- सबैभन्दा उच्च प्रजनन् दर भएको पाँच जिल्लामा रौतहट, धनुषा, महोत्तरी मधेशका जिल्ला छन् भने अछाम र मुस्ताङ पहाडी र हिमाली जिल्ला
- कम प्रजनन् दर भएको जिल्लाको सूचीमा सबैभन्दा पहिलो ललितपुर देखिन्छ । त्यसपछि काठमाडौं, बर्दिया, भक्तपुर र नवलपरासी(पूर्व)
- घट्दो प्रजनन् दरलाई सन्तुलनमा राख्न समतामुलक विकासको नीति अवलम्बन गर्न सुझाव
काठमाडौं– नेपालमा प्रजननदर चिन्ताजनक रुपमा ओरालो लगेको छ । २०३८ मा कुल प्रजनन दर ६.३९ प्रतिशत रहेकोमा अहिले यो दर घटेर १.९८ मा झरेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको नेपालमा प्रजनन् प्रतिवेदनमा विभिन्न कारण प्रजनन् दर ओरालो लागेको उल्लेख गरिएको छ । राष्ट्रिय योजना आयोगलेसमेत पछिल्लो प्रजनन् दरको विषयलाई लिएर चिन्ता जनाउँदै आएको छ ।
‘कुल प्रजननदरमा स्थिर गिरावट देखाएको छ । यस्तो उल्लेखनीय गिरावटका पछाडि शैक्षिक स्थितिमा भएको सकारात्मक सुधार, परिवार नियोजन कार्यक्रमहरूमा गरिएका विशेष प्रयास र स्वास्थ्य सेवामा अनुभूत गर्न सकिने गरी भएको सुधारलाई लिन सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ । सन् २०४३ मा कुल प्रजनन् दर ५.७५ थियो । २०४८ मा आइपुग्दा यो दर ५.६ प्रतिशतमा आइपुग्यो । २०५३ मा ४.६ प्रतिशत प्रजनन् दर रहँदा २०६३ मा ३.१ प्रतिशतमा झ¥यो । २०६८ मा यो दर २.५२ प्रतिशतमा आयो ।
सरदर प्रजनन् दर ओरालो लागे पनि प्रदेशगत प्रजनन् दरमा भने असमानता देखिन्छ । अरु प्रदेशमा प्रजनन् दर खस्के पनि मधेश प्रदेश, पहाडी क्षेत्र र हिमाली क्षेत्रको जन्मदर भने उच्च रहेको प्रतिवेदनमा उल्लेख छ । ‘सबैभन्दा उच्चतम कुल प्रजननदर मधेस २.८५ र कर्णाली २.१९ प्रदेशमा रहेको छ भने बागमती १.३७ र गण्डकी १.५४ न्यून प्रजननदर रहेका प्रदेश हुन्,’ प्रतिवेदनमा भनिएको छ । सबैभन्दा उच्च प्रजनन् दर भएको पाँच जिल्लामा रौतहट, धनुषा, महोत्तरी मधेशका जिल्ला छन् भने अछाम र मुस्ताङ पहाडी र हिमाली जिल्ला छन् ।
बागमती र गण्डकी प्रदेशमा रहेको न्यून प्रजननदरका पछाडि सहरीकरणका साथसाथै ढिला विवाह प्रमुख कारण देखिन्छ । सहरीकरण र ढिलो विवाहको प्रवृत्तिले गर्दा काठमाडौं जिल्ला र बागमती प्रदेशमा पनि प्रजननदर न्यून रहेको छ । यसरी कम प्रजनन् दर भएको जिल्लाको सूचीमा सबैभन्दा पहिलो ललितपुर देखिन्छ । त्यसपछि काठमाडौं, बर्दिया, भक्तपुर र नवलपरासी(पूर्व) रहेको देखिन्छ ।
‘शिक्षा, स्वास्थ्य सेवाको अभाव र आर्थिक अवसरहरूको कमीका कारण अन्य प्रदेशहरूभन्दा तुलनात्मक रूपमा उच्च प्रजननदर रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । सहरी क्षेत्रहरूमा र विशेष गरी बागमती प्रदेशमा भने प्रजननदर न्यून देखिन्छ । शिक्षित महिलाहरूमा प्रजननदर न्यून देखिँदा विपन्न परिवारका महिला र सीमान्तकृत समुदायहरूभित्र पनि उच्च प्रजननदर देखिएको छ ।
ढिला विवाहले प्रजनन् उमेर पनि बढ्यो
ढिला विवाहका कारण सन्तान जन्माउने उमेर पनि बढेको प्रतिवेदनमा उल्लेख छ । ‘विवाहको औसत उमेर महिला तथा पुरुष दुवैका हकमा वृद्धि भएको छ । पुरूषहरूको औसत विवाह उमेर विसं २०५८ मा कायम २२.९ वर्षबाट २०७८ मा २५.५ वर्ष पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसैगरी महिलाहरूको औसत विवाह उमेर सो अवधिमा १९.५ वर्षबाट २१.८ वर्षमा पुगेको छ ।’
त्यसैगरी एकल आमाहरुको संख्या पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । एकल आमाको संख्या सबैभन्दा धेरै मधेशमा देखिन्छ । ‘नेपालमा १६,८८,८८६ एकल आमाहरू छन् । एकल आमाहरूको प्रदेशगत वितरण हेर्दा सबैभन्दा बढी मधेसमा ३ लाख ७० हजार ६११ र लुम्बिनीमा ३ लाख ५२ हजार ९७८ मा रहेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । विसं २०७८ को जनगणनाअनुसार एकल आमाको संख्या कोशीमा २ लाख ६१ हजार ४३८, बागमतीमा २ लाख ७ हजार ४४६, गण्डकीमा एक लाख ८२ हजार ६५३, कर्णालीमा सबैभन्दा कम ८९ हजार ५८७ र सुदूरपश्चिममा २ लाख २४ हजार १७३ जना देखिन्छ ।
प्रतिवेदनमा घट्दो प्रजनन् दरलाई सन्तुलनमा राख्न समतामुलक विकासको नीति अवलम्बन गर्न सुझाइएको छ । ‘शिक्षामा प्रगति, आयस्तरमा अभिवृद्धि र बढ्दो सहरीकरणको प्रभावले गर्दा नेपालमा प्रजननदर निरन्तर घटिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विकासको स्तर भौगोलिक क्षेत्र, सहरीकरणको अवस्था र प्रशासनिक तहअनुसार असमान रहेको छ । तसर्थ, राज्यले अवलम्बन गर्ने नीतिहरू पनि जनसंख्या र विकासको क्षेत्रीय अवस्था एवम् आवश्यकताअनुसार तय गरिनुपर्दछ जसले समतामूलक विकास र आर्थिक अवसरहरूको सिर्जनामा अहम् भूमिका खेल्ने विश्वास लिन सकिन्छ ।’