इटहरी - इटहरीको मुख्यचोकमा रहेको १० तले व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए ।
बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ ।
दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ । आगो नियाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताए ।