काठमाडौं– विगत १५ वर्षको अवधिमा वैदेशिक रोजगारीमा महिलाहरुको आकर्षण क्रमशः बढेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय बसाइँसराइसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । सन् २००९/१० बाट २०२३/२४ सम्म आइपुग्दा रोजगारीका लागि विदेश जाने महिलाको संख्या करिब २२ गुणाले बढेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २००९/१० मा नेपालबाट दुई लाख २४ हजार ४६९ जना वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा १.६५ प्रतिशत अर्थात् तीन हजार ७०८ जनामात्र महिला थिए । त्यसलगतै सन् २०१०–११ मा यो संख्या अझ खुम्चिन पुग्यो । उक्त वर्ष रोजगारीमा जाने कूल संख्या बढेर दुई लाख ४५ हजार ५३२ पुगे पनि महिलाको संख्या भने घटेर जम्मा १.३७ प्रतिशतमा सीमित भयो । त्यस वर्ष विदेश जानेहरु ९८.६३ प्रतिशत पुरुष नै थिए ।
सन् २०११/१२ यता रोजगारीका लागि विदेसिनेको कूल संख्यासँगै महिलाको संख्यासमेत बढेको देखिन्छ । उक्त वर्ष कूल चार लाख ५४ हजार ६८१ जना विदेसिएकामा ४.५५ प्रतिशत अर्थात् २० हजार ६७९ जना महिला थिए । त्यसपछिका वर्षमा महिलाहरुको अवस्था चारदेखि छ प्रतिशतको हाराहारीमा रह्यो । सन् २०१९/२० मा सबैभन्दा बढी ७.७२ प्रतिशत पुगेको अवस्थामा २०२०/२१ मा विश्वव्यापीरुपमा कोरोना महामारी फैलियो । महामारीको समयमा एक लाख ६६ हजार ६७८ जनामात्र श्रम स्वीकृति लिएर रोजगारमा गएका थिए । उक्त समयमा ११ हजार ४५५ जना अर्थात् ६.८७ प्रतिशत महिला थिए ।
त्यसपछि रोजगारीमा जाने महिलाको अवस्थामा लगातार वृद्धि भएको पाइन्छ । सन् २०२१–२२ मा ७.८०, २०२२–२३ मा ९.३५ र २०२३/२४ मा १०.८२ प्रतिशत महिला रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् । मुलुकको सामाजिक आर्थिक अवस्थामा भएको परिवर्तन र महिला सशक्तीकरणले वैदेशिक रोजगारीमा महिलाको आकर्षण बढाएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, खाडी मुलुकका घरेलु काममा महिलालाई लगाइएको प्रतिबन्ध, शारीरिक श्रममा आधारित मागपत्र र महिला देशबाहिर जानु हुँदैन भन्ने पितृसत्तात्मक मानसिकता अझै पनि हाबी भएकाले महिलाहरुको संख्या पुरुषको तुलनामा अझै पनि कम नै भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार सन् २०२१ मा नेपालको कूल २१ लाख ९० हजार ५९२ जनसंख्या रोजगारीको सिलसिलामा विदेशमा रहेको देखिन्छ । जसमध्ये तीन लाख ९० हजार ९१७ जना अर्थात् १७.८ प्रतिशत महिला वैदेशिक रोजगारीमा छन् । प्रदेशगत हिसाबले हेर्दा सबैभन्दा बढी महिला सुदूरपश्चिम प्रदेशबाट रोजगारीमा गएका छन् । सन् २०२१ मा सबैभन्दा बढी महिला कैलालीबाट रोजगारीमा गएका छन् । उक्त वर्ष विदेसिएका कूल महिलामध्ये ६.४ प्रतिशत कैलालीका छन् । कञ्चनपुरबाट ५.४ प्रतिशत, काठमाडौंबाट ५.२ तथा कास्कीबाट ५.१ प्रतिशत गएका छन् ।
सबैभन्दा बढी रोजगारीमा जाने महिला २० देखि २४ वर्षबीचको उमेर समूहका रहेका छन् । सन् २०११ मा यस्तो उमेर समूहका महिला श्रमिक ३.५ प्रतिशत थिए भने सन् २०२१ मा आइपुग्दा वृद्धि भएर ५.६ प्रतिशत पुगेको छ । दोस्रोमा २५ देखि २९ वर्षबीचको उमेर समूह रहेको छ । सन् २०११ मा उक्त उमेर समूहका २.२ प्रतिशत गएका थिए भने २०२१ मा ३.४ प्रतिशत गएका छन् ।
महिलाहरुले छनोट गर्ने प्रमुख १० गन्तव्य मुलुकमध्ये एकतिहाइ महिलाले संयुक्त अरब इमिरेट्स छान्ने गरेको पाइएको छ । युएईपछि कुवेत र कतारमा बढी महिला गएका छन् । सन् २०२३/२४ मा सबैभन्दा बढी अर्थात् ३४.२ प्रतिशत महिला युएई गएका छन् । दोस्रोमा रहेको कतारमा १३.५ र तेस्रो कुवेतमा १२.६ प्रतिशत महिला गएका छन् । त्यसैगरी साइप्रसमा ६.४ प्रतिशत, क्रोएसियामा ४.५, माल्दिभ्समा ३.६, जापानमा ३.६, मलेसियामा ३.१, रोमानियामा २.७, र जोर्डनमा २.६ प्रतिशत महिला गएका छन् ।