- २५ सय बढी प्रहरी, साढे १७ सय सशस्त्र प्रहरी र गुप्तचर परिचालन
- राजतन्त्रप क्षधरबाट सुरक्षा चुनौती हुन सक्ने आँकलन, केही दिनदेखि विशेष निगरानीमा
- गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरलाई जम्काभेट हुन नदिने सुरक्षा संयन्त्रको रणनीति
- गणतन्त्र पक्षधरलाई चक्रपथभित्र र राजतन्त्र पक्षधरलाई बाहिर सीमित गरिँदै
काठमाडौं– गणतन्त्रको रक्षा र गणतन्त्रलाई उल्टाउन खोज्ने दुई परस्पर विरोधी शक्तिले आज एकै समयमा काठमाडौंमा प्रदर्शन गर्दैछन् । गणतन्त्र पक्षधरले भृकुटीमण्डप र राजतन्त्र पक्षधरले तीनकुनेमा बिहान ११ बजेपछि प्रदर्शन गर्ने भएका छन् ।
समाजवादी मोर्चाको ब्यानरमा गणतन्त्र पक्षधरले गर्ने प्रदर्शनको नेतृत्व प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् । राजतन्त्र पक्षधरले गर्ने प्रदर्शनको नेतृत्व विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्नेछन् ।
सुरक्षा निकायले गत शनिबार नै दुवै पक्षले गर्ने प्रदर्शनको विश्लेषण गरेको थियो । खासगरी प्रसाईंले नेतृत्व गर्ने राजतन्त्र पक्षधर प्रदर्शन तुलनात्मक रूपले बढी चुनौतीपूर्ण हुन सक्ने विश्लेषण गरेको छ । प्रसाईं स्वयं उग्रवादी राजतन्त्र पक्षधर अभियन्ता हुन् । हिंसा भड्काउने खालका अभिव्यक्तिले विगतमा उनी पटकपटक प्रहरी थुनामा परिसकेका छन् ।
अर्कोतिर, राजावादीको प्रदर्शनमा घुसपैठ हुन सक्ने सुरक्षा संयन्त्रको विश्लेषण छ । गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखरादेखि काठमाडौं आउँदा त्रिभुवन विमास्थलमा स्वागत गर्ने क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहित एक जना प्रदर्शनकारी देखिएका थिए । यसले गर्दा पनि आजको प्रदर्शनमा हुन सक्ने सुरक्षा चुनौती र घुसपैठलाई नियन्त्रण गर्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङका अनुसार २५ सय प्रहरी आज खटिनेछन् । आवश्यकता अनुसार प्रहरीको सङ्ख्या बढाइने उनले प्रभावलाई जानकारी दिए । ‘हामी पूर्णतः तयारी अवस्थामा छौँ । शान्ति सुरक्षालाई ध्यानमा राखेर २५ सय बढी प्रहरी परिचालन हुँदैछन् । अझै चाहिने भयो भने थप प्रहरी परिचालन गर्छौँ,’ तामाङले भने ।
गृह मन्त्रालयका अनुसार सादा पोशाकका प्रहरी पनि ठूलो सङ्ख्यामा परिचालन हुनेछन् । उनीहरूले घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरूको पहिचान गर्नेछन् र नियन्त्रणमा लिनेछन् ।प्रदर्शनमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी पनि परिचालन हुने भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुने बताए । एउटा प्लाटुनमा ३५ जना सशस्त्र प्रहरी हुन्छन् । त्यस आधारमा साढे १७ सय सशस्त्र प्रहरी परिचालन हुने भएको उनले बताए ।
भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीको हुने छ । सहयोगीको रूपमा सशस्त्र प्रहरी हुने छन् । सूचना सङ्कलन राष्ट्रिय अनुसन्धान विभागबाट खटिने गुप्तचरहरूले गर्नेछन् । प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार जतिसुकै धेरै मानिस प्रदर्शनमा सहभागी भए पनि सुरक्षा चुक हुन नदिने प्रयासमा प्रहरी छ । तर, प्रसाईंले नेतृत्व गर्ने राजतन्त्रपक्षधर समूह सुरक्षा निकायको विशेष निगरानीमा छ । यो समूहबाट सुरक्षा चुनौती निम्तिन सक्ने आँकलन छ । त्यही भएर करिब एक सातादेखि नै राजतन्त्र पक्षधरको गतिविधि प्रहरीले निगरानी गरिरहेको छ । यो समूहबाट घुसपैठ हुन सक्ने सुरक्षा संयन्त्रको मुख्य चिन्ता हो ।
यहीबीच काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरको जुलससँग भेट हुन नदिने रणनीति बनाएको छ । त्यसअनुसार राजतन्त्र पक्षधरलाई चक्रपथभन्दा भित्र प्रवेश नै गर्न नदिने रणनीति प्रशासनको छ । समाजवादी मोर्चाको ब्यानरमा प्रदर्शनमा उत्रिने गणतन्त्र पक्षधरलाई भने चक्रपथभित्र सीमित पार्ने प्रशासनको रणनीति छ । यस आधारमा राजतन्त्र पक्षधरको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आइपुग्ने छ ।
जोरपाटी, बौद्ध, चाबहिलबाट हुँदै अर्को जुलुस तीनकुने आउने छ । गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ । कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने छ । गणतन्त्र पक्षधरहरूको जुलुस बबरमहल–माइतीघर, कुपन्डोल–थापाथली, सोह्रखुट्टे–पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने भएको छ ।
यसअघि गत वर्षको ७ मंसिरमा दुर्गा प्रसाईं समूहले बल्खुमा प्रदर्शन गरेको थियो । सोही दिन एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गरेको थियो । त्यसबेला काठमाडौंको कालीमाटी क्षेत्रमा प्रसाईं समूह प्रवेश गर्दा युवा संघका एउटा समूहसँग झडपको स्थिति सिर्जना भएको थियो । त्यसबेला फिल्ड कमान्ड सम्हालेका डीएसपी रोशन खड्काले अपनाएको सुरक्षा सावधानीले ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।