवाले निकै राम्रो सम्बन्ध रहेको र अहिले सम्बन्ध झन् सुधार भएको बताएका छन् ।
कुलमानको बर्खास्तीले थप जटिलता सिर्जना गर्ने ऊर्जाविज्ञहरूले टिप्पणी गरेका छन् । वि.सं. २०७३ सालकै तिहारबाट सहरहरूमा ‘लोडसेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिब डेढ दशकदेखि विद्युत् आपूर्तिमा जारी नियमित अवरोधबाट मुक्त बनाइएको थियो । लोडसेडिङमुक्त घोषणा गर्नुअघिका वर्षमा देशभित्र १८ घण्टासम्म बिजुली जाने गथ्र्यो भने प्राधिकरण अर्बौं घाटामा थियो । तर, घिसिङ कार्यकारी निर्देशक भएको केही महिनामै लोडसेडिङ अन्त्य भयो र प्राधिकरण लगातार नाफामा गयो । विद्युत् चुहावट नियन्त्रण आधाले घट्यो । विद्युतीकरण ४० प्रतिशतले बढ्यो । तर, उनै घिसिङलाई सरकारले हटाएको हो ।
कुलमान डेडिकेटेट फिडर र ट्रंकलाइन महसुलबापतको २२ अर्ब रुपैयाँ बक्यौता उद्योगी व्यवसायीबाट विद्युत् लाइन काटेरै भए पनि उठाउने पक्षमा थिए । तर, प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्काले ती उद्योगीहरूको चाहनाअनुसार बक्यौता उठाउन कुलमानलाई दिएनन् । यसपछि उत्पन्न लफडाबीच मन्त्री त कहिले मन्त्रिपरिषद् बैठकबाटै कुलमानमाथि पटक–पटक अनावश्यक स्पष्टीकरण सोध्ने काम भयो । अन्ततः स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई सरकारले हटायो ।
सरकारका प्रवक्ता गुरुङले फेरे बोली
मन्त्रिपरिषद् बैठक सकिएपछि सोमबार राति सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुलमानलाई हटाउने निर्णयबारे सरकारलाई थाहा नभएको बताएका थिए । उनले सरकारले कुलमानलाई हटाउने निर्णय नै नगरेको दाबी गरेका थिए । तर, मंगलबार उनैले कुलमानलाई हटाउने निर्णय गरिएको सार्वजनिक गरे ।
पत्रकार सम्मेलन गर्दै उनले मन्त्रिपिरषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएको छ । रिक्त रहेको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।’
सरकारका प्रवक्ता गुरुङले झूटा बोलेको पुष्टि भएको छ । पदीय गरिमा र जिम्मेवारी बिर्सेर उनले सोमबार जनतालाई ढाँटेको पाइएको हो ।
शाक्यले सम्हाले पदभार
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको स्थानमा कार्यकारी निर्देशक नियुक्त हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । उनले मंगलबार साँझ प्राधिकरण पुगेर पदभार ग्रहण गरेका हुन् ।
त्यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाक्यलाई नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सो क्रममा मन्त्री खड्काले नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमानदार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन दिए ।
शपथग्रहणपछि नवनियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो मन, वचन र कर्मले प्राधिकरणलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा कुलमानलाई हटाएर ओली सरकारले शाक्यलाई नियुक्त गरेको हो । शाक्य नातामा ओलीका साला पर्छन् ।
यसरी आफ्नो नातेदारलाई जागिर खुवाउन र बिलौलियाको सेवा गर्नेगरी कुलमान हटाएको भन्दै सर्वत्र असन्तुष्टि छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान लोडसेडिङ अन्त्य गर्ने व्यक्ति नभएको बताएका छन् । काठमाडौंमा मंगलबार कांग्रेस नेतृ सुजाता कोइरालाको पुस्तक लोकार्पण गर्दै उनले भने, ‘कार्यकारी निर्देशक नियुक्त हुँदा उहाँ बिजुली बोकेर आउनु भएको हो ? उहाँले चिम बोकेर आउनुभएको थियो ? ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि ?’