काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका- ६ घर भएका ४१ वर्षीय सुवास थापा रहेका छन् । सुवासले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।