काठमाडौं - विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए ।सभामुखले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए ।उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध गर्ने विपक्षी दलको निर्णय सुनाए ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता हुनुपर्ने बताउँदै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । सांसद बस्नेतले आफ्नो भनाइ सक्ने बित्तिकै प्रतिपक्षी सांसदहरुले पुनः उठेर विरोध जनाएका छन् ।
सभामुख देवराज घिमिरेले विरोधका बीच सदन ३० मिनेटका लागि स्थगन गरेका छन् । संसद्को कार्यसूचीअनुसार आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यक्रम छ ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।