काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकमा विद्यालय विधेयकको विषयमा छलफल भएको छ ।आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रमुख दलका मुख्य सचेतकहरू र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिबीच विद्यालय विधेयकको विषयमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सचिवालयले जनाएकाे हाे ।
छलफलमा सहभागी सबै दलले विधेयकलाई तत्काल अघि बढाउन आफ्नो दल सकारात्मक रहेको बताएका छन्। उनीहरूले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई यस विधेयकमाथि द्रुत गतिमा काम अगाडि बढाउन आग्रह गरेका छन्। साथै, विधेयकलाई निष्कर्षमा पुर्याउन आवश्यक पर्ने सहजीकरण गर्ने आश्वासन पनि उनीहरूले दिएका छन् ।
उक्त छलफलमा हाल शिक्षा विधेयकका सन्दर्भमा भइरहेको शिक्षक आन्दोलनको विषयमा समेत कुराकानी भएको थियो। सहभागीहरूले शिक्षकहरूसँग यसअघि सरकारले गरेका सम्झौताहरूलाई विधेयकमा सम्बोधन गर्न सुझाव दिएका छन् ।
शिक्षा मन्त्रालयमा भएको यो छलफलले विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
-