काठमाडाैं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर मंगलबार नयाँबानेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक, विद्युत् उपभोक्ता तथा समर्थकहरुले सरकारको निर्णयप्रति आक्रोश पोख्दै घिसिङको पुनर्बहाली माग गरे ।
प्रदर्शनमा भेटिएकी मञ्जु वनले सरकारले गरेको निर्णय गलत भएको बताइन् । उनी भन्छिन्, ‘देशको एक कुशल व्यवस्थापकलाई हटाएको छ । नेपाललाई उज्यालो बनाउनेलाई सरकारले पूर्वग्राही भएर हटाएको छ ।’ जनताको घरदैलामा गएर हातेमालो गरेर काम गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेकाले विरोधका लागि सडकमा उत्रिन बाध्य भएको वनको भनाइ छ ।
उनी भन्छिन्, ‘यो सरकारले गरेको निर्णयले कुलमानलाई केही हानि हुँदैन तर आमनेपाली जनतामा अध्यारो छाउने छ ।’ ऊर्जामन्त्री दीपक खड्काले सेटिङमा कमिसन खान नपाएर घिसिङलाई हटाउन जोडबल गरेको उनले बताइन् ।
अर्का सहभागी माधवप्रसाद पाठकले १८ घण्टाको लोडसेडिङबाट मुक्त गरेर देश र जनताको निम्ति केही गर्ने कुलमानलाई सरकारले काम गर्न नदिए बताए । उनी भन्छन्, ‘सरकारले कुलमान घिसिङलाई हटाउनु भनेको जनतालाई आँखामा पट्टी बाँधेर अध्यारोमा धकेल्नु हो ।’
कुलमानका समर्थक रमेश देवकोटाले तीन महिनाको कार्यकाल बाँकी रहेको अवस्थामा बर्खास्त गर्ने निर्णय गलत भएको बताए । उज्यालो नेपालका नायकलाई हटाउनु सरकारका लागि अभिषाप हुने उनले बताए ।
मंगलबार काठमाडौं उपत्यकासँगै देशका विभिन्न स्थानमासमेत विरोध प्रदर्शन भएका थिए । साँझ विभिन्न स्थानमा मसाल जुलुस निकालिएको थियो ।