नेपालगन्ज - बाँकेमा शुक्रबारदेखि रोजगार मेला लाग्ने भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा दुई दिने बाँके रोजगार मेला लगाउन लागेको हो ।
रोजगार मेलामा नेपालगन्ज उपमहानगपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकासँग सहकार्य र साझेदारी रहेको छ ।
संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने बताए । उनले मेला अवधिमा मात्र कम्तीमा १०० जनाले रोजगार पाउने दाबी गर्दै औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिने बताए ।
'रोजगारदाता र रोजगारको खोजीमा रहेका ब्यक्तिबीच सिधा सम्पर्क हुने भएकाले पनि मेला लगत्तै पनि धेरै रोजगारीका अवसर सिर्जना हुने हामीले आशा गरेका छौं । रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रमशक्तिको पहिचान गरेपछि सोही अनुसारको सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गरिने प्रतिबद्धता पनि जनाउन चाहन्छौं । त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारका साथै रोजगारदातासँग सहकार्य गर्नेछौं । '
कार्यक्रममा संघका महासचिव तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले बाँकेका सात वटा स्थानीय तहको आर्थिक सहयोगमा मेला आयोजना गरेकाले स्थानीय तहका रोजगार शाखामा सूचीकृत व्यक्ति र प्रादेशिक महोत्सवमा सूचीकृत बेरोजगार ब्यक्ति सहभागी हुने कार्यक्रममा जानकारी दिए ।
मेलामा रोजगारदाताका ३५ वटा स्टल रहने आयोजकले बताएको छ । संघले सबै स्टल निःशुल्क उपलब्ध गराएको छ ।